इण्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला

एजेन्सी   POSTED ON : भदौ ८, २०७८ (७:३७ AM)

इण्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला

जाकार्ता । इण्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै उहाँलाई जेल सजाय तोकिएको हो ।

पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरू रहेको जनाएको छ । अनियमितताको आशंका र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उहाँले अनियमित गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो ।

उहाँलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ । राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन् ।

इण्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रूपमा रहेको छ । धेरै राजनीतिक नेताहरू अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन् । त्यसैगरी दण्ड सजय पनि धेरैलाई हुने गरेको छ । यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो ।


Top