समय सीमाभित्रै नागरिक र सेनाको उद्धार प्रक्रिया पूरा गर्ने अमेरिकाको लक्ष्य

एजेन्सी   POSTED ON : भदौ ९, २०७८ (७:१४ AM)

समय सीमाभित्रै नागरिक र सेनाको उद्धार प्रक्रिया पूरा गर्ने अमेरिकाको लक्ष्य

काबुल । अमेरिकाले यसअघि तोकिएकै समय सीमाभित्रै अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार तथा सैनिक फिर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको बताएको छ । सहयोगी देशहरूले समयसीमा बढाउन दबाब दिइरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले तत्कालका लागि अगष्ट ३१ भन्दा पछि जाने सम्भावना नरहेको बताएको हो ।

अमेरिकाले अगष्ट ३१ सम्म आफ्ना सबै सैनिकलाई फिर्ता लैजाने समय सीमा यसअघि नै निर्धारण गरेको थियो । अगष्ट १५ मा काबुल तालिवानले कब्जा गरेपछि अमेरिकासहितका देशहरूले आफ्ना नागरिक तथा कूटनीतिक कर्मचारीको उद्धार गरिरहेका छन् । २० वर्षे सैन्य अभियानको क्रममा सहयोग गर्ने अफगानीहरूको पनि उद्धार भइरहेको छ ।

बेलायत, फ्रान्स तथा जर्मनीले भच्युर्अल माध्यमबाट हुने जी सेभेन सम्मेलनमा अमेरिकालाई अगष्ट ३१ को सीमा बढाएर उद्धार अभियानलाई केही समय कायम राख्न दबाब थिएका थिए । तर, पेन्टागनले भने तत्कालका लागि परिवर्तनको सम्भावना नरहेको बताएको छ । तालिवानले पनि समय सीमा बढाउनु भनेको सहमतिको उल्लंघन हुने बताएको छ ।

अमेरिका तथा तालिवानबीच अमेरिकी सैनिक फिर्ता हुने र तालिवानले आतंककारी गतिविधिलाई संरक्षण नदिनेगरी सहमति भएको थियो । तालिवानको नियन्त्रणपछि अफगानिस्तान छोड्न चाहने अफगानीहरूको ठूलो भीड अहिले पनि काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा छ ।

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौं : तालिवान

यता सेनाको निकास पूरा नगरेसम्म तालिवानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ । तालिवान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्रिपरिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ ।’

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भय अमेरिका तथा यूरोपेली मुलुकहरूले लिएका छन् । त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाही अफगानिस्तानमा फर्किएका छन् । यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाब परिरहेको छ । 

‘यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिवान सहमत हुने छैन । अर्थात् यसको ‘परिणाम’ को जिम्मेवार उनीहरू नै हुनुपर्नेछ’, तालिवान प्रवक्ता सुहेल शहिनले भन्नुभयो । 


Top