चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको निधन

एजेन्सी   POSTED ON : भदौ १०, २०७८ (७:४९ AM)

चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको निधन

डकार । युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजीवन जेल सजाय भोग्दै आउनुभएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको छ । सेनेगलका न्यायमन्त्री मलिक सालले ‘हाब्रे भगवान्को साथमा लीन हुनुभयो’, भन्नुभएको छ । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उहाँको कोभिड–१९ को कारण मृत्यु भएको बताएको छ । सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गर्नुभएका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवताविरुद्ध अपराधको अभियोग लगाइएको थियो । सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ वर्ष चाडको राष्ट्रपति बन्नुभएका हाब्रे सन् १९९० मा सत्ताच्युत भएपछि सेनेगलतर्फ भाग्नुभएको थियो । 

विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निष्कर्ष उहाँका विरोधीहरूले बताउने गरेका छन् । मरुभूमि क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ । ‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डाकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित आउनुभएको थियो । 


Top