दक्ष अफगानिस्तानलाई अमेरिकाले लैजान बन्द गर्नुपर्ने तालिवानको भनाइ

एजेन्सी   POSTED ON : भदौ १०, २०७८ (७:५० AM)

दक्ष अफगानिस्तानलाई अमेरिकाले लैजान बन्द गर्नुपर्ने तालिवानको भनाइ

काबुल । दक्ष अफगानिस्तानलाई अमेरिकाले लैजान बन्द गर्नुपर्ने तालिवानले बताएको छ । एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तालिवानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले पढेलेखेका र दक्ष अफगानिस्तानलाई अमेरिकाले लैजान बन्द गर्नुपर्ने बताउनुभएको हो । चिकित्सक, इन्जिनियरजस्ता अफगानी विज्ञहरूलाई नलैजान आग्रह गरिएको छ । 

अमेरिकाले अफगानिस्तानबाट ३१ अगष्टसम्म मानिसहरूलाई निकाल्ने काम पूरा गर्नुपर्ने पनि तालिवानका प्रवक्ताले बताउनुभएको छ । ३१ अगष्टसम्म अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट आफ्नो सेना पूर्णरूपमा फिर्ता गर्ने समय तय गर्नुभएको थियो । तालिवानका प्रवक्ता मुजाहिदले उक्त समयसीमा ३१ तारिखभन्दा अघि नबढ्ने र त्यसलाई तालिवानले स्वीकार नगर्ने बताउनुभएको छ । उहाँले अफगानिस्तानमा जनजीवन सामान्य रहेको तर विमानस्थलमा समस्या अहिले पनि जारी रहेको बताउनुभएको छ । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि कयौं मानिस देश छोड्न चाहिरहेका छन् । 

यसैबीच, रूसले पाँच सयजना आफ्ना नागरिकलाई उद्धार गर्ने भएको छ । दक्षिण कोरिया र जापानले पनि उद्धार गर्न सुरु गरेको छ । यता, तालिवानले नियन्त्रणमा लिएपछि विश्व बैंकले अफगान परियोजनामा लगानी नगर्ने घोषणा गरेको छ । तालिवानको नियन्त्रणले महिला तथा बालबालिकाको विकास अवधारणा तथा विकासलाई प्रभावित तुल्याउने उल्लेख गर्दै विश्व बैंकले लगानी रोकिएको जनाएको होे ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि लगानी रोक्ने घोषणा गरेको एकदिनपछि विश्व बैंकको यस्तो निर्णय आएको हो । साथै, बाइडेन प्रशासनले अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैठकको सम्पत्तिलाई पनि रोक्का गरेको छ । सन् २००२ यता वासिंटनमा कार्यालय रहेको विश्व बैंकले अफगानिस्तानमा पुनर्निर्माण र विकास परियोजनामा ५.३ बिलियन डलर लगानी गरेको छ ।


Top