चीनको राष्ट्रिय पाठ्यक्रममा सि जिङपिङ विचारधारा

एजेन्सी   POSTED ON : भदौ १०, २०७८ (७:५४ AM)

चीनको राष्ट्रिय पाठ्यक्रममा सि जिङपिङ विचारधारा

बेजिंग । चीनले राष्ट्रपति सि जिङपिङको राजनीतिक विचारधारालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने भएको छ । चीनको शिक्षा मन्त्रालयद्वारा सार्वजनिक नयाँ मार्गनिर्देशनमा किशोरकिशोरीलाई माक्र्सवादबारे ज्ञान दिलाउन ‘सि जिनपिङ विचारधारा’ समावेश गर्न लागिएको उल्लेख छ ।

प्राथमिक तहदेखि विश्व विद्यालयसम्मै विचारधारालाई समावेश गरिने चीनले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका विस्तार गर्न चाहने राष्ट्रपति जिनपिङको पछिल्लो प्रयत्नको रूपमा यसलाई हेरिएको छ ।

चिनियाँ शिक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘समाजवादका निर्माता र उत्तराधिकारीलाई नैतिक, बौद्धिक, शारीरिक र आत्मिकरूपमै वृत्तिविकास गर्नु यसको मुख्य उद्देश्य हो ।’

मिहिनेत गर्ने जोशलाई गोड्मेल गर्ने तथा राष्ट्रिय सुरक्षाबारे शिक्षा दिनेलगायत प्रावधान निर्देशिकमा समेटिएका छन् । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय विभागले संविधानमा सि जिनपिङ विचारधारालाई समेट्ने निर्णय गरेको थियो । सि जिनपिङ विचारधारमा कम्युनिष्ट विचारसहितका १४ वटा सिद्धान्त समावेश छन् । 


Top