अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा

एजेन्सी   POSTED ON : भदौ १६, २०७८ (७:३८ AM)

अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा

काबुल । तालिवानले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छ । दुई दशकपछि अमेरिकी सेनाको बहिर्गमनसँगै तालिवानले अफगानिस्तानलाई स्वतन्त्र र सार्वभौम घोषणा गरेको हो । 

अमेरिकी सेना तथा अफगानको अन्तिम टुकडी काबुल विमानस्थलबाट बाहिरिएसँगै तालिवानले विमानस्थल कब्जामा लिँदा हवाई फायरिङ गरेर उत्सव मनाएको थियो । काबुल विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, ‘अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएकोमा हामीलाई कुनै शंका रहेन’, उहाँले भन्नुभयो, ‘अमेरिका हारेको छ र अफगानको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध चाहेका छौं ।’ उहाँले अफगानको स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गरिने प्रतिबद्धता जनाउनुभयो ।

२० वर्षपछि अमेरिकी सेना बाहिरियो

अमेरिका २० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएको छ । काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान सोमबार राति उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरेलगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अमेरिकी सेना फिर्ता भएपछि तालिवानले खुशियालाी मनाएका छन् ।

अफगानिस्तान तालिवानको कब्जामा गएपछि अमेरिकाले त्यहाँबाट एक लाख २० हजार अमेरिकी नागरिक, सहयोगी र अफगानी नागरिकलगायत अन्य सहयोगीलाई उद्धार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । 

अफगानिस्तानमा रहेको दूतावास बन्द 

अमेरिकाले अफगानिस्तानमा रहेको दूतावास बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताउनुभएको छ । उहाँले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको दोहामा सारिएको बताउनुभयो ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रूपमा नयाँ ढंगबाट अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।


Top