श्रीलंकामा खाद्य आपत्काल घोषणा

एजेन्सी   POSTED ON : भदौ १६, २०७८ (७:४६ AM)

श्रीलंकामा खाद्य आपत्काल घोषणा

कोलम्बो । श्रीलंकामा खाद्य आपत्काल घोषणा गरिएको छ । कोरोना संक्रमणको चपेटामा परेको श्रीलंकाले विदेशी मुद्रा संकट बढ्दै गएपछि खाद्य आपत्काल घोषणा गरिएको हो । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश कठिन आर्थिक संकटमा परेका बेला आवश्यक खाद्य पदार्थहरूको भण्डारण रोक्न आदेश दिनुभएको छ । उहाँले आपत्कालीन अवस्थाका लागि चिनी, चामल र अन्य आवश्यक खाद्य पदार्थको भण्डारण रोक्न आदेश दिनुभएको हो ।

व्यापारीहरूद्वारा राखिएको खाद्य स्टक कब्जा गर्न, आवश्यक खाद्य पदार्थहरू जम्मा गर्नेलाई गिरफ्तार गर्न र नियन्त्रित मूल्यहरू तय गर्न भनिएको छ । उपभोग्य वस्तुहरूको आपूर्तिमा समन्वय गर्न राजापाक्षेले एक उच्च सैन्य अधिकारीलाई आवश्यक सेवाहरूको कमिश्नर जनरल नियुक्त गर्नुभएको छ ।

यो कदमले चिनी, चामल, प्याज र आलुको मूल्यमा भारी वृद्धि भएको छ भने दूधको पाउडर, केरोसिन तेल र खाना पकाउने ग्यासको अभावका कारण स्टोरहरू बाहिर लामो लाइन लागेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सन् २०२० मा अर्थव्यवस्था ३ दशमलव ६ प्रतिशतले संकुचित भएको थियो ।


Top