तालिवानलाई अलकायदाको बधाई

एजेन्सी   POSTED ON : भदौ १७, २०७८ (८:०९ AM)

तालिवानलाई अलकायदाको बधाई

काबुल । अमेरिकी सेनाले काबुल विमानस्थल छोडेपछि अलकायदाका शीर्ष नेताले तालिवानलाई बधाई दिएका छन् । अफगानिस्तानमा तालिवानको जित भएको भन्दै अलकायदाका नेताले एक वक्तव्य जारी गरी बधाई दिएका हुन । ‘अमेरिकालाई हराउने सर्वशक्तिमानको हामी प्रशंसा गर्छौं’, अल कायदाले जारी गरेको वक्तव्यमा उल्लेख छ । तालिबानले मंगलबार अमेरिकामाथि ऐतिहासिक जित भएको घोषणा गरेको थियो । १५ अगष्टमै राष्ट्रपति निवास कब्जा गरेको तालिबानले काबुल विमानस्थलबाट अमेरिकाको बर्हिगमनपछि मात्रै आफ्नो जितको घोषणा गरेको थियोे ।

जहाज र बख्तरबन्द गाडी निःशस्त्रीकरण

अमेरिकाले अफगानिस्तान छोड्नुअघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल केनेथ म्याकेन्जीले ७० वटा एमआरएपी बख्तरबन्द र २७ वटा हुम्भी गाडी तालिवानले प्रयोग गर्न नपाओस् भनेर हाई-टेक डिफेन्स प्रणालीलाई निःशस्त्रीकरण गरेको बताउनुभएको हो । अमेरिकाले आफ्नो अत्याधुनिक रकेट प्रतिरक्षा प्रणालीलाई पनि निःशस्त्रीकरण गरिदिएको छ ।

यसैबीच अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रक्रिया पूरा गरेसँगै त्यहाँ हिंसाका बढ्दो घटनाबीच डर र अनिश्चितता धेरै बढेको छ । यसै क्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षको रूपमा रहेका भारतले मंगलबार अफगानिस्तान सम्बन्धमा दुई हजार ५९३ प्रस्ताव पारित गरेको छ । यस प्रस्तावद्वारा अफगानिस्तान सम्बन्धमा भारतको प्रमुख चिन्ताको सम्बोधन हुने बताइएको छ । सो प्रस्तावअनुसार कुनै देशलाई धम्की दिन र आक्रमण गर्न वा आतंकवादीलाई आश्रय र तालिम दिन वा आतंकवादी कार्यहरूको योजना र वित्त पोषण गर्न अफगानिस्तानको प्रयोग गर्न नदिने माग गरिएको छ ।


Top