अफगानिस्तानमा सरकारको नेतृत्व गर्दै अखुनजादा

एजेन्सी   POSTED ON : भदौ १८, २०७८ (८:४३ AM)

अफगानिस्तानमा सरकारको नेतृत्व गर्दै अखुनजादा

काबुल । आफ्नो नियन्त्रणमा सत्ता लिएपछि तालिवानले सरकार गठनको गृहकार्य सम्पन्न गरेको र केही दिनमै नयाँ सरकारको घोषणा हुने जनाएको छ । तालिवान सांस्कृतिक आयोगका सदस्य अनामुल्ला सामागानीका अनुसार मुल्लाह हेबातुल्ला अखुनजादाले नै तालिवानको नेतृत्व र नयाँ सरकारको नेतृत्व लिने हुनुभएको छ । 

‘नयाँ सरकार गठनको परामर्श लगभग सकिएको छ । मन्त्रिपरिषद् बारेको आवश्यक छलफल पनि सकिएको छ । अब घोषणा हुने इस्लाम सरकार जनताको मोडेलमै हुनेछ । हाम्रो कमाण्डर (अखुनजादा) ले सरकारको नेतृत्व गर्नुहुनेछ भन्नेमा शंका छैन । उहाँँ नै सरकारको नेता हुनुहुनेछ र यसमा कुनै प्रश्न हुँदैन’ सामागानीले भन्नुभएको छ । 

‘नयाँ प्रणालीको नाम गणतन्त्र वा एमिरेट हुनुपर्छ भन्ने जरुरी छैन । यो इस्लामिक गणतन्त्र जस्तै हुनुपर्छ । हेबातुल्ला नै सरकारको उच्च पदमा हुनुपर्छ र उहाँँ राष्ट्रपति बन्नुहुने छैन । यहाँ अफगानिस्तानको सर्वोच्च नेता हुनुहुनेछ । उहाँँको मातहतमा राष्ट्रपति र प्रधानमन्त्रीले काम गर्नेछन्’ राजनीतिक विश्लेषक अब्दुल हनान हाकानीले भन्नुभएको छ । सरकारमा महिलालाई पनि सहभागि गराइने तालिवानले जनाएको छ । तालिवानले यसअघि नै प्रान्त र जिल्लाहरूमा गभर्नर, प्रहरी प्रमुख र प्रहरी कमाण्डर नियुक्त गरिसकेका छन् । 


Top