अफगानिस्तानको कमान सम्हाल्दै मुल्ला बरादर

एजेन्सी   POSTED ON : भदौ १९, २०७८ (९:२७ AM)

अफगानिस्तानको कमान सम्हाल्दै मुल्ला बरादर

काबुल । २० वर्षसम्म अफगानिस्तानमा रहेको अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि यतिबेला तालिबानले सत्ता सञ्चालनको तयारी गरेको छ । यसको कमान मुल्ला अब्दुल गनी बरादरले सम्हाल्न लाग्नुभएको छ । बरादर तालिबानको दोस्रो नम्बरको नेता हुनुहुन्छ । बरादर तालिबानको संस्थापकमध्ये एक हुनुहुन्छ । सन् १९९४ मा तालिबानको गठन हुँदा उहाँ पनि सामेल हुनुहुन्थ्यो । सन् १९९६ देखि २००१ सम्म जब तालिबानले अफगानिस्तानमा शासन गरेको थियो, तब मुल्ला बरादरले अहं भूमिका निभाउनुभएको थियो ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा हमला गरेपछि मुल्ला बरादरले अफगानिस्तान छोड्नुभएको थियो । अफगानिस्तानबाट पाकिस्तान पुग्नुभएका मुल्ला बरादर सन् २०१० मा कराँचीबाट गिरफ्तार हुनुभएको थियो । सन् २०१८ मा अमेरिकाले तालिबानसँग वार्ता गर्न सुरु गरेपछि उहाँलाई छोडिएको थियो । त्यसपछि उहाँले कतारको दोहाबाट तालिबानको राजनीतिक कमान सम्हाल्नुभएको थियो । मुल्ला बरादरले कतारमा अमेरिकासँगको वार्तामा अहं भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि मुल्ला बरादर काबुल आउनुभएको हो । अफगानिस्तानको अबको सरकारमा मुल्ला उमरका छोरा मोहम्मद याकुब, शेर मोहम्मद अब्बास स्टेनकजई पनि मुख्य भूमिकामा रहनुहुनेछ । 


Top