फिलिपिन्सले हटायो यात्रा प्रतिबन्ध

एजेन्सी   POSTED ON : भदौ २१, २०७८ (८:१५ AM)

फिलिपिन्सले हटायो यात्रा प्रतिबन्ध

मनिला । फिलिपिन्सले दशवटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड महामारी नियन्त्रणका लागि भन्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इण्डोनेसियामाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइएको हो । 

अत्यधिक संक्रामक डेल्टा भेरिएन्टका कारण कोभिड-१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण संक्रमणको भयाबह नभएको निस्कर्षसाथ सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यि एशियाली मुलुकलाई कोभिड-१९को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड-१९ कार्यदलको सिफारिस स्वीकृत गर्नुभएको हो । 

‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरू बाट आउने अन्तर्राष्ट्रिय यात्रुहरू ले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ’, राष्ट्रपतिका प्रवक्ता हृयारी रोकले भन्नुभएको छ । 

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिसाबहाकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकलाई अझै देशभित्र प्रवेश गर्न रोक लगाइएको छ । फिलिपिन्सले भारतलगायत यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड-१९ संक्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौती देखिएको छ ।


Top