१८ महिनापछि बंगलादेशमा पुनः सञ्चालनमा आउँदै विद्यालय

एजेन्सी   POSTED ON : भदौ २१, २०७८ (८:१८ AM)

१८ महिनापछि बंगलादेशमा पुनः सञ्चालनमा आउँदै विद्यालय

ढाका । बंगलादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस यही सेप्टेम्बर १२ देखि खुल्ने भएका छन् । बंगलादेश सरकारले विद्यालय तथा क्याम्पस पुनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आहृवान गरेको हो । 

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिनापछि पुनःसञ्चालन हुन लागेका हुन् । बंगलादेशका शिक्षा मन्त्री दीपु मोनीले विद्यालय खुला गरिए पनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पार्नुभयो । सुरुमा परीक्षा आउन लागेका विद्यार्थीहरू को मात्रै पठनपाठन सुचारु गरिने उहाँले बताउनुभएको छ । 

अन्य विद्यार्थीलाई भने भीडभाड नहुनेगरी हप्तामा एक÷दुई दिन पढाउनेगरी व्यवस्था गर्न लागिएको शिक्षा मन्त्री मोनीले जानकरी दिनुभयो । उहाँले पढाइ हुने दिनको संख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउँदै लैजान सकिने पनि बताउनुभयो । बंगलादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बंगलादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अव भने बन्द गर्ने म्याद नथपिने भएकाले सेप्टेम्बर १२ देखि विद्यालय खुला हुने भएका हुन । 


Top