एरियाना अफगानद्वारा आन्तरिक उडान सुरु

एजेन्सी   POSTED ON : भदौ २२, २०७८ (८:३३ AM)

एरियाना अफगानद्वारा आन्तरिक उडान सुरु

काबुल । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको छ । एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार-आई-शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको हो । अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । 

तालिवानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशंकापछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यावसायिक उडान गर्न रोकेका थिए ।

यसैबीच तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिवान शासनको प्रतिरोध हुँदै आएको छ । केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ ।

‘यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ’, तालिवानका एक प्रवक्ताले भनेका छन् । तर, तालिवानको प्रतिरोध गरिरहेको न्यास्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ । हिमाली भेगमा रहेको पञ्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिस बस्छन् । यसअघि सोभियत संघ र तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पञ्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन ।


Top