टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफलतापूर्वक शल्यक्रिया

एजेन्सी   POSTED ON : भदौ २२, २०७८ (८:३५ AM)

टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफलतापूर्वक शल्यक्रिया

जेरुसेलम । इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई १२ घण्टा शल्यक्रियामार्फत अलग गरेका हुन् । बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरू संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरूले बताएका छन् ।

शल्यक्रियापछि दुवै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुरूले आफैं खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भनुन्नुभएको छ ।

इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० वटा शल्यक्रिया भइसकेका छन् । शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरूको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो । टाउको जोडिएका ती बालिकाहरूको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।


Top