गिनीमा सेनाले आफ्नो नियन्त्रणमा लियो सत्ता, राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी   POSTED ON : भदौ २३, २०७८ (८:४६ AM)

गिनीमा सेनाले आफ्नो नियन्त्रणमा लियो सत्ता, राष्ट्रसंघद्वारा निन्दा

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाई गिरफ्तार गर्दै मुलुकको सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाका प्रमुखले संविधान भंग भएको घोषणा गर्दै अब सेनाले शासन गर्ने जनाएका छन् । ‘हामी कुनै एक मान्छले गरेको शासनमा अब विश्वास गर्दैनौं । हामी जनतामा विश्वास गर्छौं । हामी देशको रक्षा गर्न आएका हौं जुन सिपाहीको दायित्व हो’ गिनीका सैनिक अधिकारी मामाडी डोम्बोयाले भिडिओ सन्देश जारी गर्दै भन्नुभएको छ ।

राष्ट्रपति अल्फा कोन्डेका सल्लाहकारले सैनिकले सत्ता ‘कू’ गरेको र राष्ट्रपतिलाई हिरासतमा लिइएको जनाउनुभएको छ । राष्ट्रपतिलाई पक्राउगरी राखिएको स्थानबारे भने केही खुलाइएको छैन । सैनिक पोशाकमा भिडिओमा देखिएका डोम्बोयाले राष्ट्रपति कोन्डेलाई पक्राउ गरिएको र संविधान, सरकार र अन्य संस्थालाई भंग गरिएको जनाएका छन् । साथै, सबै सीमा र जमिनबाट हुने आवागमनमा रोक लगाइएको छ । तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्नुभएका कोन्डेकाको पछिल्लो कार्यकाल निकै विवादास्पद बनेको थियो । संविधानविपरीत राष्ट्रपति नियुक्त भएको भन्दै उहाँविरुद्ध व्यापक प्रदर्शनसमेत भएको थियो ।

आफ्नो समृद्ध खनिज संसाधानका बाबजुद गिनी संसारको सबैभन्दा गरिब देशमा एक हो । धेरै वर्षदेखि राजनीतिक अस्थिरताबाट घेरिएको छ । सन् २०१० मा पहिलो राष्ट्रपति चुनिनुभएको कोन्डेको तेस्रो कार्यकाललाई लिएर पछिल्लो समय आलोचना भइरहेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गर्नुभएको छ । गुएनामा भएको राजनीतिक ‘कू’को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।

गिनीमा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको छ । महासचिव गुटर्रेसले ट्वीट गर्दै भन्नुभएको छ, ‘गिनीमा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु ।’ उहाँले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको बताउनुभएको छ । 


Top