अफगानिस्तानको प्रधानमन्त्रीमा हसन अखुन्द

एजेन्सी   POSTED ON : भदौ २४, २०७८ (७:१३ AM)

अफगानिस्तानको प्रधानमन्त्रीमा हसन अखुन्द

काबुल । अफगानिस्तानको प्रधानमन्त्रीमा मुल्लाह मोहम्मद हसन अखुन्द नियुक्त हुनुभएको छ । तालिबानले अन्तरिम सरकार घोषणा गर्दै मोहम्मद अखुन्दलाई प्रधानमन्त्री बनाएको हो । 

मोहम्मद अखुन्द सन् १९९०को दशकमा तालिबानको शासनकालमा कन्दाहार राज्यका गभर्नर हुनुहुन्थ्यो । उहाँ तालिवानका सहसंस्थापक मुल्लाह ओमर निकटका मानिनुहुन्छ । अखुन्द यसअघि त्यहाँको उपविदेशमन्त्रीसमेत रहिसक्नु भएको छ । अखुन्द तालिवान आन्दोलनमा सम्मानित नेता हुनुहुन्छ ।

तालिवानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलनमार्फत अन्तरिम सरकारको घोषणा गर्नुभएको हो । तालिवानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उपनेता (उपप्रधानमन्त्री)को रूपमा रहनुहुने छ भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ । 

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री हुनुभएको छ । तालिवान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रवक्ता मुजाहिदका अनुसार ३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरूको नाम विस्तारै घोषणा गरिनेछ ।

तालिवान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो । मन्त्रिपरिषद् गठनलाई तालिवान सरकार स्थापनाको दिशामा महŒवपूर्ण कदमको रूपमा हेरिएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले तालिवान सरकारालाई चासोपूर्वक नियालिरहेको जनाएको छ । एक विज्ञप्तिमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘घोषित मन्त्रिपरिषद्मा महिलाबाहेक तालिवान नेता र उनका सहयोगीमात्र छन् । केही व्यक्तिको अतिवादी समूहसँगको आबद्धता र उनीहरूको विगतको रेकर्डप्रति हाम्रो चासो छ ।’

अफगानिस्तानमा भएका विदेशीलाई स्वदेश फर्किन सहज वातावरण बनाउने आफ्ना प्रतिबद्धता कायमै राख्न मन्त्रालयले तालिवानसँग अनुरोध गरेको छ । ‘हामी अफगान भूमिलाई अन्य देशविरुद्ध प्रयोग गर्न मानवीय सहायता अनुमति दिने अपेक्षा गर्छौं । विश्वले तालिवानलाई नजिकबाट अवलोकन गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।


Top