उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

एजेन्सी   POSTED ON : भदौ २९, २०७८ (६:५५ AM)

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

प्योङयाङ । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः लामो दूरीको मिसाइल परीक्षण गरेको हो । 

मिसाइल परीक्षण सफल भएको र यसले उत्तरलाई शत्रुविरुद्ध लड्ने अर्को प्रभावकारी कवच प्रदान गरेको प्योङयाङको दाबी छ । मिसाइल परीक्षणलाई उत्तर कोरियाले ‘ठूलो महŒव राख्ने रणनीतिक हतियार’ भनेको छ । प्योङयाङले शनिबार र आइतबार सो परीक्षण गरेको थियो । सो मिसाइल १५ सय किलोमिटर दूरी पार गरी उत्तर र दक्षिणको सीमानजिक खसेको थियो । 

उत्तरको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ । ‘उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिन्छ,’ अमेरिकी हिन्द–प्रशान्त कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो । केही दिनअघिमात्रै उत्तर कोरिया स्थापनाको ७३औं वर्षगाँठको अवसरमा राजधानी प्योङयाङमा विशाल सैनिक परेड गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रमले वैश्विक सुरक्षाका लागि गम्भीर खतरा भएको बताउनुभएको थियो । यस्तै उत्तर कोरियाका सुप्रिम लिडर किम जोङले अमेरिका उहाँको सबैभन्दा ठूलो दुश्मन भएको बताउनुभएको थियो । यसको अतिरिक्त उहाँले परमाणु हतियारमा बढोतरीको सम्भावना बताउनुभएको थियो । 


Top