नर्वेमा विपक्षी लेबर पार्टीलाई अत्याधिक बहुमत, जोनस प्रधानमन्त्री बन्दै

एजेन्सी   POSTED ON : भदौ ३०, २०७८ (७:०१ AM)

नर्वेमा विपक्षी लेबर पार्टीलाई अत्याधिक बहुमत, जोनस प्रधानमन्त्री बन्दै

ओस्लो । नर्वेमा विपक्षी लेबर पार्टीले आमनिर्वाचन भारी बहुमतसहित विजय हासिल गरेको छ । जोनस गहर स्टोरले नेतृत्व गरेको लेबर पार्टीले सोमबार भएको आमचुनावमा सन् २०१३ देखि सत्तामा रहेको प्रधानमन्त्री एर्ना सोलबर्गको मध्यमार्गी गठबन्धनलाई पराजित गर्दै जित निकालेको हो ।

नर्वेमा पछिल्लो समय बढ्दै गएको सामाजिक असमानता कारण जनताले वामपन्थी धारका पार्टीहरूको गठबन्धनलाई चुनेको विश्लेषण गरिएको छ । प्रधानमन्त्री सोलबर्गको कञ्जरभेटिब पार्टीले हार स्वीकार गरिसकेको छ । विपक्षी नेता स्टोरले भने जनतालाई धन्यवाद नयाँ दृष्टिकोणसहितको नयाँ सरकार गठन गर्ने बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो तेल तथा ग्यास उत्पादक देश नर्वेमा जलवायु परिवर्तनको मुद्दा पछिल्लो समय चर्को रूपमा उठेको थियो ।

वातावरणवादीले तेलमा आधारित अर्थतन्त्रबाट विस्तारै मुलुकलाई मोड्नुपर्ने लविङ गर्दै आइरहेका छन् । जसमा वामपन्थी धारका पार्टीहरूको पनि समर्थन रहँदै आएको छ । ‘हामीले प्रतिक्षा गरिरहेका थियौं । हामी आशावादी थियौं । हामी कडा मिहिनेत गरेका थियौं । हामी अन्ततः यो भन्न सक्छौं : हामीले जित्यौं ।’ वर्तमान प्रधानमन्त्री सोलवर्गको पराजय निश्चित भएपछि आगामी प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरिनुभएका स्टोरले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भन्नुभएको छ ।


Top