अफगानिस्तानमा ठूलो मानवीय संकट : संयुक्त राष्ट्रसंघ

एजेन्सी   POSTED ON : भदौ ३०, २०७८ (७:०३ AM)

अफगानिस्तानमा ठूलो मानवीय संकट : संयुक्त राष्ट्रसंघ

जेनेभामा । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको बताएको छ । राष्ट्रसंघले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले उक्त विषयमा विश्वको ध्यानाकर्षण गराएका बताइएको छ । सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग महासचिव गुटर्रेसले सहयोगको आहृवान गर्नुभएको हो । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिवानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता ठप्प भएको छ । अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको राष्ट्रसंघले जनाएको छ । महासचिव गुटर्रेसले उक्त सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौं लाख मानिसलाई राहत पुग्ने पनि बताउनुभएको थियो । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरू निकै ठूलो जोखिममा परेका भन्दै उहाँले भन्नुभयो, ‘हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौं कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ ।’ राष्ट्रसंघले संकलन गर्न खोजेको रकमको एक तिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ ।

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसंघले तालिवानलाई सहयताकर्मीलाई यहाँका विभिन्न स्थानमा सहयोग गर्न पुगे भने उनीहरूलाई नरोक्न पनि आहृवान गरेको छ । तालिवान लडाकुले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो बासस्थानबाट विस्थापित भएका थिए । हाल पनि अफगानिस्तानका लाखौं नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ ।


Top