सेनाले लगाएका आरोपको सुकीद्वारा खण्डन

एजेन्सी   POSTED ON : भदौ ३०, २०७८ (७:०५ AM)

सेनाले लगाएका आरोपको सुकीद्वारा खण्डन

यांगुन । म्यानमार नेतृ आङसान सुकीले सेनाले लगाएका आरोपको खण्डन गर्नुभएको छ । खराब स्वास्थ्यको कारण अदालतले बोलाएको दिन उपस्थित हुन नसक्नुभएकी नेतृ सुकीले मंगलबार उपस्थित भएर आरोपको खण्डन गर्नुभएको हो । अहिले पनि स्वस्थ हुन नसक्नुभएको उहाँका वकिलले बताएका छन् ।

सैनिक सरकारलाई चुनौती दिँदै लामो समय घरमै नजरबन्दमा बिताउनुभएकी ७६ वर्षीय सुकीको स्वास्थ्यलाई लिएर चासोपूर्वक हेरिएको छ । फेबु्रवरी १ मा सेनाले सत्ताच्युत गरेपछि सुकीविरुद्ध धेरै आरोपमा मुद्दा चलाइएको छ ।

रिंगटा लाग्ने र निद्रा नपुगेको जस्ता समस्याका कारण देखाउँदै सुकी सोमबार अदालतमा उपस्थित हुन नसकेको जनाउनुभएको थियो । ‘उहाँको स्वास्थ्यमा केही सुधार आएको छ तर अहिले पनि रिंगटा चलेको महसुस भएको छ’, मुख्य वकिल खिन मौङ जले भन्नुभएको छ ।

सुकीविरुद्ध कोभिड-१९ नियम उल्लंघन गरेको, दुईतर्फी रेडियो सञ्चार कायम राखेको, पैसा र सुन लिएर भ्रष्टाचार गरेको, गोप्य सूचना चुहाएर नियम उल्लंघन गरेकोजस्ता आरोप लगाइएको छ । तर, उहाँले यी आरोपको खण्डन गर्नुभएको छ । 


Top