अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी   POSTED ON : आश्विन ८, २०७८ (६:३६ AM)

अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चीनको आग्रह

बेजिंग । अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चीनले आग्रह गरेको छ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको हो । मन्त्री वाङले (जी-२०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन ।’ मन्त्री वाङले अफगानिस्तानमा जारी संकटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभएको छ ।

मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी संकटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ । वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ ।


Top