ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता हमिद मारिएको दाबी

एजेन्सी   POSTED ON : कार्तिक ७, २०७८ (६:३५ AM)

ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता हमिद मारिएको दाबी

न्यूयोर्क । अमेरिकाले अलकायदाका वरिष्ठ नेता मारेको दाबी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जोर रिग्स्बीले हमिद मारिएको पुष्टि गर्नुभयो । अमेरिकी सेनाले दक्षिणी सिरियामा रहेको आफ्नो चौकीमा आक्रमण भएको दुई दिनपछि गरेको कारबाहीमा हमिद मारिएको बताइएको छ ।

ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुनेबाहेक अन्य कुनै हताहतीको घटना नभएको जनाइएको छ । दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएको एक आक्रमणपछि अमेरिकाले कारबाही गरेको हो । गत सेप्टेम्बरमा पेन्टागनले विद्रोही नियन्त्रित उत्तर पश्चिमी सिरियामा आक्रमण गरेको थियो । जसमा अलकायदाका अर्का वरिष्ठ नेता सलिम अबु-अहमदको मृत्यु भएको थियो ।

सिरियाको इदलिब र अलेप्पो शहरको ठूलो हिस्सा त्यहाँको सशस्त्र विपक्षी समूहको नियन्त्रणमा छ । जुन ठाउँमा कुनै समय अलकायदासँग जोडिएको हयात तहरिर अल-शाम समूहको नियन्त्रण थियो । सिरिया हाल एक जटिल युद्ध क्षेत्र बनेको छ । जहाँ अलकायदा, आइएसआइएस भनिने इस्लामिक स्टेट अफ इराक एण्ड द लेभेन्ट, यी समूहसँग निकटता राख्ने विदेशी सैनिक, मिलिसिया तथा अन्य सशस्त्र समूहहरू सक्रिय छन् । सिरियामा सन् २०११ मा सुरु भएको युद्धपछि पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।

Top