सुडानमा सैन्य ‘कू’, संकटकालको घोषणा

एजेन्सी   POSTED ON : कार्तिक ९, २०७८ (६:४५ AM)

सुडानमा सैन्य ‘कू’, संकटकालको घोषणा

खार्तुम । सुडानमा सैन्य ‘कू’ भएको छ । सेनाले प्रधानमन्त्री अब्दल्लाह हृयामडकसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई पक्राउ गरेको छ । सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो । सत्तापलटपछि सुडानी सेनाले सरकार विघटन गरेको छ । सेनाले प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको हो ।

शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आउनुभएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्नुभएको हो । त्यस्तै उहाँले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारीसमेत गराउनुभएको छ ।

गत महिना असफल ‘कू’को प्रयास भएपछि सुडानमा राजनीतिक अस्थिरता चुलिएको छ । त्यहाँ लामो समयदेखि शासनमा रहनुभएका नेता ओमार अल बसिर सत्ताच्युत भएपछि शक्ति बाँडफाँटलाई लिएर सेना र जननिर्वाचित सरकारबीच तनाव चुलिँदै आएको छ । सन् २०१९ मा भएको सडक प्रदर्शनपछि अल बसिर पदबाट हटनुभएको थियो । उहाँ सत्ताबाट हटेपछि त्यहाँको राजनीतिक संक्रमणलाई अन्त्य गर्न सन् २०२३ मा चुनाव गर्ने सहमति जुटेको थियो ।


Top