राजकुमारीको पदवी त्यागेर कलेजको प्रेमीसँग विवाह

एजेन्सी   POSTED ON : कार्तिक १०, २०७८ (६:२५ AM)

राजकुमारीको पदवी त्यागेर कलेजको प्रेमीसँग विवाह

टोकियो । जापानी राजकुमारी माकोले राजकुमारीको पदवी त्यागेर आफ्नो कलेजको ब्वाँयफ्रेण्डसँग विवाह गर्नुभएको छ । उहाँले एक सर्वसाधारण व्यक्ति प्रेमीसँग राजकुमारीको पदवी त्यागेर विवाह गर्नुभएको हो । उनीहरूले मंगलबार बिहान विवाह दर्ता गरेका छन् । माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गर्नुभएको थियो । विभिन्न कारणवश उहाँहरूको बिहे सर्दै आएको थियो ।

राजपरिवारको सहमतिपश्चात् राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह भएको हो । कोमुरो अमेरिका, न्यूयोर्कमा वकिल हुनुहुन्छ । माको र उहाँ बिहेपछि अमेरिका नै बस्ने योजना बनाएको भनिएको छ । राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुनुहुन्छ । विद्यावारिधि गरिरहनुभएकी उहाँ संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्नुहुन्छ । माको र कोमुरो दुवै ३० वर्षको हुनुभएको छ । उहाँहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।

कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भन्नुभएको छ, ‘उहाँ सूर्यजस्तै मुस्कुराउनुहुन्छ, चम्किला । मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग बिहे गरेँ भने उपाधि गुमाउँछु । यी सबै छाडेर म विवाह गर्दैछु’, कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भन्नुभएको थियो, ‘उहाँलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु ।’

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि माकोले अवलम्बन गर्नुभएन । राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उहाँले अस्वीकार गर्नुभएको छ । यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुनुहुन्छ ।

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार हृयारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ । केहीले उहाँहरूलाई जापानका हृयारी र मेगनको संग्ज्ञा दिएका छन् । दरबारबाट बाहिरिँदै गर्दा उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई अभिवादन गर्नुभएको थियो । 

Top