तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा सार्वजनिक

एजेन्सी   POSTED ON : कार्तिक १५, २०७८ (६:१८ AM)

तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा सार्वजनिक

काबुल । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक स्थानमा देखिनुभएको छ । उहाँले आफ्नो जन्मस्थान कन्दहारमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको हो । सन् २०२० मा नै उहाँको मृत्यु भइसकेको भनी दाबी गरिएको थियो तर त्यो झूटो सावित भएको छ ।

अगष्ट महिनामा तालिवानले काबुल कब्जामा लिएपछि अखुन्दजादाको भूमिकामा विषयमा विभिन्न दाबी गरिएको थियो । तालिवानले जानकारी दिए अनुसार, शनिबार अखुन्दजादाले लडाकु र बहादुर सैनिकहरूसँग कुरा गर्न दारुल उलूम हकीमा मदरसाको भ्रमण गर्नुभएको थियो । उक्त क्रममा उहाँले गरेको सम्बोधनको रेकर्डिङ तालिवानको सामाजिक सञ्जालमा अप्लोड गरिएको छ । 

दश मिनेटको रेकर्डिङमा अखुन्दजादाले मारिएका तालिवान लडाकु, घाइते भएका मुजाहिद्दीन र अफगानिस्तानको इस्लामी अमिरातको पुनर्निर्माणमा संलग्न मानिसहरूको सफलताका लागि प्रार्थना गर्नुभयो । 

कार्यक्रमको सुरक्षा कडा भएकाले भिडियो र तस्वीर सार्वजनिक गरिएको छैन । अखुन्दजादालाई अमीरुल मोमिनिन अर्थात् बफादारहरूको प्रमुख भनी चिनिने गरेको छ । त्यसअघि यो पदवी तालिवानका संस्थापक मुल्ला उमरलाई दिइएको थियो । आफूलाई लो प्रोफाइल राखेर अखुन्दजादाले तालिवानलाई जितका लागि प्रेरित गर्नुभएको थियो । सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई तालिवानको नेता नियुक्त गरिएको थियो ।


Top