पाकिस्तानमा वायु प्रदूषण : पचास प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन आदेश

एजेन्सी   POSTED ON : मंसिर ६, २०७८ (६:४४ AM)

पाकिस्तानमा वायु प्रदूषण : पचास प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन आदेश

लाहौर । लाहौर उच्च अदालतले ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन आदेश दिएको छ । पञ्जावको प्रान्तीय राजधानी लाहौरमा बढेको वायु प्रदूषणलाई ध्यानमा राखी अदालतले निजी क्षेत्रका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउने सूचना जारी गर्न भनेको छ । प्रदूषण नियन्त्रण गर्न सरकारले कुनै कदम नचालेको भन्दै अदालतले सरकारको आलोचना गरेको छ ।

बुधबार लाहौरको वायु गुणस्तर खतरनाक स्तरमा पुगेका वेला अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश शाहिद करीमले वातावरणीय समस्यासँग जुध्न प्रान्तीय सरकारको असफलतामाथि दायर विभिन्न उजुरीको सुनुवाइ गर्दै यस्तो आदेश दिनुभएको हो । 

लाहौरसहित कैयौं सहरमा सास फेर्न गाह्रो भइरहेका खबर आउन थालेका छन् । सैयद हसनैनले चार वर्षका छोरालाई श्वासप्रश्वासमा समस्या देखिएपछि मेयो अस्पतालमा भर्ना गरेकको बताउनुभयो । वायु प्रदूषणका कारण छोरालाई निमोनिया भएको चिकित्सकले बताएको जानकारी दिए ।

सरकारी स्कुलकी शिक्षिका नादिया सरवरले बालबालिकाका आँखा रातो भएको र उनीहरूमा खोकीको समस्या देखिएको बताउनुभएको छ । उहाँले कोरोनाको त्रासका कारण बन्द भएका विद्यालय पुनः बन्द गर्न नसकिने बताउनुभएको छ । स्विस कम्पनी आइक्युएयरका अनुसार लाहौरमा वायु गुणस्तर सूचकांक ३४८ पुगेको थियो । तीन सयभन्दा माथिलाई खतरनाक मानिन्छ ।

Top