युरोपमा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित्, सरकारविरुद्ध व्यापक प्रदर्शन

एजेन्सी   POSTED ON : मंसिर ६, २०७८ (६:४६ AM)

युरोपमा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित्, सरकारविरुद्ध व्यापक प्रदर्शन

आम्स्टरडम । कोभिड संक्रमण पुनः फैलिएपछि युरोपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्याण्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्याण्ड र नेदरल्याण्ड्समा सरकारविरोधी प्रदर्शन भएका हुन् ।

अण्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका शहरहरूमा प्रदर्शन भएका छन् । खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक लगाएपछि सर्वसाधारण नागरिक आक्रोशित भएका छन् ।

नेदरल्याण्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सातजना घाइते भएका छन् । इटालीमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा सर्वसाधारण नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायत क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस्तै, क्रोएसियामा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा दशौं हजार मानिस सडकमा उत्रिएका छन् । यस्तै नेदरल्याण्ड्समा कोरोना संक्रमण नियन्यत्रणका लागि सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेपछि आक्रोशित बनेका सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । झडपले उग्र रूप लिँदा राजधानी आम्स्टरडमलगायत शहरमा दंगा भड्किएको छ । प्रहरीले प्रदर्शनकारीमाथि चेतावनीस्वरूप हवाई फायर गरेपछि सर्वसाधारण झन् उग्र बनेका छन् । उनीहरूले मध्य रातमा ठाउँठाउँमा आगजनी र तोडफोड गरेका छन् । त्यस क्रममा आधा दर्जन प्रहरी घाइते भएको र दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले जथाभावी पक्राउ गर्ने, पसलेहरूलाई दुव्र्यवहार गर्ने र बाटो हिँड्नेलाई मनपरी चेकजाँच गर्ने गरेपछि सर्वसाधारण आक्रोशित बनेका हुन । यसैबीच विश्व स्वास्थ्य संगठनले युरोपमा बढेको कोभिडबाट आफू चिन्तित भएको जनाएको छ ।

Top