माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी   POSTED ON : मंसिर १६, २०७८ (८:२५ AM)

माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित

स्टकहोम । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मंगलबार पुनः दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

फेरि निर्वाचित भएसँगै उहाँ पुनः प्रधानमन्त्रीको काममा फर्किनुभएको छ । अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर, उहाँलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले एक दिनमै राजीनामा दिनुपरेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले प्रस्तुत गर्ने बजेट संसदबाट पारित नहुने भएपछि राजीनामा दिनुभएको थियो । त्यसअघि अर्थमन्त्री रहिसक्नुभएकी एन्डर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुनुहुन्छ ।

निर्वाचनपछि एक पत्रकार सम्मेलनमा एन्डरसनले आफू कल्याण, जलवायु परिवर्तन र अपराधमा केन्द्रित कार्यक्रमको साथमा स्वेडेनलाई अगाडि लिएर जान तयार भएको बताउनुभयो । प्रधानमन्त्रीमा नियुक्त भए पनि उहाँलाई अन्य पार्टीको साथबिना संसदमा विधेयक पारित गराउन संघर्ष गर्नुपर्नेछ किनकी ३४९ सदस्यीय संसदमा उहाँको सेन्टर लेफ्ट सोसियल डेमोक्रेटको एक सय सिटमात्र छ ।

Top