इण्डोनेसियाको माउण्ट सेमेरुमा ज्वालामुखी विष्फोटमा कम्तीमा तेह्रजनाको मृत्यु, ९८ जना घाइते

एजेन्सी   POSTED ON : मंसिर २०, २०७८ (७:३२ AM)

इण्डोनेसियाको माउण्ट सेमेरुमा ज्वालामुखी विष्फोटमा कम्तीमा तेह्रजनाको मृत्यु, ९८ जना घाइते

जाकार्ता । इण्डोनेसियाको पूर्वी जाभाको माउण्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानका लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएको छ । दुई सुत्केरीसहित घाइते सबैको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरण प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउण्ट सेमेरुमा ज्वालामुखी विष्फोट भएको थियो ।

Top