यमनलाई चार अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ

एजेन्सी   POSTED ON : पुष ३०, २०७८ (८:४५ AM)

यमनलाई चार अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ

साना । युद्धग्रस्त यमनका लागि यस वर्ष तीन अर्ब ९० करोड डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । गृहयुद्धमा फँसेको यमनमा लाखौं मानिस भोकमरीको चपेटामा परेको राष्ट्रसंघको मानवीय सहायताका अधिकारीले बताउँदै आएका छन् । 

राष्ट्रसंघको मानवीय सहायता मामिलासम्बन्धी सहायक महासचिव तथा आपतकालीन उद्दार उपसंयोजक रमेश राजासिंघामले यमनका एक करोड ६० लाख मानिसलाई भोकमरीबाट जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । यमनमा विगत सात वर्षदेखि गृहयुद्ध चलिरहेको छ । गृहयुद्धका कारण लाखांै मानिस छिमेकी मुलुकहरूमा विस्थापित भएका छन् । पछिल्लो समयमा यमनमा अन्तर्राष्ट्रिय समुदायले प्रदान गर्दै आएको सहयोग घटेको छ ।

यही डिसेम्बरमा राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यमनलाई दिँदै आएको सहयोग कटौती गरेको घोषणा गरेको थियो । सहयोग कटौतीसँगै यमनमा थप भोकमरी बढ्ने सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । भोकमरी र खडेरीका कारण यमनमा हरेक वर्ष हजारौं मानिसको मृत्यु हुनेगरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

Top