2nd December | 2020 | Wednesday | 3:18:31 AM

महिलामाथि बढ्दो हिंसा

पार्वती थापामगर   POSTED ON : असार ७, २०७५ (९:२२ AM)

महिलामाथि बढ्दो हिंसा


इनरुवाको होलैया गोलबजारकी १४ वर्षीया ममता नाम गरेकी एक किशोरीले दुई महिनाअघि छोरी जन्माइन् । छोरी जन्माएकै कारण श्रीमान सासु, ससुराले मिलेर विभिन्न मानसिक यातना दिए, कुटपिट गरे र उनलाई घरबाट निकालिदिए । अहिले ममताको छोरीको तौल तीन किलोग्राम मात्र छ । आमाले गर्भवती अवस्थामा पर्याप्त पोषणयुक्त खानेकुरा नपाएका कारण शिशुलाई कुपोषण भएको छ । मदिरा पिएको सुरमा उनका ममताका बाबुले गतवर्ष उनको बालबिहे । 

ममता एक पात्रमात्र हुन् । नेपालमा बालविवाहको सिकार भएका उनीजस्ता र छोरी जन्माएकै कारण शारीरिक र मानसिक हिंसामा परेर घर निकाला हुनु परेकाघटना धेरै छन् । उनीहरू गम्भीर आर्थिक समस्यामा छन् । यौनहिंसाका घटना त्यतिकै छन् । राष्ट्रिय महिला आयोगमा दैनिक ८ देखि १० वटा यस्तै प्रकारका हिंसाका उजुरीहरू दर्ता हुन्छन् । आयोगमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षाको चैतसम्ममा महिला हिंसाका १७९ वटा बढी उजुरी परेको छ । आयोगमा आर्थिक वर्ष २०७३÷७४ मा २७४ वटा शारीरिक, मानसिक, आर्थिक र यौनहिंसाका घटना दर्ता भएको थियो । जसमध्ये शारीरिक हिंसा ७९ मानसिक ९४, अर्थिक ९९ र यौनन्य २ वटा छन् । तीमध्ये साउनमा शारीरिक १३, मानसिक ३ र आर्थिक ८ वटा छन् । भदौमा शारीरिक ११, मानसिक ५ र आर्थिक १० वटा छन् । असोजमा शारीरिक ४, मानसिक ४ र आर्थिक २ वटाछन् । कात्तिकमा शारीरिक ६, मानसिक ११, आर्थिक ४ र यौनजन्य १ छन् । 

यस्तै मंसिरमा शारीरिक ३, मानसिक ४ र आर्थिक २ छन् । पुसमा शारीरिक १३, मानसिक १० र आर्थिक ७ तथा माघमा शारीरिक ७, मानसिक ७ वटा छन् । फागुनमा शारीरिक ७, मानसिक ८ र आर्थिक ७ वटा तथा चैतमा शारीरिक ५ मानसिक ९ आर्थिक १८ वटा छन् । यसैगरी वैशाखमा शारीरिक १, मानसिक ७, आर्थिक ४ वटा तथा जेठमा शारीरिक ६, मानसिक ११, आर्थिक १३ र यौनजन्य १ वटा छन् । असारमा शारीरिक ३, मानसिक १५ र आर्थिक ११ वटा हिंसाका घटना दर्ता भएका छन् ।

यसैगरी आर्थिक वर्ष २०७४÷७५ को गत चैतसम्मा ४५३ वटा शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसाका घटना दर्ता भएको तथ्यांक छ । जसमध्ये साउनमा ३७, भदौमा २८, असोजमा २९, कात्तिकमा २८, मंसिर २५, पुसमा ३४, माघमा १०८, फागुनमा ८९ र चैत्रमा ८२ वटा घटनाका उजुरी दर्ता भएका छन् । 

रुढीगत आधारमा हुने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण, हिंसाका घटनामा पीडित हुने महिलाहरूको संख्या बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । वर्षाैंदेखि महिला अधिकारकर्मीले हिंसा रोक्न चेतनामूलक कार्यक्रमहरू चलाउँदै आए पनि हिंसा रोकिएको छैन । नेपालमा अझै पनि परम्परावादी सोचको अन्त्य हुन नसकेकाले हिंसा नरोकिएको अधिकारकर्मीहरूको भनाइ छ । हिंसाविरुद्ध वकालत गर्ने विभिन्न संघसंस्थाहरूले विभिन्न चेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएका छन् । 

महिलामाथि हुने हिंसाले लिंगीय आधारमा महिलालाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा बढी भन्दा बढी लिंगमै आधारित हुन्छ । यस्तो हिंसामा महिला नै बढी परेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्री बताउँछन् । उनका अनुसार महिलामाथि हुने हिंसलाई शारीरिक हिंसा, मानसिक हिंसा, यौन हिंसा, सामाजिक हिंसा र आर्थिक हिंसा आदिका रूपमा बुझिन्छ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गरेको पाइन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र परोक्ष रूपमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । खासगरी महिलाहरूको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरूलाई गर्ने हिंसात्मक व्यवहार हरेक महिलाको प्रगतिको बाधक बनिरहेको छ ।

यसैगरी नेपालमा १५ देखि ४९ उमेरका २२ प्रतिशत महिला शारिरीक हिंसामा परेको स्वास्थ्यमन्त्रालयले हालै सार्वजनिक गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा छ । जसमध्ये ७ प्रतिशत महिला यौनजन्य हिंसामा परेका छन् भने र ६ प्रतिशतमा गर्भवती अवस्थामै हिंसा भएको छ । त्यसैगरी २६ प्रतिशत महिलाले आफ्नै श्रीमान्बाट यौन र भावनात्मक हिंसा खेपिरहेको भन्ने तथ्यांक छ । श्रीमानबाटै शारीरिक हिंसामा परेका परेका महिला २६ प्रतिशत छन् । हिंसामा परेका महिलामध्ये ६६ प्रतिशतले उजुरी गरेको तथ्यांक छ । महिलामाथि हुने हरेक हिंसालाई मानवअधिकार विरुद्धको हिंसा मानिन्छ ।

श्रीमानबाटै महिलामा गम्भीर कुटपिट हुने, यौनसम्पर्कमा जबरजस्ती हुने र आर्थिकरूपमा कमजोर भएका कारण आत्मसम्मानमा ठेस पु¥याउने गतिविधि हुने गरेको छ । हिंसामा पर्ने महिलामा तराई क्षेत्रका बढी छन् । विवाहित भन्दा सम्बन्धविच्छेद गरेका, एक्लै बसेका, एकल महिला बढी हिंसाको शिकार हुने गरेको तथ्यांक छ । त्यस्तै अशिक्षित र प्रत्यक्ष रोजगारी नभएका महिला बढी हिंसामा परेका छन् ।

आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट धेरै महिलाहरू बन्चित छन् । यहाँको परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाइजो नल्याएकै कारण यातना झेलेर बस्नु परिरहेका छन् । बोक्सीको आरोपमा घर निकाला, बालविवाह, बहुबिवाह, देहव्यपार, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, बैवाहिक बलत्कार, बेचविखन र ओसारपसार, हाडनाता करणी, वैदेशीक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्यधिक कामजस्ता हिंसा छन् । गरीबी, बेरोजगारीले हिंसा बढाएको छ । 

राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले महिला नेतृत्व अगाडि आउन नसकेको जानकारहरू बताउँछन् । रुढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्यमान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्नु, समान अवसरबाट बञ्चित गर्नु, महिलाको स्वतन्त्रता, गतिशिलता र शरीरमाथि अरूले नियन्त्रण गर्ने प्रवृत्तिका कारण पनि महिलामाथि हिंसा हुने गरेको र घट्नुको साटो बढ्दै गएको अधिकारकर्मीहरूको भनाइ छ ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३८ ले महिलाको अधिकारसम्बन्धी व्यवस्था गरेको छ । यौनजन्य हिंसालगायत महिलामाथि हुने सबै प्रकारका हिंसालाई कानुनी रूपमा दण्डनीय गरी कानुनबमोजिम न्याय तथा क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । त्यसैगरी जेनेभामहासन्धि र राष्ट्र संघीय प्रस्तावना १३२५ र १८२० मा आधारित राष्ट्रिय कार्ययोजना समेत सरकारले कार्यान्वयन गरेको छ । 


Views: 325