25th February | 2021 | Thursday | 8:41:44 AM

‘मोटरसाइकल अध्यक्ष’ को विकास धोको

रमा लुइँटेल   POSTED ON : असार ३०, २०७५ (१२:४८ PM)

‘मोटरसाइकल अध्यक्ष’ को विकास धोको

उनीसँग जनता कम्ती खुशी छैनन् । निसार अह्मद खाँ पनि जनतालाई आफ्नो सर्वस्व ठान्छन् । जनताले नरोजेको भए न उनले अहिलेको सम्मान पाउँथे । न त कुनै तारिफ नै । जनताको मायाले नै आफू ४५ हजार जनताको नेता हुन सकेकोमा उनलाई गर्व छ । त्यसैले शुद्धोधन गाउँपालिका अध्यक्ष निसार प्रत्येक ठूला निर्णयअघि जनताको अप्ठ्यारा र आवश्यकता पहिचान गर्छन् । त्यसको पछिल्लो उदाहरण हो, गाउँपालिकाका लागि एम्बुलेन्स खरिद । गाउँपालिकाका कर्मचारी, अन्य जनप्रतिनिधिले उनकै लागि गाडी किन्न आग्रह गरेका थिए । उनले आफ्नो लागि गाडीभन्दा जनताका लागि एम्बुलेन्स आवश्यक ठाने । ‘मैले गाडी किनेको भए, एम्बुलेन्स किन्न सकिँदैन थियो’ जनताको आवश्यकतालाई प्राथमिकता दिएको प्रसंग सुनाउँदै थिए । एम्बुलेन्स किन्न उनले १५ लाख रुपैयाँ छुट्याए । 

खरिद गर्दा लाग्ने राजस्व छुट गराउन निसार दुई–तीनपटक त काठमाडौं आए । मन्त्रालयमा पटकपटकको भेटघाट र छलफलपछि एम्बुलेन्स खरिदमा राजस्व छुट हुने भयो । छुट्याएको रुपैयाँले एम्बुलेन्स किनेर एम्बुलेन्स राख्ने टहरा बनाउनसमेत पुग्यो । 

सुविधामात्रै होइन सस्तो पनि 

अहिले त्यो एम्बुलेन्सलाई बिरामी बोक्न भ्याइनभ्याई छ । दुई महिनामा तीन सय बिरामीलाई यो एम्बुलेन्सले सेवा दिइसकेको उनले सुनाए । त्यहाँका बिरामीलाई एम्बुलेन्सले कहिले भैरहवाको मेडिकल कलेज पु¥याउँछ त कहिले तैलिहवा अस्पताल । क्यान्सरका बिरामीलाई त एम्बुलेन्सले बोकेर भरतपुर क्यान्सर अस्पतालसम्म ल्याइपु¥याउँछ । उनी भन्छन्, ‘एकदम ठीक निर्णय भएछ ।’ 

दैनिक जीवन सहज हुने सामान्य जस्ता लाग्ने निर्णयले जनतालाई खुशी दिने अनुभव उनले संगालेका छन् । यसअघि पनि अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सहृमालेका निसारले । एम्बुलेन्सको सुविधामात्रै कहाँ हो र । उनले जनतालाई सस्तो सेवासमेत उपलब्ध गराएका छन् । एक किलो मिटरको भाडा दर बीस रुपैयाँ तोकेका छन् । एम्बुलेन्स नहुँदा निजी सवारीलाई यहाँका जनता प्रतिकिलोमिटर ४० रुपैयाँ तिर्थे । जनताको खुशीका लागि यस्तो निर्णय गरेको उनले दोहो¥याए । एम्बुलेन्सका लागि अहिले एक जनामात्रै ड्राइभर छन् । एकछिन फुर्सद छैन । करारमा नियुक्त भएका ड्राइभर २४ घण्टाजस्तै खटिएका छन् । रात विरात केही भन्दैनन् । जुन बेला भने त्यही बेला बिरामी बोक्न तयार हुन्छन् । 

चुनाव खर्च ७५ हजार 

स्थानीय तहको निर्वाचनका बेला उनीहरू न त दह्रो आर्थिक स्रोत थियो न ठूलाठूला राजनीतिक दलको संरक्षण । उनको पार्टी राष्ट्रिय जनता पार्टीले निर्वाचनमा नजाने निर्णय गरेपछि उनले स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दिए । त्यति बेला उनको गोजीमा जम्मा ५० हजार रुपैयाँ थियो, २५ हजारको उधारो कारोबार गरे । निर्वाचनमा उनको खर्च भएको जम्मा ७५ हजार खर्च रुपैयाँ हो । रुपैयाँ नभई निर्वाचन लड्न सकिँदैन भन्नेलाई यो दह्रो जवाफ भएको उनी बताउँछन् । निर्वाचनमा खर्च भएको यो रुपैयाँ अरूलाई सुनाउँदा कसैले विश्वास गर्दैनन् । अरूले विश्वस गरून, नगरून् त्यसले उनलाई खासै फरक पर्दैन । आफ्नो निर्णयमा अडिक निसार भन्छन्, ‘अरूले पत्याएर हुने नपत्याएर नहुने हो र ¤’

उनले निर्वाचन अवधिभर गरेको यो खर्च एक जनाले तेलका लागि गर्ने खर्च बराबरको रकम हो । यसलाई उनले यसअघि जनप्रतिनिधि हुँदा गरेको राम्रो कामको प्रतिफलको रूपमा लिएका छन् । त्यसैले उनी जनताको विश्वास घात गर्ने काम होला भन्नेमा निकै सजग छन् । २०४८ को स्थानीय निर्वाचनमा साविक बाँसखोर गाविसको उपाध्यक्ष र ०५४ मा अध्यक्षमा निर्वाचित भएका थिए । 

निर्वाचनका बेला उनको सपोर्टरले भोकभोकै प्रचारप्रसारमा लागेको सम्झन्छन् । न उनीसँग कसैले तेल खर्च नै भनेर रुपैयाँ मागे, न त खाजा खर्च नै । यस्तो सहयोग जितपछि जनताको पक्षमा काम गर्ने निश्चित भएर गरेको उनले महसुस गरेका छन् ।

शिक्षक नियमित हुन थाले 

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय छन् । आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न उनी दृढ देखिन्छन् । त्यसका लागि उनले अभियान नै सुरु गरिसके । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनी विद्यालयको अनुगमनमा निस्के । अनुगमनको क्रममा औरहिया मुरफुड्वा माध्यमिक विद्यालय पुग्दा एकै दिन १५ जना शिक्षक अनुपस्थित भेटे । धेरै शिक्षक अनुपस्थित हुँदा देखिएको लथालिंग स्थितले उनको मन नराम्रोसँग चिमट्यो । त्यसै दिन उनले आफ्नो गाउँपालिकाको सामुदायिक विद्यालय सुधार गर्ने प्रण गरे । 

त्यसका लागि पहिलो काम शिक्षकलाई विद्यालयमा उपस्थित गराउनु थियो । शिक्षक नियमित आएमात्रै गुणस्तरीय शिक्षाको कुरा गर्न सकिने उनले राम्ररी बुझेका थिए । त्यसका लागि उनले विद्युतीय हाजिरको व्यवस्था गरिदिए । विद्यालय ढिला आउनेको, विनाकारण नआउनेको तलब कट्टा गरेर पठाउने निर्णयसमेत सुनाए । ‘विद्यालय सुरु हुनु आधा घण्टाअघि नै शिक्षक विद्यालय पुग्छन्’ आफ्नो यो निर्णयबाट निसार उत्साहित भएका छन् । योजनाबद्ध ढंगबाट सामुदायिक विद्यालय सुधारको अभियानमा लागेका उनी अब गुणस्तरीय शिक्षामा केन्द्रित हुँदैछन् । केही समयअघि सम्पन्न भएको गाउँपालिकाको बैठकमा उनले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने विषयमा छलफल गरे । 

नतिजा राम्रो नल्याउने विद्यालयलाई स्थानीय सरकारले दिने शैक्षिक अनुदानको रकम रोक्नसक्ने विषयसमेत छलफलमा उठेको थियो । गाउँपालिकाका विद्यालयहरूलाई यो विषय उनी छिट्टै जानकारी गराउँदै छन् । धेरैजसो सामुदायिक विद्यालयको अवस्था उस्तै भएको बताउँदै उनले औराइया मुरफुड्वा माविबाट सुधार सुरु गरेको उनको स्पष्टोक्ति थियो । 

सपना कन्या क्याम्पस 

‘छोराछोरी समान हुन्’ यो नारा भन्न जति सजिलो छ । व्यवहारमा पटक्कै छैन । अझै मधेसमा त छँदै छैन । उमेर कम हुँदासम्म आफ्ना छोरीहरूलाई छात्रछात्रा दुवै पढ्ने विद्यालयमा भर्ना गर्न अभिभावक राजी हुन्छन् तर उमेर पुगेकी छोरीलाई छात्र पनि पढ्ने विद्यालयमा पढाउन मन गर्दैनन् । यो कारणले गर्दा उमेर पुगेका छोरीहरू थप अध्ययनका लागि विद्यालय जाँदैनन् । पढाइ छोडेर घरमै बस्छन् । पढ्ने उमेरका छोरीहरूलाई विद्यालय पु¥याउन उनले छोराछोरी बराबरी भन्ने नाराभन्दा पनि छोरीमात्र पढ्ने क्याम्पस निर्माण गर्ने योजना बनाएका छन् । 

क्याम्पसका लागि १ विघा, ६ कठ्ठा ४ धुर जग्गाक केही समयअघि बसेको परिषद्को बैठकबाट निर्णय भइसकेको उनले बताए । भवन निर्माणका लागि उनले शिक्षा मन्त्रालय र अन्य सरोकारवाला मन्त्रालयमा समेत कुरा राखेका छन् । ‘जग्गा टुग्गो गर्नु भन्नुभएको छ’, अनुहारमा खुशी छाएको भावमा उनले भने । आर्थिक वर्ष २०७५÷७६ का लागि उनले ६१ लाख रुपैयाँ विनियोजन गरेका छन् । 

प्राथमिकताका अन्य क्षेत्र 

शिक्षासँगसँगै स्वास्थ्य निसारको प्राथमिकताको अर्को महŒवपूर्ण क्षेत्र हो । स्वास्थ्य चौकीहरूको अवस्था सुधार गर्नु उनको पहिलो प्राथमिकता हो । धेरैजसो रोग सरसफाइको सामान्य जानकारी नहुँदा लाग्छ । जनचेतना वृद्धिकै लागि केही समय र स्रोत खर्च गर्ने योजना उनले बनाएका छन् । झाडा बन्ता, पखालाको औषधिमा खर्च गर्नुभन्दा यसबाट कसरी जोगिन सकिने उपाय सिकाउन गरेको लगानी दिगो र स्थायी हुने उनको बुझाइ छ । त्यसैले भन्छन्, ‘औषधि किन्न गर्ने लगानी त उपाय नभए पछि हो ।’ उनको अर्को प्राथमिकता शुद्धोधन गाउँपालिकाभित्र रहेको बेटी नदीमा पुल बनाउनु हो । यो नदीमा पुल हाल्ने काम सुरु भइसकेको छ । ठेकेदारले मन दिएर काम गर्ने हो भने केही महिनाभित्र काम सकिने उनी बताउँछन् । यो नदीमा पुल नहुँदा धेरै असजिलो भएको थियो । अब यहाँका जनतालाई राहत महसुस हुन्छ । बेटी नदीको पुल निर्माणका गाउँपालिकाले टेन्डर आव्हान ग¥यो । 

पाँचवटा कोटेसन परेको थियो । जसको कोटेसनमा थोरै कबोल थियो, उनले त्यसलाई पुल निर्माणको जिम्मा दिए । उक्त पुलको लागत ५ करोड छ । सडक उनको अर्को महŒवपूर्ण प्राथमिकता हो । पिच भएको सडकले जनताको जीवनयापन सहज हुन्छ । भत्कने, पहिरो जाने भएकाले पक्की सडक निर्माणलाई उनी महŒव दिन्छन् । 

मोटर साइकलमै सरर्र

अहिलेसम्म आफ्नै मोटरसाइकल चढेर निसारले गाउँपालिकाको बैठक, अनुगमन, छलफल, सभासम्मेलन भ्याएका छन् । प्रत्येक बिहान ९ बजे उनी लु१३प ६५३६ नम्बरको मोटरसाइकल चलाएर गाउँपालिका पुग्छन् । शुद्धोधन ६ महादेवाबाट गाउँपालिकाको कार्यालय पुग्न आधा घण्टा लाग्छ । 

कार्यालयमा दुई–तीन घण्टा बसेर गुनासो र समस्या सुने पनि उनी योजना अनुगमनमा लाग्छन् । गाउँसभाले अध्यक्षका लागि मासिक ६० लिटर पेटोल दिएको छ तर उनले एक लिटर पनि लिएका छैनन् । चालु आर्थिक वर्षमा भने गाउँपालिका कर्मचारी र अन्य जनप्रतिनिधिले गाडी किन्न अनुरोध गरेका छन् । ‘यो पटक उहाँहरूको अनुरोध पूरा हुन्छ’ गाउँपालिकाको आफ्नो सवारी नहुँदा भाडामा लिनुपर्ने, सामूहिकरूपमा कतै जानुपर्दा सवारीसाधनको अभाव हुने भएको छ । गाडीभन्दा अरू महŒवपूर्ण कुरा आए, गाडी किन्ने निर्णय गर्दैैनौं नत्र यो वर्ष गाडी खरिद हुन्छ ।’

निसार अह्मद खाँको औपचारिक शिक्षाको ठूलो डिग्री छैन । ६ कक्षा पास गरेर पढाइ छोडेका उनीसँग धुरन्धर विद्वानसँग हुने चेतना छ । पचास वर्षीय अध्यक्ष निसार आफ्नो शैक्षिक योग्यताबारे भन्छन्, ‘म धेरै पढेको मान्छे पनि होइन तर जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मैले बझुेको छु ।’ त्यही चेतनाले उनलाई जनताको पक्षमा काम गर्न जागरुक बनाउँछ । सिद्धार्थ माध्यमिक विद्यालयमा पढेका निसार लुम्बिनीमा जन्मिएका हुन् । जनतालाई सम्मान गर्ने संस्कृति आफ्ना नेता गजेन्द्र नारायण सिंहबाट सिकेको उनी बताउँछन् । गजेन्द्र नारायणलाई आफ्नो ‘गड फादर’ मान्ने उनलाई परिवारले पनि धनी मान्छे बन्न दबाब दिएन । परिवारबाटै उनले जनताको लागि काम गर्नुपर्ने, भ्रष्टाचार गर्न हुँदैन भन्ने शिक्षा पाए । 

 


Views: 194