8th March | 2021 | Monday | 5:39:26 AM

सामान्य यात्रा : बहुमूल्य सिकाइ

डा. नवराज खतिवडा   POSTED ON : श्रावण ५, २०७५ (११:३७ AM)

सामान्य यात्रा : बहुमूल्य सिकाइ

माइतीघरबाट पाटनतिर जाने भाडाका सवारीसाधन रोकिने बिसौनीमा धेरै बेर पर्खिनुप¥यो । माइक्रोमा चढ्न मन नलाग्ने भएकाले तीन पांग्र्रे वा बसको विकल्प रोजाइमा थिए । लगनखेल रुटमा चल्ने छनोटमा परेका केही सवारीसाधन नआएका होइनन् । तर सबै भरिभराउ । बैचनीको पारो आकाशिन थाल्यो । आखिर एउटा तीन पांग्र्रेमा सिट पाइयो । त्यसैमा चढेँ । थापाथलीको चोक पुग्न निकै बेर लाग्यो । तर, चिन्ता थिएन, म मोबाइलको संसारमा हराएँ । 

केहीबेरको यात्रापछि शंका उब्जियो । यात्रुवाहाक साधन नियमित रुट नभएर अन्यत्रै गइरहेको आभाष भयो । अगाडि हेरेँ चौतर्फी फैलिएका सडकको केन्द्र भागमा राजाको शालिक । मलाई लाग्यो– म जावलाखेल आइपुगेँ । मलाई जानु थियो पुल्चोक । गडबड भइसकेको थियो । मैले तुरुन्त ओर्लिनुमा श्रेय हुन्छ भन्ने ठानेँ । 

ओर्लेर आँखा घुमाएँ । एक छिनसम्म ठाउँ नौलो लाग्यो । त्यो जावलाखेल थिएन । म कुन ठाउँ हो भनेर ठम्याउने कसरतमा लागेँ । रंगशाला देखेपछि यकीन भयो म त्रिपुरेश्वर पुगेको थिएँ । म त लगनखेल जाने भनेर कलंकी जाने सवारीसाधनमा पो चढ्न पुगेछु । त्यसपछि आफैँले आफैँलाई हुस्सु दण्डको भागिदार बनाएँ । 

अब मलाई लगनखेल जाने साधन खोज्नु थियो । बिसौनीमा आएँ । एउटा लगनखेल जाने तीन पांग्रे र एउटा बस एकैपटक आए । बस पूरै खाली थियो । मैले त्यसलाई रोजेँ । 

ढोका पछिल्तिरको दोस्रो सिटमा बसेँ । सह–चालकले आफ्नो धर्म पूरा गर्ने थाले, ए ¤ जावलाखेल, लगनखेल, चापागाउँ । उनको यो धर्मसँगै विस्तारै बसमा यात्रुको संख्या बढ्यो ।  

अल्लारे युवाको एउटा टोली आयो । 

‘ए दाई यो बस बानेश्वर जान्छ ?’

‘जाँदैन ।’

‘ए केटा हो, बानेश्वर जाँदैन रे ¤’

समूहको नेतृत्व शायद प्रश्नकर्ताले नै गरेको थियो । अथवा ऊ बहिर्मुखी स्वभावको थियो वा परिवेशलाई रंगिन बनाउने क्षमता राख्थ्यो । जे होस् सह–चालकसँगको संवादले मलगायत अरू यात्रुको पनि ध्यानाकर्षण गर्न ऊ सफल भएको थियो । 

होहल्ला गर्दै उनीहरू त्यसैमा चढे । हुल मनोविज्ञानको सिद्धान्तले मजैले काम ग¥यो । बसमा बजाइएका गीतको तालमा उनीहरू रम्न थाले । केही हातका तालीले संगीतमय वातावरणमा मूल्य थप गर्न थाले । चालकले बसलाई देब्रे लेनबाट अघि बढाए । दाहिनेतिर सवारी साधनको लामो लहरो थियो । उनले सोचेका थिए– विस्तारै अघि बढेपछि कुपण्डोल जानेतिरको पालो आइहाल्छ । तर, त्यसो भएन, ट्राफिक संकेत स्तम्भबाट लगभग एक सय मिटर यता पुग्दा पनि दाहिनेतिरका सवारीसाधन हलचल गरेनन् । अब म चढेको बसलाई माइतिघरतिर सोझिनुबाहेक विकल्प थिएन । 

ट्रेड टावरको अगाडितिर पुगेपछि मैले पछाडि फर्किएर मुख फोरेँ । ‘बानेश्वर जाने हो भनेर अघि कसले सोध्या ? हिँडाइको साइत बिगारेपछि यस्तै हुन्छ । बस त बानेश्वरतिरै लाग्यो ।’ 

‘बानेश्वर गए त्यतै जाइदिउँला । मरि लानु के छ र ?’

बानेश्वरको हवाला दिएर लगनखेल जाने बसमा चढ्दा सह–चालकको अनुहारमा आउने भाव परिवर्तनको मजा लिने सुर नाइकेको रहेछ । मैले पनि मौकामा चौका हान्ने सुर निकालेँ । 

‘भाइहरू विदेश जान लागेको हो ?’

‘होइन त ।’

नाइकेले नसोचेको कार्यसूची फेला पा¥यो । मेरो प्रश्नको सपाट उत्तर दियो । 

‘मलाई त भाइहरूको फुर्ती हेर्दा हृवेल माछै समात्न हिँडेजस्तो लाग्याथ्यो, विदेश जाने इच्छा त होला नि ?’

यो प्रश्नको उत्तर आएन । मैले प्रश्नलाई अझ धकेल्दै सोधेँ । 

‘अघि बानेश्वर जाने हो भनेर सोधेजस्तो तरिका विदेशमा खुबै काम लाग्ने एउटा कुरा सुनाउन मन थियो । अब युवा इत्तर यात्रुले पनि मेरा अभिव्यक्तिमा ध्यान दिन थालेका थिए । माहोल पूरै मेरो नियन्त्रणमा आइसकेको थियो । 

‘ओहो ¤ सुनाउनु न सर । कुनै दिन त काम लागिहाल्छ नि ।’

अहिले भने असारमा एकछिन अघि बिदो भएको पानी फेरी पर्न थालेजस्तो नाइकेको बोली फेरि फुटेको थियो । 

‘जान पाइयो भने कुन देश जान मन छ त ?’

‘कोरिया ।’

हो । ल कोरिया गैइयो रे, त्यहाँ कुनै कोरियन नागरिकलाई केही सोध्नुप¥यो रे । पहिला त उसलाई अंग्रेजी बोल्न आउँछ कि आउँदैन भनेर जान्नुप¥यो, होइन त ?’

‘हो सर ।’ 

कक्षामा विद्यार्थीले एउटै स्वरमा ‘हो सर’ भनेजस्तो ‘रातो राम्रो गुलियो मिठो’ लाग्ने उमेरका अल्लारेहरूले भने । यसको मतलव उनीहरू मेरा कुरा मन्त्रमुग्ध भएर सुनिरहेका थिए । यो समय मेरो सम्प्रेषणलाई चरमचुलीमा पु¥याउने सुवर्ण अवसर थियो । 

‘डु यु स्पिक कोरियन ?’

‘यो प्रश्न सोध्ने ।’

मैले सानो विश्राम लिएर यी दुई वाक्य भने । बजिरहेको गीत र इन्जिनको आवाज नै फिका पार्ने हाँसोले बस भरियो । 

‘सुन जोडी’ का अंशियार सूर्यमान शाक्यको आविष्कार हो यो । जापान, फ्रान्स, स्पेन आदि मुलुकमा जानेर पनि अंग्रेजी बोल्न नचाहने मान्छेसँग भेट हुन्छ । जापानका नागरिक ‘गल्ती होला कि’ भन्ने डरले यसो गर्छन् । तर फ्रान्स या स्पेनका नागरिक भने आफ्नो मातृभाषाको पहिचानका लागि सकेसम्म अंग्रेजी बोल्न चाहँदैनन् । यस्तो अवस्थामा जापानिज्लाई ‘डू यू स्पिक जापानिज् ?’ भनेर सोध्नुको पछाडि गहिरो मनोविज्ञान लुकेको छ भन्ने मेरो विश्लेषण छ । यसमा अन्तरनिहित विनोदी भावलाई उपयोग गरेर प्रश्न सोधिएको व्यक्तिसँग थप कुराकानी गर्ने अवस्थासमेत सिर्जना हुनु कुनै अनौठो होइन । 

‘डु यु स्पिक कोरियन ? भनेर कोरियनलाई सोध्यो भने उसले के भन्छ ?’

मैले माहौल तताउन प्रश्न फेरि दोहो¥याएँ । 

‘यस भन्छ नि सर ।’

अहिले भने दोस्रो नाइके बोलेको थियो । 

‘यसको मतलव के बुझियो ?’

‘उसलाई अंग्रेजी आउँदो रहेछ भन्ने बुझियो नि सर ।’

फेरी हाँसोले बस भरियो । चालकले माइतिघरलाई एक चक्कर लगाएर थापाथलीको ट्राफिक संकेत स्तम्भ नजिक ल्याइसकेका थिए । 

म यस्तै मौकामा आफूले जीवनमा लिएका कतिपय निर्णयमा गर्व गर्छु । ‘विदेशमा नबस्ने, नेपाल नै फर्कने’ । जीवनकालको एउटा कठोर निर्णय थियो यो । सम्भवतः आफूसँग अपरिचित यात्रुसँग यति आनन्दको क्षण सिर्जना गर्न अन्यत्र सकिन्न । यो आफ्नै धर्तीमा आफ्नै दाजुभाइसँग मात्र सकिन्छ । कहिलेकहीँ त लाग्छ, म नेपालमा जहिले पनि जोसँग पनि रमाइलो साट्न सक्छु । अहिलेसम्म मलाई ‘तँ किन बाठो हुन्छस् ? वा यो तेरो सरोकारको विषय होइन  वा चुप लाग भनेर कसैले हप्काएको छैन । हुन त यो मेरो निजी स्वभावजन्य विशेषता पनि हुनसक्छ । तर, यस परीक्षामा मैले शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट नतिजा हासिल गरेको छु । स्वदेश फर्कनुको एउटा प्राप्ति यही हो ।  

नेपाल विकास अनुसन्धान प्रतिष्ठान म्यानम्यारबाट आएकी अनुसन्धानकर्ता क्याथी होनपाइङको बिदाइ समारोह थियो । उनी ‘महिला सशक्तीकरण’ विषयकी विद्यार्थी भएकाले उनले त्यसै विषयमा प्रस्तुतिसमेत गरिन । नेपालको ग्रामीण क्षेत्रमा गरीबी र महिला उत्थानका क्षेत्रमा शहरमा जस्तो रूपान्तरण भएको छैन । तर राजधानीलगायत अन्य शहरमा भने अहिले अर्थतन्त्रमा महिला सहभागिता हृवात्तै बढेको छ । 

मैले क्याथीलाई शुभकामना दिँदै भनेँ–

‘तिमीले रोजेको विषय सान्दर्भिक छ । महिला सशक्तीकरणको सवालमा नेपालमा धेरै प्रगति भएको छ । यही सभामा हेरौँ । यहाँ पुरुषको संख्या एक तिहाईमात्र छ ।’

बेलुका घर फर्कंदा म हरिहरभवनको बिसौनीमा तीन पांग्रे वा ‘नेपाल यातायत’ समात्छु । बिहानजस्तो धेरै बेर कुर्नु परेन । म चढेको टेम्पोमा पनि महिलाको बाहुल्य थियो । कोटेश्वर पुग्ने बेलामा त यात्रुमध्ये म एकल पुरुष थिएँ । अगाडि चालकसँग अल्लारे बैँस भर्खरै पार गरेर गृहस्थी जीवनमा प्रवेश गरेजस्तो भान पर्ने उमेरका दुई युवती थिए । म जहिले पनि भित्तातिर सरिदिन्छु । नसर्नेहरूलाई सर्न दबाब दिन्छु । हलुका स्नायुमा ‘भित्तातिर सरेमा पुण्य कमिन्छ’ भन्छु । कतिले खुरुक्क मान्छन । कतिले आँखा तरेर हेर्छन् । कतिले ‘म यहाँ नजिकै ओर्लिने हो’ भनेर तर्क दिन्छन् । म उनीहरूको त्यस्तो तर्कलाई फितलो बनाउने प्रतितर्क गर्छु । 

म भित्तातिर सर्दै बानेश्वर पुगेपछि चालककै पछाडि आइपुगेँ । दुई युवती र चालकको कुराकानीले मेरो ध्यानाकर्षण ग¥यो । 

‘एक हप्तासम्म तीनजनालाई खोरमा थुनेछन् ।’

चालकतिर बसेकी युवतीले भनिन् । 

‘के कारण परेछ त्यस्तो ?’

‘खलासीले केटीलाई बोलाएछ ।’

‘बोलाउँदैमा त नथुन्नुपर्ने नि ?’

‘राति दश बजेको बेला रहेछ । केटी एक्लै थिई रे । खलासीले बोलायो रे । तर, एक छिनपछि केटी अलि पर गएपछि एक हुल केटाले आक्रमण गरे रे ¤ केटीलाई हेलमेटले हिर्काए रे ¤ ती कुट्ने त कता भागेभागे । केटीले ती केटा खलासीकै साथी भन्ठानेर पोली रे ¤ आखिर खलासीलाई समात्यो ।’

‘अनि अरू दुईजना चैँ को परेछन् ?’

‘ड्राइभर र सँगै हिँड्ने साथी ।’

‘खलासीले त केटी जिस्क्यायो रे ल । ड्राइभरलाई किन समातेको त ?’

‘खलासी भनेको ड्राइभरको वशमा हुनुपर्छ रे । के बोल्ने. के नबोल्ने उसैले सिकाउनुपर्छ रे । हेर्नु त । बिहानदेखि हिँडेको मान्छे । यस बेलासम्म । यता बुझाऊ । उता बुझाऊ । पैसा पैसाको नास ।’

‘कति लाग्यो त जम्मा ?’

‘लाग्यो होला ५०÷६० हजार त ।’

‘हे र त । बेफ्वाँकमा । त्यो खलासीले पहिला पनि गाडी ठोक्काएर पैसाको सर्वनास गरेको थियो  रे ।’

अहिले भने किनाराकी युवती बोलिन् । 

‘त्यतिमात्रै हो र ? डियसपीलाई पनि हायलकायल पारेछ । बेहोश भएर तीनचोटि अस्पताल लानुप¥यो रे ¤ के हो ? के हो ? साँच्चै बेहोश भएको हो कि नाटक हो । कुरै बुझिनसक्नु ।’

मेरो गन्तव्य आइसकेको थियो । युवतीका कुराले हाम्रो अहिलेको यातायात श्रम बजारदेखि लिएर प्रहरी कारबाही आदिसम्मको अवस्थाको सिंहावलोकन गर्ने अवसर प्रदान गरेका थिए । मलाई लाग्यो, यी सडकमा भेटिने कथाहरूमा मुलुकको विकास गर्ने अथाह अवसर लुकेका छन् । खाँचो छ तिनलाई छोप्ने र चमत्कारिक नेतृत्व कौशल प्रस्तुत गरी विपरीतधर्मी संस्कारमा चोटिलो प्रहार गर्ने ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।)

Views: 360