5th December | 2020 | Saturday | 10:54:06 AM

अन्तरंग : एक पूर्वप्रशासकको प्रशासन अनुभव

  POSTED ON : श्रावण ५, २०७५ (११:४७ AM)

अन्तरंग : एक पूर्वप्रशासकको प्रशासन अनुभव

नेपाल सरकारका निवृत्त सचिव हुन् । २०१८ सालमा खोटाङ जिल्लाको दुबेकोलमा टीकादत्त रेग्मी र चन्द्रकुमारी रेग्मीका जेठा छोरका रूपमा जन्मिएका माधव सानैदेखि प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिन्थे । २०२५ सालमा उनको परिवार झापा जिल्लाको गौरादहमा बसाइँ सरेपछि उनी त्यहीँको जनता माविमा भर्ना भएर पढ्न थाले । २०३४ सालमा उनी त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि काठमाडौंको नेपाल ल क्याम्पसमा भर्ना भएर कानुन पढ्न थाले । 

माधव रेग्मी लोकसेवा आयोगका परीक्षामा आफ्नो शैक्षिक योग्यताअनुसारको पदमा उत्तीर्ण हुन्थे । उनले एसएलसीपछि डिठ्ठा, आइएलपछि बेन्च असिस्टेन्ट सुब्बा र बिएलपछि प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाले । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र राजनीतिशास्त्र दुई विषयमा स्नातकोत्तर गरेका रेग्मीले उपसचिव आन्तरिक प्रतिस्पर्धाबाट र सहसचिब खुला प्रतिस्पर्धाबाट उत्तीर्ण गरे । त्यसपछि उनी नेपाल सरकारको सचिवमा बढुवा भए । उनी सचिव हुनुअघि ताप्लेजुङ, ओखलढुंगा, भोजपुर, कास्की, मोरङ, धनुषा र बाँकेलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरे । नेपाल सरकारको उच्च प्रशासक हुँदा उनले बेलायतबाट उच्च शिक्षा हासिल गर्ने मौका पाए भने खुला प्रतिस्पर्धाबाट सबै पद प्राप्त गरेका उनी चाँडै सचिवमा बढुवा भए । त्यसैले सचिव भएपछि पाँच वर्षमात्र सेवामा रहन पाउने कानुनी प्रावधानका कारण ५४ वर्षको उमेरमा उनी सेवा निवृत्त भए । उच्चस्तरीय प्रशासनिक पदमा कार्यरत रहेकै समयमा कामका शिलशिलामा उनले नेपालका सतहत्तरै जिल्ला तथा बेलायत, अमेरिका, जापान, चीन, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इण्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गरे । उनले विभिन्न मन्त्रालयमा सचिवका रूपमा रहेर कार्यदक्षता प्रस्तुत गरी स्वच्छ छवि भएका प्रशासकका रूपमा चिनिए । उनी निवृत्त जीवनमा पनि उच्च स्तरीय प्रशासन पुनःसंरचना आयोगको सदस्य छन् र सरकारले बेलाबेलामा सुम्पिएका काममा संलग्न हुने गछन् । 

छिट्टै अवकास हुँदाको अनुभव बताउने क्रममा उनले भने, ‘म २०३७ सालमा निजामती सेवामा प्रवेश गरेको हुँ सर्वोच्च अदालतको अस्थायी डिठ्ठाबाट । ३६ वर्ष लामोसमय निजामती सेवामा रहेर २०७३ साल साउन ४ गते लोकसेवा आयोगको सचिव पदबाट अवकाश भएँ ।’ उनले अवकाशपछि सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय प्रशासनिक पुनः संरचना समिति, सहजीकरण समितिको सदस्य भएर नौ महिना र प्रतीक्षा नीत तर्जुमा समितिको संयोजक भई ६ महिना काम गरी प्रतिवेदन बुझाउने काम गरेका छन् । २००८ सालको बुच कमिसनदेखि हालसम्मका प्रशासन सुधारसम्बन्धी प्रतिवेदनको अध्ययन गरी त्यसको संश्लेषण प्रतिवेदन तयार गर्न पूर्वसचिव मधुरमण आचार्य र उनलाई सरकारले जिम्मेवारी दिएको थियो । यस क्रममा ५१ वटा प्रतिवेदनको अध्ययन गरी ५९ वटाको सुझावसहित प्रतिवेदन पेश गरिसकेको उनले बताए । हाल उनी यीबाहेक सरकारलाई सहयोग पुग्ने अन्य केही सामाजिक काममा संलग्न छन् । 

उनले सेवा अवधिमा कतै पनि आफ्नो राजनीतिक आस्था प्रकट गरेनन् । यसबारे उनी भन्छन्, ‘म नेपाल सरकारको सेवामा संलग्न कर्मचारी भएका कारण आफ्नो पदीय धर्म निर्वाह गर्न स्वतन्त्र, तटस्थ, निष्पक्ष भएँ ।’ उनले कहीँ कतै त्यस्तो राजनीतिक अस्था प्रकट गरेनन् । उनी नेपालका १० जिल्लामा १५ वर्ष प्रमुख जिल्ला अधिकारी भएर कर्य गरे । किन राजनीति क्षेत्रमा तपाईको आस्था रहन सकेन त ? भन्ने प्रश्नमा उनले भने, ‘यस्तो जिम्मेवारी लिएको व्यक्तिले नै राजनीतिक आस्था प्रकट गर्न थाल्ने हो भने जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने हुनाले आफ्नो परम कर्तव्य जुन थियो त्यसैलाई मात्र प्राथमिकतामा राखेको हुँ ।’

 ‘हाम्रो पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । बुबा स्वर्गीय टीकादत्त रेग्मी स्वतन्त्रता सेनानी हुनुका साथै २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि भएको पहिलो सशस्त्र आन्दोलनका क्रममा खोटाङको ऐसेलुखर्कबाट पक्राउ परी ६ जेल बस्नुका साथै सत्याग्रहलगायत अन्य कार्यमा संलग्न हुनुभएको थियो । राजनीतिक कारणले समेत गुजारा गर्न झापाको गौरादहमा बस्ता पनि उहाँ त्यहाँको राजनीतिको केन्द्र नै हुनुहुन्थ्यो । यस अवस्थामा भाइ तथा भान्जाभान्जीको पढाइ तथा हेरचाहको जिम्मेवारी उनैले लिनुपर्ने भएकाले राजनीतितिर नलागेको उनले बताए । उनले भने, ‘मेरो परिवारका सबै सदस्यको अहिले राम्रो उन्नति छ । म राजनीतिमा लागेको भए यो सम्भव थिएन । 

उहाँका बुबा २००७ सालअघि नै नेपाली सेनामा जागिर खाई फिल्डमार्सल केशर शमशेरको आठपहरिया भएर काम व्यक्ति हुनुहुन्थ्यो । त्यतिबेलाको समयमा नै उहाँको बुबा जागिर छोडेर २००७ सालको क्रान्तिमा लाग्नुभएको थियो । उनका बुबा चेतनशील व्यक्ति भएका कारण घरमा चेतना र आधुनिकता अलिक बढी नै थियो ।

नेपालको कर्मचारीतन्त्रबारे उनी भन्छन्, ‘नेपालका कर्मचारी सक्षम छन्, आर्थिकरूपमा कमजोर देशका कर्मचारी केही कमाउने चाहना उनीहरूको हुन्छ नै । सेवा प्रवेशका समयमा गलत काम गर्ने मनसाय नराखेको भए तापनि वातावरणका प्रभावले जनताको सेवा गर्ने काममा सोचेजति उत्तरदायी बन्न नसकेको हो कि तर नेपालमा कर्मचारीले जति जनताको सेवा अरू वर्गले गरेकोजस्तो लाग्दैन ।’ 

उनले आपूm प्रजिअ बन्नका लागि चाकरी नगरेको बताए । ‘म द्वन्द्व र द्वन्द्वोत्तर काल २०५१ देखि २०६५ सालबीचमा प्रजिअ भएँ । यो असहज अवस्था थियो । यो समयमा गृह प्रशासनलाई संकट परेको थियो । सहज परिस्थितिमा भनसुन गरी बाहिर जाने र असहज अवस्थामा फेरि भनसुन गरी राजधानी फर्किएर रोव रवाफ देखाउनेहरू पनि नभएका होइनन् । हाम्रा तनिजना साथी द्वन्द्वका समयमा मारिए तर हामी केही प्रजिअ देशलाई संकट परेको बेलामा पनि कटिबद्धताका साथ आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गरिरहृयौँ ।’ उनले भने । 

‘यथार्थमा नेपालको कर्मचारीतन्त्रमा राजनीति हाबी छ । राजनीतिले आफ्नो मान्छे खोज्छ र कर्मचारी आवश्यकताभन्दा बढी त्यतातिर लहसिने प्रवृत्ति छ । राजनीतिक कारणले सहयोगभन्दा पनि अफ्ठ्यारो परेको उनले बताए । 

मुख्य सचिव बन्नेको समूहमा पार्ने नपार्ने निर्णय सरकारको हो । मिहिनेत, तत्कालीन राजनीतिक अवस्था र भाग्यको पनि यसमा भूमिका हुन्छ । ‘मुख्य सचिवमा दाबी गर्ने अवस्थामा अरूसरह बढुवा नगरी दाबी गर्न नमिल्ने स्थितिमा सचिवमा गरिएको बढुवा नै म मुख्य सचिव हुन नसक्नुको कारण हो ।’ उनले यसका अन्य विविध कारणहरू भने खुलाउन चाहेनन् । 

आफ्नो सफलताका सम्बन्धमा उनी यस्तो विश्लेषण गर्छन् ‘म खोटाङको दुबेकोल जस्तो दुर्गम ठाउँको मध्यम आर्थिक अवस्था भएको परिवारमा जन्मी झापाको गौरादह रानीझोडामा बसोवास गरेर काठको पाटीमा धुलो राखी बाँसको कप्टेराले क ख चिनेको मान्छे हुँ । त्यहीँबाट एसएलसी पास गरेपछि काठमाडौं आएर मैले सानैदेखि सानो पदमा रही सरकारको सेवामा समर्पित भएर सचिवजस्तो उच्च पद प्राप्त गरी सहज ढंगले अवकाश भएकाले मैले गौरव गर्ने ठाउँ छ । घरमै आमा चन्द्रकुमारीबाट प्रारम्भिक शिक्षा लिएको मजस्तो मानिसले अप्ठ्यारोमा परेका जनता र परिजनको सेवा र सहयोगमा सकेको योगदान दिन सकेकामा म सन्तोष व्यक्त गर्दछु ।’ 

राजनीतिक पार्टी र सरकालाई भ्रष्ट बनाउन कर्मचारीतन्त्रकोे हात हुने नहुने बारेमा उनले भने, ‘कुनै पनि मुलुकको विकास र विनासमा राजनीतिज्ञ र कर्मचारी दुवैको हात हुन्छ । संसारका अन्य मुलुकको उदाहरण दिँदा पनि यो देखिन्छ । तर, पार्टीलाई भ्रष्ट पार्न कर्मचारी लागेजस्तो लाग्दैन । कर्मचारीतन्त्रको मनसुवा राम्ररी बुझेर पार्टीको सरकारले काम गरेमा सुधार ल्याउन सकिन्छ,‘कर्मचारीतन्त्रमा पनि कमबेसी समस्या रहेका छन् । कर्मचारीतन्त्र कामै नलाग्ने गरी भ्रष्ट छ जस्तो लाग्दैन । निष्ठावान् कर्मचारीको सेवाकै कारण नेपाल यो अवस्थासम्म आइपुपेको हो जस्तो लाग्छ ।’ 

उनी नेपाल राष्ट्रको भविष्य सुन्दर देख्छन् । ‘संसारले नेपाललाई चिन्ने राष्ट्रिय गौरव र संस्कृतिको रक्षा गरी जलस्रोतसहित प्राकृतिक सौन्दर्य संसारकै उच्चतम हिमाल, र हिम शृंखलाको मोहकता, कृषिमा आधुनिकीकरण र सेवा क्षेत्रमा विस्तार तथा सुधार गरी नेपाललाई विकास गर्न सिक्ने कुरामा दृढ छन् । साथै, केही ठूला र विकासका क्षेत्रमा अघि बढिरहेका ठूला मुलुकबीच चलायमान पुल (भाइब्रेन्ट ब्रिज) बनेर नेपालले विकास गर्न सक्छ । त्यसैले उनी नेपालको उज्जवल भविष्य देख्छन् ।  

रेग्मी राष्ट्रले आफ्नो ज्ञान, सीप, कौशल र अनुभवको उपयोग गर्न चाहेका खण्डमा आफू तयार रहेको बताउँछन् । यसै सम्बन्धमा उनी भन्छन् ‘उपयुक्त जिम्मेवारी पाएमा आफ्नो योग्यता क्षमताले भ्याएसम्म उक्त जिम्मेवारी पूरा गर्न तयार छु ।’ 

जुनसुकै पार्टीको सरकारसँग पनि काम गर्न तयार हुनुहुन्छ ? भनेर सोद्धा उनको विचार यस्तो रहृयो, ‘मैले जागिर सुरु गर्दा पञ्चायती व्यवस्था थियो । त्यसपछि बहुदलीय पद्धति, लोकतन्त्र, गणतन्त्र सबैमा काम गरेको अनुभव मसँग छ । त्यसैले तोकिएको काम गर्न सक्छु भन्ने लाग्छ ।’

उनले उपयुक्त अवसर पाए राजनीति गर्न पनि सकिन्छ भन्ने संकेत गरे । ‘राजनीति विभिन्न प्रकृतिको हुन्छ । सबै नीतिको नीति हो राजनीति । अन्य नीतिलाई यसले सुधार गर्छ तर नेपालमा राजनीतिलाई नै सुधार गर्नुपर्ने अवस्था छ । यस सम्बन्धमा के कस्तो भूमिका रहने हो सरसल्लाह गर्नुपर्ने हुन्छ,’ उनले भने । 

देशका लागि केही गर्ने योजनाका सम्बन्धमा उनी भन्छन्, ‘धेरै ठूलो योजना केही छैनन् । आफूले भ्रमण गरेका सतहत्तरै जिल्ला र संसारका घुमेका मुलुकको विकास प्रयासलाई नेपालसँग जोड्दा यात्रा अनुभव र सान्दर्भिकताबारे कलम चलाउने सोचाइमा छु ।’ 

नेपाल सरकार, नेपालको प्रशासन र नेपालीलाई उनले यसरी सुझाव दिन चाहे । ‘दुईतीहाई बहुमतको सरकारले अब योजना सार्वजनिक गरिरहनुभन्दा कार्यक्षेत्रमा उत्रिनु आवश्यक छ । प्रशासनमा आधुनिक प्रविधिको सकेसम्म बढी प्रयोग गरी अझै अनुभवी बनाउँदै लान सुझाव दिन चाहन्छु, सर्वसाधारण नागरिकले संविधान र ऐन कानुनले दिएकोे अधिकारको पूर्ण उपयोगमा सचेत र क्रियाशील भई कार्यान्वयनप्रति अझ बढी चिन्ता र कार्य गर्न अनुरोध गर्दछु ।’ 

अन्तमा उनलाई विभिन्न उच्च पदमा रहँदा राष्ट्रका लागि केकस्ता काम गर्नुभयो ? भन्ने प्रश्नमा उनले यस्तोे फेहरिस्त नै प्रस्तुत गरे, उनले भने, ‘म २०६८ सालमा सचिवमा बढुवा भएँ, यसपछि मध्यमाञ्चलको क्षेत्रीय प्रशासक भएँ, त्यहाँ रहँदा आफ्नो क्षेत्रका १९ वटै जिल्लाको भ्रमण गरी प्रशासन चुस्त बनाउन भूमिका खेलेँ । रसुवागढी नाकालाई व्यवस्थित गर्न एकीकृत संरचना निर्माण प्रक्रियाको सुरुवात गरेँ । लामो समयदेखि टुंगिन नसकेको फास्टट्रयाक जग्गा अधीकरण समस्याको समाधान गरेँ । ६ महिनापछि नै म रक्षासचिव भएँ । माओवादी सेनाको नेपाली सेनामा समायोजनजस्तो संवेदनशील र महŒवपूर्ण विषयमा राष्ट्रको हितलाई ध्यान दिई सहजीकरण तथा कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेलेँ । त्यसको ६ महिनामा फेरि मेरो सरुवा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भयो । त्यहाँबाट एकहप्तामै राष्ट्रिय सतर्कता केन्द्रमा पठाइयो । त्यहाँ सचिव कोही जान नमान्ने आकर्षण नभएको मानिन्थ्यो । अरू सचिव त्यहाँ तीनचार महिनामात्र रहन्थे, म १५ महिना त्यहाँ बसेँ । मैले त्यहाँ रहँदा केन्द्रको सक्रियता बढाएँ । त्यहाँबाट मेरो सरुवा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भयो । त्यहाँ मैले विगत चार वर्षदेखि हुँन नसकेका नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक नेपालमै गराएर व्यापार सहजीकरणका लागि योगदान दिएँ । चार वर्षदेखि हुन नसकेको वाणिज्य क्षेत्रको महŒवपूर्ण व्यक्तित्वको सम्मान महामहिम राष्ट्रपति डा. रामवरण यादबबाट गराएँ । कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि काम अघि बढाएँ । 

त्यसपछि मेरो सरुवा सिँचाइ मन्त्रालयमा भयो । ४३ जिल्लामा मात्र सीमित सिंचाई कार्यालय र जल उत्पन्न प्रकोपको जोखिम बढेकामा १२ डिभिजनबाट संगठन तथा व्यवस्थापन सर्भे गरी क्रमशः ७३ जिल्लामा सिँचाइ कार्यालय र ३ जिल्लामा एउटा पर्ने गरी जल उत्पन्न प्रकोप डिभिजन स्थापना गरियो । लामोसमयदेखि ठेक्का लाग्न नसकेको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट शिलान्यास गराइयो जुन हाल अत्यन्त सफलतापूर्वक अघि बढिरहेको छ ।’

यति लामो फेहरिस्ती हुँदाहुँ पनि उनले अझ थपे, ‘अनि, मेरो सरुवा संघीय मामिला तथा सथानीय विकास मन्त्रालयमा भयो र संविधानबमोजिम स्थानीय तह पुनसंरचना आयोगको कार्य क्षेत्रगत शर्त तोकी आयोग गठन भई सोहीअनुसार हाल अन्य पुनसंरचना भइरहेको छ । अन्त्यमा मेरो सरुवा लोकसेवा आयोगको सचिवमा भयो जहाँ मैले सहायक सचिव र उपसचिव गरी सात वर्षसम्म काम गरेको थिएँ । आयोगमा रहँदा संविधानबमोजिम नयाँ महाशाखा गठन गरी ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइयो ।’ यसरी जहाँजहाँ म बसेँ आफ्नो उद्देश्यबमोजिम महŒवपूर्ण काम गर्ने मौका पाएँ र इमानदारिपूर्वक काम गरेँ । यी सबै अवसरप्रति म नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु ।’ 

रेग्मीका कुरा यतिमात्र होइनन्, उनी अझै धेरै कुरा भन्न चाहन्थे तर यहाँ त्यो सम्भव भएन । उनी आफैँ आफ्ना प्रशासनिक अनुभव समेटेर पुस्तकै लेख्ने सोचमा छन् । उनलाई अग्रिम शुभकामना । 



Views: 1556