भेरी–सेती बढेको छ
कतिको मन त्यसै जलेको छ
कर्णालीले सुसाइदिँदा
बर्खे भेलले छानो नाग्यो ।।
बृद्धवृद्धा बाबाआमा
काखमा सानो दूधे बालक
खाने छैन अन्नको गेडो
तनमा छैन लुगा एक फेरो ।।
खोलो पस्यो घरमा मेरो
विदेशिएका श्रीमान् र छोरो
फर्की आउने खै कैले हो ?
कर्णालीले नखाए भेट हुन्थो !
गर्भ छोडी गए उनी, सकौंला कसरी जन्माउन
ऋण लिई हिडे ऐश्वर्य भित्र्याउन
भेरीबाट तल ‘सम्म’ टारमा झार्छु भन्थे
धन कमाई जीवन सुखमय पार्छु भन्थे ।
छोडी गए कमाउन, आउने टुङ्गो छैन
बालकको पेट भर्न स्तनमा दूध छैन
पटुकीले बाध्दै हिड्छु करङ र ढाड
साहारा कुरी बस्छन् बुढो छाला र हाड ।
किन आउछ पापी वर्षा छानो रूझाउन
किन धाउछ पापी खोला मलाई रुवाउन
किन लाउछ व्यर्थै माया मन तडपाउन
जवानीलाई बन्धक राखी गयौ धन कमाउन ।
Views: 1055