15th August | 2020 | Saturday | 5:16:58 AM

नेपाल भारत सवारी आवागमन

डा.सुमनकुमार रेग्मी   POSTED ON : श्रावण १५, २०७५ (१२:३९ PM)

नेपाल भारत सवारी आवागमन

नेपाल र भारतबीच विभिन्नस्तरका नेता तथा पदाधिकारीहरू एक अर्का देशमा भ्रमण गर्दै आइरहेका छन् । यस्ता भेटघाटमा अनेकौं सन्धिसम्झौता तथा सहमति हुँदै आएका छन् । नेपाल तथा भारतबीच एकचालीसभन्दा बढी सम्झौता भई संयन्त्र कायम हुँदै आएको छ । यस्तै मध्येमा नेपाल तथा भारतबीचको मोटर भेहिकल सम्झौता पनि एक रहेको छ । यस्ता सम्झौताका बँुदाहरू कार्यान्वयनमा आउन भने वर्षौं लाग्ने गरेको देखिन्छ । 

नेपाल र भारतबीचको सवारी आवागमन नाकामा दिइआएको सहित थप पाँच रुट सञ्चालनमा ल्याइने भनी २०७४ फाल्गुनतिर प्रकाशमा आएको थियो । शायद यी थप पाँच रुट हालसम्म सञ्चालन भएका छैनन् । त्यसै समयताका काठमाडांैमा सम्पन्न नेपालभारत यातायात सहजीकरण संयुतm कार्यदलको दोस्रो बैठकले स्वीकृत गरेपछि त्यो मार्ग सञ्चालनमा आउने भनिएको थियो । यी थप पाँच मार्गहरूमा महेन्द्रनगर–देहरादुन, नेपालगञ्ज–रूपेडिया–बरेली–हरिद्वार, नेपालगञ्ज–रूपेडिया–लखनउ, नेपालगञ्ज–रूपेडिया–दिल्ली र काठमाडौं–सुनौली–गोरखपुर जाने गरी पछिल्लो सहमति भएको देखिन्छ । 

यसअघि सन् २०१५ मा दिल्लीमा बसेको पहिलो बैठकले नेपाल र भारतबीच चार रुट थप गरेको भए पनि चारमध्ये दुईमात्र सञ्चालनमा आई बाँकी दुई आउन सकेका थिएनन् । स्मरणीय कुरो के छ भने २०७१ सालकोे मार्गमा १८औं सार्क शिखर सम्मेलन हुनेताका दुवै देशका प्रधानमन्त्रीको उपस्थितिबीच मोटर भेहिकल सम्झौता अर्थात् एमभिए भएको थियो । काठमाडौं–दिल्लीबीच बस सेवा त्यसबेलामै सञ्चालनमा आइसकेको थियो । 

सोही दिनको निर्णयअनुसार तीन रुटमा सञ्चालन हुने बस सेवामा काठामाडौं–भैरहवा–लखनउ–दिल्ली, काठमाडौं–भैरहवा–बनारस र पोखरा–भैरहवा–दिल्ली थिए । यी दुई बाँकी रुट छ महिनापछि आएका थिए । पहिलेको सम्झौता अनुसारका तिन रुट सञ्चालनमा आएपछि २०१५ जुनमा दिल्लीमा बसेको नेपाल–भारत यातायात सहजीकरण कार्यदलको पहिलो बैठकले चार रुट थप गरको थियो । 

काठमाडौं–पटना–बोधगया, महेन्द्रनगर–दिल्ली, काठमाडौं–काँकडभिट्टा–सिलगुडी र जनकपुर–पटना रुट दिल्ली बैठकमा तीन वर्षअघि थप गरिएको भए पनि काठमाडौं–सिलगुडी र जनकपुर–पटना सञ्चालन हुन सकेका छै्रनन् । काँकडभिट्टा हँुदै काठमाडौंबाट सिलगुडी रुट भने बंगलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सहकार्यमा परेको कारण सञ्चालनमा आएको छैन । 

जनकपुर–पटना पनि द्विपक्षीय व्यापारिक सहमति नभएका कारण अगाडि बढ्न सकेको छैन । उतm रुट सञ्चालनलाई सहजीकरणका साथै अन्य कनेक्टिभिटी बढाउन भएको द्विपक्षीय छलफलमा पाँच रुट थपिएको थिए । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले पाँच रुट सहमति गरेको र सबै रुट सञ्चालनमा आएमा नेपालबाट भारततर्फ १२ स्थानमा औपचारिक रूपमा मोटर भेहिकल सञ्चालन हुनेछन् । दुवै देशका सरकारबाट सहमति भएपछि पछिल्लो पाँच रुट कायम हुने भनिएको थियो । 

दुवै देशबीच भएको एमभिए कार्यान्वयन गर्न बनेको नेपाल–भारत सीमापार यातायात सहजीकरण संयुतm कार्यदलले समस्याका सबै विषयमा छलफल गरेको थियो । नयाँ रुट सञ्चालन भएपछि नेपाल र भारतका उत्तरप्रदेश, विहार, पश्चिम बंगाल तथा उतराखण्डबीच सहज रूपमा सम्पर्क तथा आवतजावतमा सुविधा पुग्ने देखिन्छ । पहिले सम्झौता भएका सात रुटलाई प्रभावकारी बनाएपछि मात्र अरू रुट थप गर्दै जाने भनिएको छ । 

माथि उल्लेखित यस्ता सम्झौताका बँुदाहरूका प्रावधानले नेपाललाई फाइदा देखिए पनि कार्यान्वनमा नआउँदा कागतका खोष्टाजस्तै हुँदै गएका छन् । त्यसर्थ नेपाल तथा भारतबीचमा भएका सबै सन्धिसम्झौता र सहमतिहरूको अद्यावधिक अध्ययन र कार्यान्वयन हुँन बाँकी के कुरा छन् पत्ता लाग्दै जानुपर्दछ । दुवै देशका पदाधिकारी सम्मिलित प्रबुद्ध समूह यसमा रहेका भए पनि यसतर्फ उनीहरूको ध्यान पुग्न नसकेको देखिन्छ । दुई देशबीचका सीमामा समस्या पर्न गए यात्रु आवागमन, सामान ढुवानी, आवागमन र यातायातका साधन ओहोरदोहरमा असर पर्न जान्छ । 

नोपल र भारतबीच वर्षौंअघिदेखि रहँदै आएको सीमा विवाद ग्लोबल पोजिसनिङ सिष्टम अर्थात् जिपिएसबाट हुने भएको छ । कालापानी र सुस्तावाहेक अन्यत्रको वास्तविक सीमाना टुंगो लगाउन दुवै देश काम गरिरहेका छन् । सुस्ता र कालापानीको सन्दर्भमा परराष्ट्रस्तरमा सचिवस्तरीय छलफल गर्नुपर्ने भनिएको छ । अन्य क्षेत्रको विवाद नापी विभागका डिजीले गर्नसक्ने भनिएको छ । डिजीस्तरीय सीमा विवाद समाधान कार्य समितिले महिनौंदेखि स्थलगतरूपमा काम गर्दै आएको छ । सो समूहले चरणचरणमा निर्माण भएका सीमास्तम्भको पहिचान, मर्मत, पुनर्निर्माण र नयाँ निर्माण गरिनुपर्ने खोजी कार्य भइआएको बताइन्छ । नदी कटान र भूक्षयले भूगोल हेरफेर गर्दै आएकोमा जिपिएसबाट सीमा यकिन गरिने भनिँदै आएको छ । दुवै देशका सीमास्तम्भको दुवैतिर दशगजा क्षेत्रमा भएको अतिक्रमणको अभिलेख बनाउने र दुवैतर्फका सीमा नाँघेर जमिनको उपयोग भएनभएको विवरण अद्यावधिक गर्ने भनिएको थियो तर निरन्तरता दिएको देखिँदैन ।

अघि निर्माण भएका सीमास्तम्भको जिपिएसबाट वास्तविक अवस्था यकिन गरी क्रस बोर्डर अकुपेसन विवरण संकलन गरेर अद्यावधिक गर्ने काम अघि बढाइएको धेरै भइसक्यो । वर्षाका समयमा यस्ता काम रोकिने र हिउँद लागेपछि गरिने भन्दै अएको पाइएको छ । बाउन्ड्री ग्रुपको बैठक पनि बेलाबेलामा बस्दै आएको छ । 

नेपाल–भारत सीमाको कुल लम्बाइ १ हजार ८८० किलोमिटर छ । पूर्वको ताप्लेजुङ झिन्साङ चुलीबाट सुरु भएको नेपालको दक्षिणतर्फको सीमा पहिलेदेखिको अभिलेखमा सुदूरपश्चिमको दार्चुलाको लिपीयाधुरामा पुगेर टुंगिन्छ तर त्यसो भनिए पनि नेपालले कालापानी र लिपुलेक पनि उपभोग गरेको देखिँदैन । सार्क देशका यातायातका साधनहरू यात्रु सुविधाका लागि देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका खण्डमा नेपालको पहिचान बढेर जने कुरा निर्विवाद छ । 


Views: 229

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)