15th August | 2020 | Saturday | 6:34:33 PM

इमरान खानको राजनीतिक इनिङ

श्रीमन नारायण   POSTED ON : श्रावण १८, २०७५ (१२:०६ PM)

इमरान खानको राजनीतिक इनिङ

इस्लामिक गणतन्त्र पाकिस्तानमा भएको निर्वाचनमा त्यहाँका चर्चित क्रिकेट खेलाडी इमरान खान नियाजी नेतृत्वको तहरिक–ए–इन्साफ पार्टीले सरकार बनाउने जनादेश हासिल गरेको छ । पाकिस्तानलाई सन् १९९२ को क्रिकेट विश्वकप जिताउने टिमको क्याप्टेन रही सकेका इमरान खानले आफ्नोे अदभूत खेल क्षमताका कारण पाकिस्तानी जनतामा अत्यधिक लोकप्रियता हासिल गरेका थिए । उनको यो लोकप्रियता राजनीतिमा पदार्पण गर्दा पनि युवाहरूमा कायम नै थियो तर सर्वसाधारण पाकिस्तानी जनताको समर्थन हासिल गर्न उनले दुई दशकभन्दा पनि लामो समयसम्म पर्खनु प¥यो । पाकिस्तानको संसद नेसनल एकडेमीमा आवश्यक बहुमत हासिल नभए पनि इमरान खानले सरकारको नेतृत्व गर्न सक्षम हुनेछन् । 

आउँदो साता देशको प्रधानमन्त्रीको रूपमा उनी शपथग्रहण लिनेछन् । इमरान खानलाई पाकिस्तानी राजनीतिको सर्वाधिक शक्तिशाली संस्था सेना, सेनाको गुप्तचर संगठन आईएसआई तथा धार्मिक संगठनको सहयोग र समर्थन प्राप्त रहेको पाइन्छ । उपरोक्त दुईको समर्थनबिना त्यहाँ कुनै पनि सरकार राम्ररी चलन सक्दैन तर उपरोक्त दुई संस्थाको समर्थन पनि स्थायी हुने गर्दैन । पाकिस्तानका दुई अन्य प्रमुख राजनीतिक दल पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पिएमएल (एन) तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीको सशक्त विरोधका कारण इमरान खानको सत्ता यात्रा सहज र सरल हुने छैन । 

छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काम गर्ने शैलीलाई चुनाव प्रचारका दौरान व्यापक प्रशंसा गरेका इमरान खानले पाकिस्तानमा पनि मोदी जस्तै शासन गर्ने इच्छा राखेका छन् । तर, विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतका प्रधानमन्त्री र सैन्य शासनको लामो पृष्ठभूमि बोकेको पाकिस्तानका प्रधानमन्त्रीले काम गर्ने तरिका, स्वतन्त्रता, आम जनता तथा राजनीतिक दलसँगको सम्बन्ध पनि धेरै फरक रहेको पाइन्छ । 

तसर्थ पाकिस्तानका नयाँ प्रधानमन्त्रीसामु थुप्रै चुनौती रहने निश्चित छ । दक्षिण एसियाका अन्य देशहरूमाभन्दा बढी पाकिस्तानमा भारतको विरोध गर्ने राजनीतिक पार्टीले चुनावमा बढी सफलता हासिल गर्ने गर्दछ । चुनाव प्रचारका दौरान इमरान खानले आफूलाई भारत र अमेरिकाको विरोधीको छवि बनाएका थिए । उनले भ्रष्टाचारसँग सम्झौता नगर्ने घोषणा पनि गरेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफले प्रधानमन्त्रीको पदको शपथ लिएको तीन महिना पनि बित्न नपाउँदै उनको सरकारको विरोधमा सडक आन्दोलनको उद्घोष गरेका थिए । 

गएको पाँच वर्षमा उनले सरकारको विरोधमा आन्दोलन गरिरहे । उनी सरकार विरोधी आन्दोलनबाट अघि बढे । अब उनी स्वयम् सरकारको नेतृत्व गर्ने अवस्थामा पुगिसकेका छन् । जब कि आन्दोलन गर्ने पालो विपक्षी दलहरूको हो । उनले पनि सुरुदेखि नै विरोध र आन्दोलनको सामना गर्नुपर्ने हुनक्छ । चुनाव परिणामको घोषणा भए लगत्तै त्यहाँका प्रमुख विपक्षी पार्टीहरू पाकिस्तान मुस्लिम लिग (नवाज) पाकिस्तान पिपुल्स पार्टी तथा जमियत उलेमा ए इस्लाम पार्टीसमेतले निर्वाचनमा धाँधली भएको आरोप लगाउदै नयाँ निर्वाचनको माग राख्दै आन्दोलनको उद्घोष गरेका छन् । उनीहरूले सजिलै सरकार चल्न नदिने संकेत गरिसकेका छन् । मोलाना फजलुरहमानले त निर्वाचन नभई यो मनोनयन भएको आरोप लगाएका छन् । जमिअत उलेमा ए इस्लामका अध्यक्ष मौलाना फजलुरहमानको पार्टीलाई पाकिस्तानमा धार्मिक पार्टीको संज्ञा दिइएको छ । 

तर, उनी निकै लोकप्रिय नेता हुन् तथा विगत लामो समयदेखि त्यहाँको संसद नेसनल एसेम्लीमा उनको पार्टीको प्रतिनिधित्व निरन्तर रूपमा भइरहेको छ । पाकिस्तानका राजनीतिक विश्लेषकहरूका अनुसार इमरान खानलाई निर्वाचनमा विजयी गराउन त्यहाँको सेनाले ठूलो भूमिका खेलेको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ तथा उनका पारिवारिक सदस्यलाई हिरासतमा नराखिएको भए यसपालिको निर्वाचनमा पनि नवाज शरिफको पार्टी नै विजयी हुने थियो । नवाज सरिफलाई पाकिस्तानमा लोकतन्त्रवादी नेताको रूपमा चिनिन्छ । शरिफको पार्टीले पनि निर्वाचन परिणामा असन्तुष्टि जनाएको छ । 

शुरुमा सरिफ पनि सेनाकै सहयोग एवं समर्थनबाट सत्तामा आएका थिए तर पाकिस्तानमा सेनाको सर्वाधिक विरोध गर्ने नेताको रूपमा उनकै नाम आउँछ । पाकिस्तानको संविधानमा आठौं संशोधन गरेर उनले सेनाको अधिकारमा कटौती गर्ने काम गरेका थिए भने लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने काम पनि गरेका थिए । पूर्वसैनिक परवेज मुशरफसँगको उनको द्वन्द्व जगजाहेर छ । 

निर्वाचन परिणामको विरोधमा मुताहिदा मजलिसे अमल (एमएमए), अवामी नेसनल पार्टी, कौमी वतन पार्टीहरू पनि सडकमा उत्रिएका छन् । देशका राजनीतिक दलहरूको चर्को विरोध झेलिरहेका इमरान खानमाथि देशको शक्तिशाली सेनाको डमी भएको आरोप लागिरहेको छ । पाकिस्तानी जनताबाट वैध नेताको हैसियत पाउने प्रधानमन्त्रको रूपमा उनीसामु प्रमुख चुनौती हुनेछ शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र देशको कुल जनसंख्याको ६४ प्रतिशत रहेका युवाहरूलाई रोजगारी उपलब्ध गराउनु ।

त्यसबाहेक भ्रष्टाचार जरैदेखि निर्मुल गर्ने उनको प्रतिबद्धता छ । निर्वाचन परिणाम घोषणा भएलगत्तै उनले पाकिस्तानी जनताप्रति आभार प्रकट गर्दै चुनावका बेलामा आफूले व्यक्त गरेको प्रतिबद्धतालाई धरातलमा उतार्न हरसम्भव प्रयास गर्ने विश्वास दिलाउने प्रयास गरेका छन् । तर, चरम आर्थिक संकट भोगिरहेको पाकिस्तानसामु आर्थिक अवस्थामा सुधार ल्याउनु निकै कठिन चुनौती हुनेछ । वैदेशिक ऋण दिनहुँ बढिरहेको छ र पाकिस्तानी मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । 

पाकिस्तानले आफ्नो जिडिपीको झन्डै ५० प्रतिशत ऋण चुक्ता गर्नमा नै लागेको देखिन्छ । वर्तमान अवस्थामा चीनसँग मात्रै उसको घनिष्ट मित्रता रहेको देखिन्छ तर चीन आर्थिक सहायताभन्दा पनि लगानीलाई बढी महŒव दिने गर्दछ । चिनियाँ लगानीले कुनै पनि देशको आर्थिक स्थितिमा सुधार आउँन सक्दैन । एशियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष युरोपेली संघ, जापान तथा अमेरिका एवम् भारत लगायतका देशहरूले दिने गरेको आर्थिक सहायताबाट कुनै पनि देशको आर्थिक स्थितिमा परिवर्तन आउँन सक्दछ तर चिनियाँ लगानीको सम्पूर्ण लाभ चीनलाई नै हुने गर्दछ । विपक्षीको विरोधका बीच अहिलेको पाकिस्तानलाई अघि बढाउन इमरानका लागि सजिलो छैन । 

लगानी भिœयाउने देशको काँधमा ऋणको भारी मात्रै थपिने गर्दछ । पाकिस्तानमा चिनियाँ लगानी धेरै मात्रामा भित्रिएको छ । वर्तमान अवस्थामा अमेरिका, युरोपेली तथा कतिपय अरब राष्ट्रहरू पनि हाल पाकिस्तानलाई आर्थिक सहायता दिन चाहिरहेका छैनन् । पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्सले पकिस्तानमाथि अन्तर्राष्ट्रिय अतिवादीलाई आर्थिक सहयोग जुटाएको आरोप लगाएको छ । निर्वाचनमा देशका अतिवादी समूहको साथ पाएका तथा सशस्त्र समूहलाई संरक्षण गरेको आरोप पनि इमरान खानमाथि लागेको छ । 

अन्तर्राष्ट्रिय समुदायले खोजबिन गरिरहेका इस्लामिक लडाकु नेताहरू इमरान खानको चुनाव प्रचारमा खुलेर लाग्नुले इमरान खानको छविमाथि पनि प्रश्न चिहृन खडा गरेको छ । तथापि बौद्धिक व्यक्तित्वका इमरान खानले पश्चिमेली जगत र अमेरिकाको विश्वास जित्न हरसम्भव प्रयास गर्ने गर्नेछन् भन्ने अनुमान गरिँदैछ ।

इमरान खानले आफूले छिमेकी राष्ट्र भारतसितको सम्बन्धमा पनि सुधार ल्याउन चाहेको भन्दै मित्रताको निम्तोका लागि भारतले एक पाइलो चाले आफू दुई पाइला चाल्ने घोषणा गरेका छन् तर पाइला कसले पहिले चाल्ने भन्ने कुरा उनले प्रष्ट पार्न सकेनन् । भारतसँगको दुई पक्षीय सम्बन्धलाई सामान्य बनाउन भारतले राखेको शर्तलाई पाकिस्तानले नमानुन्जेलसम्म दुई देशको सम्बन्ध सामान्य अवस्थामा पुग्न सक्दैन । इमरान खानले भारतको कश्मिरलाई नै दुवै देशको सम्बन्ध सुधारको निम्ति प्रमुख समस्या बताएका छन् तर भारतले भने यस विषयमा कुरै हुन नसक्ने तर्क राख्दै आएको छ । 

यसलाई पाकिस्तानले स्वतन्त्रताको आन्दोलन भनेर आफ्नो नैतिक एंव सबै खाले समर्थन गर्दै आएको छ त्यसलाई भारतले आंतकवादको संज्ञा दिएको छ । यस्तो अवस्थामा दुवै देशबीचको सम्बन्ध सामान्य अवस्थामा फर्किन सहज छैन । इमरान खानले आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्रीलाई निम्तो पनि दिएका छन् तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँ सहभागी हुने सम्भावना साह्रै न्यून छ । यी दुई देशबीचको सम्बन्ध दक्षिण एशियाको निम्ति पनि आवश्यक छ । इमारानले भारतसँगको सम्बन्ध सुधार गर्न सके भने उनकै लागि पनि निकै ठूलो उपलव्धि हुनेछ । 

पाकिस्तानले कश्मिर नीतिमा परिवर्तन ल्याएमा मात्रै यो सम्भव हुन सक्छ तर यसको सम्भावना देखिँदैन । इमरान खान स्वयं पनि हठी स्वभावका मानिन्छन् । धेरै लामो समयसम्म उनी सेनाको चाहनाअनुसार शासन गर्न रुचाउने छैनन् तथा जुन दिन उनी आफू खुशी काम गर्न चाहनेछन् त्यसै दिनदेखि उनको पतनको थालनी हुन सक्नेछ । इमरान खान सामु धेरै चुनौती छन् । उनले आफ्ना चुनौतीहरू राम्ररी चिनेका छन् । चुनौती सामना गर्न उनी क्रिकेटमा जस्तै सफल भए पनि प्रधानमन्त्रीका रूपमा राजनीतिक इनिङ अघि बढ्नेछ ।

Views: 147

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)