5th December | 2020 | Saturday | 10:56:53 AM

कथा – म पनि उसको स्पर्शदेखि लालायित थिएँ

मुना दाहाल   POSTED ON : भदौ १६, २०७५ (४:२० PM)

कथा – म पनि उसको स्पर्शदेखि लालायित थिएँ


हैन ! किन यसरी लेपस्या होला ? एकछिन भाउजु नभै बस्नै नसक्ने जसरी, दिक्कै लागिसक्योे ।


जुकाले रगतको गन्ध भेटेर टाँसिया जस्तो टाँसिया टास्सै ! यसरी टाँसिइरहनु पनि त पर्दैन होला नि ! जतिखेरै जुनबेलै अझ यो बुढेसकालमा आएर त.... 

कति साह्रो हो ? उमेर र जवान हुँदा सम्म त ल ठिकै हो, तर अब त नाति–नातिनाको पनि लौ ! भने बिहे गर्ने बेला पो भइसकेको छ । लाज मर्दो ।

अझै पनि आँखाको ओझेल नै पर्नै नदिई कतिखेरै नछोडी ‘जुनु–जुनु’ मात्रै कति बोलाउन सक्या हुन यी सान्दाजूले हअँ ।

भन्ने बेलामा ‘बा आमालाई मैले यो बहिनीलाई जसरी अहिले हजुरहरूले राख्नु भा छ, त्यो भन्दा खुशी पारेर राख्ने छु । यसको चित्त दुखाउने काम कहिल्यै गर्नेछैन । यसको खुसीमै हाम्रो खुशी लुकेको हुनेछ ’ भनेर खुब ठुल्ठुला आदर्शका बखान सुनाउथे । अहिले भने..... 

बा बित्नुभएको बेलाको त त्यति हेक्का छैन । जम्मा छ महिना पुगेर सात महिना टेकेकी मात्रै थिएँ रे, बा बित्नु भएको सात बर्ष पछि आमाले पनि मलाई यिनै सान्दाजू र ठुल्दाजूको जिम्मा लगाएर जानुभयो ।

त्यो बेला आमाले हस्पिटलको बेडबाटै सान्बाबु अब “म पनि धेरै बाँच्दिन होला“ भनेको वचन त मेरा यी कानमा अझै गुन्जिरहेका छन् नी ।

मेरो उमेरै के नै थियो र ? त्यति सानी बच्चा बेलामा अरू बच्चाहरूको जस्तो शारीरिक तन्दुरुस्ति थिएन । कुपोषणले गर्दा हो की सुकेनाश लागे जस्तो ख्याउटे र मरन्च्याँसे थिएँ । म मेरै उमेरका दौतरीहरू भन्दा धेरै कमजोर थिएँ ।

त्यो बेलाको शारीरिक अवस्थालाई हेरेर, सायद कमजोरी देखेर होला, आमाले यसको बिहे नगरी आफैसँग राख है भन्नु भाको । आमाले तिमीहरूले लौ मसँग वाचा गरिदेऊ मेरो अन्तिम ईच्छा यति नै हो यो ईच्छा (पूरा)पूर्ण गर्दिन्छौ नि छोरा हो ! भनेर बाचा नगराएको भए मेरो पनि आफ्नै दूनिँया हुन्थ्यो, भन्दै कराई रहन्थिन फूलमाया दिदी । प्राय सधै यस्तै यस्तै कहानी गरिरहन्थिन विचरी ।

केही क्षणका लागि अलिक मथ्थर भएपनि एकछिन पछि फेरि भुत्भुताऊन थाल्दथिन् ।

भुत्भुताऊनु अरूलाई दोषारोपण गर्नु तिल जत्रो कुरोलाई पहाड बनाउनु फूलमाया दिदीको दिनाचर्या नै जस्तै हो भन्दा फरक पनि पर्दैन थ्यो होला।

एक दिन भन्दै थिइन...........

हुन त यो सब दोष तिनै मेरा बा आमाको हो ।

उति बेला वाचा मागेर यो बहिनी रोगी छे । यसको बिहे नगरी आफुसंगै राख्नु है नभन्या भए अहिले मैले यो उमेरमा पनि यी.... यसरी यिनका सुसारे भएर त बस्नु पर्दैनथ्यो । मेरो पनि आफ्नै घर हुन्थ्यो लालाबाला हुन्थे, सुख दुःख बाढ्ने जीवनसाथी हुन्थ्यो । यो बुढेसकालमा नातिनातिना खेलाएर बस्थे होला ? मेरो भाग्य खोसिदिने नै मेरा बा आमा पहिलो नम्बरका दोषी हुन् । अनि यिनै दाजुहरु र भाउजुहरू नै हुन् ।

यिनहरूलाई मेरो पाप लाग्छ पाप लाग्छ भन्दै कहिले काँही रून्थिन पनि विचरी फूलमाया दिदी ! सबै कि फूलमाया दिदी ।

उनी जसकी पनि फुलमाया दिदी, साच्चै भन्नु पर्दा उनि सार्वजनिक फूलमाया दिदी हुन् । उमेरले सानो नाति नातिनी जस्तो होस कि उनीभन्दा अझै पाको उमेरको, घरमा आउने जाने जो कोही कि पनि उनि थिइन्, ‘फूलमाया दिदी ।’

सबैले एउटै साइनो लगाउँछन ्। मायाले होस् वा रिसले जे जसरी होस् सबै कि फुलमाया.... दिदी । अनि साँच्चै फूल जस्तै थिइन फूलमाया दिदी ।

तर आज यी फूलमाया दिदी अरूबेला भन्दा अलिक चाडै नै उठेकी थिईन् । बिहान चाडै नउठ्दा कामधन्दा नभ्याउने जस्तो देखेर होला बिहान तिनै बजे उठिन् । 

७४ बर्षे बृद्ध भैसकेको शरीर सखारैको उठाई कति कठिन छ । यिनलाई कसैले भन्नै पर्दैन । त्यसै त यिनी बालखैमा टुहुरी बनेकीले बाबाको छत्रछायाँ र आमाको वात्सल्य प्रेमबाट बञ्चित यिनी सानै उमेर देखि नै शारीरिक रुपले कमजोर थिइन रे ।

बच्चामा आमाको प्रेमिल हातका खाना र स्तनपानबाटै बन्चित भएरै हो की खै के को कारणले हो । यिनी हिड्दा हिड्दै बाटोमै कतिपटक लडेकी छिन् त्यसको त हिसाबै छैन ।

कहिले तल कहिले माथि ओहोर दोहोर गर्या गर्यै । आज किन हो कुन्नी ? कामसंगै मुख नि चलाउदै फत्फताएको धेरै बेर देखि लागिरहेको थियो । 

भन्दै थिइन्– मलाई ठीक बेठीक के कस्तो छ भनेर ? तैले खाइस खाइनस् भनेर कसैले सोध्ने हैनन् । 

के.... के हो, के के फलाक्या फलाक्कै थिइन् । 

हुन त यिनको सधैको कचकचे बानी नै हो । तैपनि आज एकाबिहानै देखि फलाकेको देखेर म फूलमाया दिदीलाई के भयो  दिदी ? भनेर सोध्न पुगेछु । तपाईलाई ठीक त छ नि ? भन्दै मैले केहि नसुने झैं गरी उनलाई केही हदसम्म भए पनि त्यो लट्टे पड्केको जस्तो आवाज केही मथ्थर होला कि भन्ठानेर उनको कुरा बुझ्न खोजे । 

फूलमाया दिदी मान्छे अलिक कडा स्वभाब कि भएपनि मन भने त्यति कडा होइन कमलो नै छ । भन्छन् नि ‘मुख हुनेले मुलुक हाँक्छ ।’ सायद यस्तै होला ।

यिनले पनि मुखकै भरमा मुलुक र अर्थात् काठमाडौका तीनवटा जिल्ला मध्ये दूइ वटालाई त हाँकेकै जस्ति थिइन् । यिनी जोशी (नेवारी समुदायको पुरोहित अथवा बाहुन)को छोरी बिर्तावाल हजुरबा कि नातिनी न जो परिछन् ।

बा पञ्चायतकालका प्रधानपञ्च तीन–तीन पटक भै सकेकाकी छोरी, लरतरो मान्छेलाई उनले मान्छे नै गन्दैन थिइन् ।

मैले अलिक सानो मसिनो दबिएको आवाज निकालेर डराएको भावमा सोधे । दिदी हजुरलाई साच्चै ठीक त छ नि ?

अरूबेला चर्को, रूखो, नमिठो टिमुर चपाएर मुखै टर्याएको जस्तो गरी जवाफ फर्काउने उनी आज भने ‘तिमी एकैछिन मसंग आउन है’ भनि उनको कोठातिर मलाई जबरजस्ती नै बोलाउदै लगिन । मलाई अप्ठ्यारो लाग्दालाग्दै भनौ मेरा पैताला अघि सर्न गाह्रो मान्दामान्दै र त्यसै किन हो किन भारी हुँदाहुँदै पनि उनको पछि पछि गए । 

ढोकाको चाबी  खोलिन र भित्र छिर्दै मलाई उनले एक कुनामा राखिएको पुरानो डिजाइनको कुर्सीमा बस्न भन्ने संकेत गरिन ।

अरूको घर कोठामा जान मलाई त्यति सहज लाग्दैनथ्यो । यिनले पनि हत्तपत्त कसैलाई आग्रह गरी आफ्नो कोठामा लैजाने स्वभाबकी पनि हैनन् । तर आज एक्कासी किन हो मलाई लिएर गइन्।

कोठाका भित्तातिर नियाल्दै हेरेँ फुलमाया दिदीका धेरै तस्बिरहरू देखे । तस्वीर धेरै पुराना भएपनि बैशमा स्याल पनि घोर्ले हुन्छ भने झै यौवन बेलामा उनि पनि निक्कै राम्री रहिछिन् ।

फुलमाया दिदीको १७–१८ उमेरका देखिने ती सादा फोटोहरु पनि अहिलेको डिजिटल र कृतिम फोटोहरु भन्दा कम्ति सुन्दर थिएनन् ।


आहा ! कति राम्री? ‘कसको फोटो हो दिदी’  मैले उनको हो भन्ने जान्दा जान्दै पनि उनलाई फुर्क्याउँदै सोधि दिए । 

नभन्दै भनि हालिन मेरै हो नि तिमीले पनि चिनिनौ र ?

हेर न, मलाई यो फोटोमा भन्दा पनि अझै राम्री छेस् तँ त ‘फुलु’ भन्थे मेरा साथीहरु । चाउरी परेका गाला मुसार्दै मस्किदै भनिन् । 

दिदी हजुर अहिले यो उमेरमा त यति राम्री देखिनु भाको छ । झन् बैशमा त कति राम्री हुनुहुन्थ्यो होला है ? तर हजुरले किन बिहे नगर्नु भाको ? हजुरलाई विवाहको कुनै प्रस्तावहरू नआएरै हो त? 

  मैले सोध्न नपाउँदै दिदी, भन्न थालिहालिन........

हाम्रो पुर्खौली घरै काठमाडौ हो । हामी जोशी बाहुनहरु बिर्ता पाएर टन्न नोकरचाकर राखेर बस्या हौं । हामी पाँचजना छोराछोरीहरुमा दुई छोरा तीन छोरीहरू सबैलाई बा ले पाठशाला पठाउनु नै भएको हो। सबैले राम्ररी नै विद्यालय गएर पढेका र विए पास गरेका पनि छौं। 

जेठीदिदीले अलि पढ्न अल्छि गरेकाले र उमेर पनि १९ वर्ष भै सकेकाले दिदीलाई बिहेगरी दिएको । अहिले पनि भिनाजूले पनि दिदीको असाध्यै ख्याल गर्छन् । बरू बा आमालाई वास्ता गर्दैनन् तर दिदीको वचन हार्दैनन्।

ठूलो दाजूले पनि बिए पास गरी अधिकृतस्तरको नियुक्त लिदै विराटनगर तिरै सरुवा भै ठुल्दाजूका स–परिवारै उतै गैहाले । यता माहिली दिदीको लागि केटाहरूको कुरा चल्यो तीन महिना पछि उसको पनि विहे भयो । दिदीको घर भक्तपुर भिनाजु जिल्ला प्रशासन कार्यालयको सिडिओ राम्रै जागिर भयो। माहिली दिदीको काका ससुराको छोरो जितलाल सायद मेरै उमेरको हुदोँ होला, उसले मेरी दिदीलाई पुर्याउने निहुँमा बारम्बार आइरहन्थ्यो । मसंग बोल्न र भेट्न धेरै पटक हाम्रो घर आउथ्यो ।

त्यति खेर सम्ममा मेरो उमेर पनि कसैको माया र स्पर्शको अनुभूत गर्ने नभएको त कहाँ हो र लाटी ? तर मेरो मनमा तँ रोगी छेस तेरो कारणले कसैको जीवन वर्वाद हुन्छ तैले विवाह गरेर कसैको प्रेमको अपेक्षा राख्नु नै तेरो ठूलो भुल हुनेछ । महापापै लाग्ला जस्तो नकारात्मक सोचाइले मेरो मगज भरिपूर्ण पारिदिएका थिए । मन हुँदा हुँदै मैले विहे गर्छ भन्न सकिन ।

मैले पनि जितलालको त्यो बारम्बार आउनुको कारण हेराइ, बोलाइ र मिठो मायाको अवमूल्यन गर्न खोज्या त थिइ न नि । मलाई पनि उसको स्पर्शको लोभ कहाँ नलागेका थियो र ? तर मेरो दाजुले कहिल्यै मेरो मनको चाहना र भावनालाई बुझ्ने चेष्टा कहिल्यै गरेनन् ।

आफूले बिवाह गर्नु भन्दा अगाडि मेरो सानो सानो खुशीमा ख्याल गर्ने मेरो सान्दाजु जब आफ्नो विबाह गरे आफूभन्दा लगभग पच्चिस बर्षे कान्छी मेरी भाउजु म भन्दा पनि दश बर्षले कान्छी । झट्ट हेर्दा कुनै दन्त्यकथाकी अप्सराभन्दा कम लाग्दैनथिन्। त्यसैले होला मेरा दाजू सधै लट्ठिन्थे। मीठो सुमधुर कोइलीको जस्तो बोली, आदर सत्कार गर्ने तरिका पनि पर्वतेहरूले झै गर्थिन्। सुरूसुरूमा त मलाई भाउजुले साइनो लगाएर बोलाउनै अप्ठारो मान्ने । सायद आफूभन्दा ठुली मलाई देखेर होला। म भने भाऊजु भाउजु मात्रै भनि रहन्थे । तर मैले केहि काम गर्न नजान्ने अबोध शिशु जस्ती मेरी सानी भाउजुलाई हाम्रो तिरको रीतिरिवाज संस्कार र संस्कृतिको हाम्रोसंग बुझाउँदै लगे र मैले सिकाएका हरेक कुराहरूलाई मान्दै र गर्दै जानुभयो । तर भाउजू पनि दिनानुदिन बढ्दै र जान्दै अनि हाम्रो रीतिरिवाजमा धेरै भिज्दै भएपछि भने मलाई कुनै कुराको पनि जानकारी नै नदिई मेरो पीठ पछाडि त उल्टै दाजुलाई नाना भाँति चाहिँदा नचाहिँदा कुरा सुनाएर सानो सानो कुरामा पनि टोकस्न थालिन् ।

सान्दाजू पनि सही र गलत नछुट्याई कसको गल्ति के हो केही बिचार र विवेक नपुर्याई मलाई नै दोष देखाउन थाले ।

हुन त नेपाली उखानै छ नि “छोरी पाल्नेले बुहारी सहदैन “तर यहाँ त ठीक उल्टो भै रहेछ । सायद म अविवाहित भएर होला । म अविवाहित भएर बस्नु के मेरो रहर हो र ? मलाई पनि कुनै सौख र सुविधा सम्पन्न पाएर बसेको हो र ? मेरा पनि व्यक्तिगत रहरहरू थिए । मेरा रहरहरूमा तुषारापात पारिदिई आफूहरू मात्रै रमाइरहे । के कसैले मलाई माया गर्नु र त्यो पाप हो ? मायाको बदला माया दिनु पनि अपराध हो ? तिमी नै भनन् मलाई जितलालले आफ्नो बनाउन खोज्नु चाहिँ पाप हो अनि मेरा सान्दाजुले जुनु भाउजुलाई एकै निमेश ओझेल पर्न नदिई लेपस्या लेपास्यै गर्नु चाहि के नि........?

जितलालले एक चोटी भने थ्यो, तिम्रो दाजुसँग हामी दुईको विवाहको कुरा गर,म तिमीलाई लिन अवश्य आउनेछु भनेर उसले मलाई वाचा गरेको थियो । मेरा दाजु भाउजुले उसको र मेरो भावनालाई कहिल्यै बुझिदिएनन् । कयौ पटक तिमीलाई अथाह प्रेम गर्छु भनेर मेरो सामुन्ने आफ्नो शिर निहुराएर मलाई तिम्रो हात थाम्न देऊ नभनेको पनि कहाँ हो र ?

मेरो भन्ने आँट आएन मनमा पहिल्लै विष जसरी घोलिदिएका थिए बा आमाका वाणीहरु र पटक पटक घच्घच्याई रहन्थे। केही समयपछि देखि भाउजुले बच्चा जन्माउन सुरू गरिन दुई दुई वर्षको अन्तरमा चार पटक सुत्केरी भै बस्न थालिन्। मलाई चाहिँ तिनको स्याहार सुसार गर्ने सुसारे धाईआमा बनाएर राखे ।

भाउजु आफू दाजुको जता जता सरुवा भयो उतै उतै हिड्नुपर्ने त्यही भएर पनि मेरो विहेको कुरो आयो भने बा आमाले नगरिदिनु है भनेका छन् भनि माग्न आउने जो कोहीलाई फर्काइदिन्थे।

मनमनै तथानाम गाली गर्दै सराप्थे र भन्थे मलाई पनि विहे गर्नुछ, तपाईहरूको जस्तै एक अर्कामा माया प्रेम भर्नुछ यो संसारमा मेरो कोखबाट तिमीहरूले जस्तै सन्तान जन्माउनु छ । कसैकी श्रीमती, भाउजु, माइजु, आमा, हजुरआमा बन्नुछ । भन्दै जोड जोडले चिच्याउथे रून्थे तर यो मनको आवाज ती स्वार्थी मेरा दाजूहरूका कानमा कहिल्यै गुन्जिएन । न त आफूले यो संसारमा हामी पाँचजना सन्तान जन्माएर यहि धर्तीको भरोसामा छोडेर जाने निर्दयी बा आमाकै मनमा आयो । हो आज म नितान्त एक्लो छु । त्यसैले म जहिले रुष्ट हुन्छु र गुम्सिएका मेरा भावनाहरुलाई यी यसरी नै गन्गनाएरै साम्य पार्छु ।

भन्दै फत्फताउँदै थिइन फूलमाया दिदी म भने बाहिर निस्किए ।


Views: 455