नगर्जिएका मेघहरुले झन् त्यसै तर्साउँदैछन्
हरियाली बनाउनमा तल्लिन देखिन्छन् ।
यी मेघहरु मेरा, उनका र उस्का चिरपरिचित हुन ।
यिनले कहिले हतास, कहिले निरास बनाउँदैछन्
उ र म, उनी र तिनीहरु
अनि
हामी सबै भित्र भित्रै डराउँदैछौँ
तर,
बाहिर अव्यक्त गर्ने अदम्य साहस बटुल्दैछौं ।
धर्ती फुटाएर आकाश जुटाएर, टुटाएर कहिले नरम, गरम, कहिले कडा चट्टान बनेको बन्यै छ ।
घाँटी ठड्याएर, मुन्टो उठाएर
यसो माथि माथि नियाल्दैछौं ।
कतै यी दृष्टि बन्धकी राख्नु पर्ने हुन कि त,
भन्दै धर्तीको धुलो सबै नै उडेर आकाशमै
कालो मुस्लो मडारिदैछ ।
आँखाको डिलसम्म आएका आँशुले झै
झर्न झर्न लागेको हो कि भन्दै
बादलहरूले ढाकेको आकाश हेर्छु ।
शुन्यताले छाप छोडेको देख्छु ।
मौन बसेको धर्तीभरि
छरपस्ट पार्दै गरेको बर्खाको भेललाई सम्झिन्छु ।
मन मुटु त्यसै त्यसै त्रसित र हतास बनिदिन्छन् ।
कयौ आफन्तहरू यही मुस्लो बनि उठ्दै र फुट्दै तछाड मछाड गर्दै कुदेका बादलहरुले यही धर्तीमा
बर्षेनी लुप्त बनाइदिएको छ ।
यहाँ कस्ता कस्ता पहलमान विशाल वैभव र शक्तिशालीहरु हुन या कुण्ठित र क्रुर मनहरु
यी सबैलाई
सँधैभरी भय र त्रासले डेरा जमाइदिएको छ ।
अहँ यो मनको डर कदापि हट्दैन ।
ऊ.... त्यो पर...
शदियौँ पुरानो बुढो बढेमानको वरपिपलका वृक्ष झैँ नडगमगाई स्थिर रहि शून्यतामा
त्यसै त्यसै विलिन गराउँछ कि भन्ने
आशंकाले मनभित्र दरै डेरा जमाएको छ ।
जसरी जंगली काँडा बिजेर खिल पल्टेर नझिक्न मिल्ने न त्यसै सन्चो हुने त्यसै गडेर बसेको छ ।
उस्तै दुरुस्तै गरि फसेको छ ।
माथि माथि आकाशमा हेर्छु ।
विछट्टै घोचेको छ मुटु, फेरि जोड जोडले धड्किदिन्छ र सासै अड्किन्छ ।
किन हो थाहा छ ?
प्रत्येक वर्षमा मेरा आफन्तहरु यही
कहिले कालो कहिले ध्वाँसे हुँदै उठेका
यिनै बादलसंगै बर्षिने
उ त्यो माथि डाँडामा देखिएका पहाडको टुप्पोदेखि मधेशका समथर घरहरु सबै खण्डहर बनाउँदै
बगरमा परिणत गरेर बगाएको दुई नेत्रले देखेकोछु ।
गोठ र ग्वालीबाट सोत्तर सोहोरे झैगरी बटुलेर वर्षै्पिच्छे मेरा आफ्ना आफन्तहरु सबै यही कालो मुस्लोले सोहोरेर लगेको देखेको छु ।
अहिले पनि यी मन मुटुहरू आत्तिदैछ ।
असार पन्ध्रको धान दिवसको दिनमा दही च्यूरासँगै सुरु भएको वर्षातको त्यो अन्धाधुन्धले झरेका आकाशको बाटोबाट आएको साउनले भेल
यी दुवै नै मेरा लागि डरको बढेमानको पोको बोकेर आउने हुन् ।
हिमालपारीका दोर्जे र पासाड़ दाजु दिदीहरूका घर हिऊँ पग्लेर बस्नेठाँऊ छैन ।
पहाडमा हरिकृष्ण काका, ओखरबारे मावली र मानेभन्ज्याड़को फूपुको घरखेत पहिरोले लगेछ
बास गाँस र कपासका लागि माइतिघर मण्डलामा धर्ना दिदैछन् ।
राजधानीबासीहरु उसैगरी कुर्लिएकाछन् ।
सरकारको असारेखेती सुरु भएकोछ ।
अलि अलि सद्दे सडक पनि भत्काउने सिजन चलेकोछ ।
खोलो जस्तै र पोखरी भै जमेको पानीमाथि कालोपत्रे अलकत्रा छरेको छ ।
भैंसेपाटी ललितपुर ।
Views: 1248