भलाकुसारी कूटनीतिज्ञसँग

विनोद दाहाल   POSTED ON : मंसिर २८, २०७६ (११:११ AM)

भलाकुसारी कूटनीतिज्ञसँग

हालका दिनहरूमा नेपालको कूटनीतिक विचलन गहिरिँदै गएको हो कि जस्तो देखिन्छ । केही पहिले हाम्रो छिमेकी देश भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेतलाई समेटी आफ्नो नक्सामा हालेर नयाँ नक्सा जारी गरेको छ । यसपछि नेपालमा यसको विभिन्न तह र तप्कामा विरोधका स्वर उठिरहेका छन् । क्रिया र प्रतिक्रिया पनि अभिव्यक्त भइरहेका छन् । सरकारको तदारुकता भने सोअनुसारको नपाइएको हो कि जस्तो देखिएको छ । 

सन्दर्भअनुसारको अन्तरंग नायक चाहिएको थियो मलाई । यही मेसोमा कूटनीतिज्ञ दिनेश भट्टराई मेरो नजरमा पर्न आए । मेरा त्यता डोहोरिएका पाइलाले मलाई उनको धुम्बाराही घरसम्म पु¥याए । साथमा थिए उनका दाजु रारायण भट्टराई । हामी त्यहाँ गफिन थाल्यौँ, उनका परिवारका सदस्यहरू श्रोता बने । 

उनी कमर्सका विद्यार्थी रहेछन् । वनारस हिन्दू विश्वविद्यालयबाट उनले बिकम गरे । उनको समूहमा उनले प्रथम गरे । भारतको चर्चित पत्रिका ‘आज’ मा उनको फोटोसमेत यो खबर छापियो । विश्वेश्वरप्रसाद कोइरालाले उनलाई भेटे र स्यावासी दिए । यसबाट उनको हौसला बढ्यो । एमपिए भने उनले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट गरेका हुन् । 

यहाँसम्म आउँदासम्म पनि उनको पढाइले उनलाई कूटनीतिक बाटो हिँडाएको थिएन । उनले नेदरल्याण्डबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास विषयमा पोष्ट ग्य्राजुएट गरे अनि उनको पढाइ यही मार्गमा लक्षित भयो । यसपछि उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरे जसको विषय थियो ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ । २०३९ सालमा उनले शाखा अधिकृतबाट जागिरमा प्रवेश गरे । परराष्ट्र सेवाको शाखा अधिकृत आकर्षक मानिन्थ्यो, त्यसैमा प्रवेश पाए उनले । 

उनले भारत, संयुक्त राज्य अमेरिका र स्विट्जरल्याण्डमा प्रथम सचिव भएर बस्ने मौका पाए । चौध महिनासम्म त उनले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि वा राजदूत भएर सेवा गर्ने मौका पनि पाए । यी विभिन्न कालावधिमा उनले कूटनीतिलाई राम्ररी बुझ्ने मौका पाए । नेपाली कूटनीतिको नजिकमा बसेर निरीक्षण पनि गरे । 

कूटनीतिका यिनै विज्ञलाई मैले ‘कूटनीति भनेको के हो’ भनेर प्रश्न गरेँ । यो मेरो ठाडो प्रश्न राजनीतिशास्त्रको मास्टरले विद्यार्थीलाई सोधेजस्तो थियो तर उनले शालीन र शान्त ढंगले यसलाई यसरी अथ्र्याए– परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने एउटा नीति हो कूटनीति ।

दुई देशबीचको सम्बन्धको व्यवस्थापन र कार्यान्वयनको सीप वा कला हो रे उनको विचारमा कूटनीति । 

कूटनीतिको परम्रागत परिभाषा अलिक फरक छ– छलकपट, षड्यन्त्र जालझेलपूर्ण नीति । हाल यसको परिभाषा फेरिएको हो कि मेरो शंसय थियो यो । उनी ‘होइन’ भन्छन् । अहिले पनि यसको रूपमात्रै फेरिएको हो परिभाषा फेरिएको होइन । उनी भन्छन्, ‘गोलमटोल गरेर अरूलाई धोका दिनु पनि कूटनीति नै हो, यो हाल पनि विद्यमान छ । परिभाषा फेरिएको होइन’ उनी भन्छन् । कूटनीति भनेको आशावादी कुरा पनि हो उनको बुझाइमा । 

लडाइँबाट समेत समाधान ननिस्किएका कुरा कूटनीतिबाट सम्भव भएका छन् । पहिलो र दोस्रो विश्वयुद्धको उदाहरण दिन्छन् उनी । युद्धबाट ननिस्किएको समाधान एट्लान्टिक चार्टरबाट निस्किएको थियो । आर्थिकशक्ति र सैनिकशक्तिबाट पनि कूटनीतिक प्रभाव पार्ने गरिएको छ भन्ने यस्ता कैयौं दृष्टान्त छन् उनीसँग । 

आर्थिक सहयोग गरेको जस्तो गरेर गरिब मुलुकहरूलाई प्रभाव पार्ने धनी मुलुक र सैनिक सहयोग गरेर कमजोर मुलुकहरूलाई प्रभाव पर्ने शक्तिशाली मुलुकहरूको कूटनीति रहेको हुन्छ । हाम्रो कूटनीति यी दुवैभन्दा भिन्न छ भन्छन् उनी । उनको बुझाइमा अर्कालाई मनाएर, फकाएर ‘हामीलाई यति सहयोग ग¥यौँ र हाम्रो देशको विकास भयो भने तिमीहरूलाई यति फाइदा हुन्छ नि त’ भन्ने खालको फकाउने कूटनीति हो । सैनिक वा आर्थिक दुवै खालको प्रभाव पार्ने कूटनीति होइन हाम्रो । यो सामथ्र्य हामीसँग छैन भन्छन् डा. भट्टराई । 

उनको बुझाइमा हाम्रो कूटनीति निकै कमजोर छ । समय बदलियो, कूटनीतिको पनि रूपान्तरण भयो । प्रविधि र सञ्चारको विकास भयो । विज्ञान, जनचेतना आदिले यसमा प्रभाव पा¥यो । अब कुनै पनि सूचना छिप्दैन, लुक्दैन । यिनै कारणले उग्र राजनीति पनि भएको छ तर सारमा यसमा परिवर्तन हुँदैन, कूटनीति उस्तै रहन्छ । कूटनीतिका आयामहरू निश्चय नै थपिएका छन् । त्यसैले हामी त्यहीअनुसार तयार हुनुपर्छ भन्ने ठान्छन् डा. दिनेश भट्टराई । 

हामी सानो र कमजोर त छौँ तर हामी कमजोर भएका पनि हामीले आफ्नो काम नगरेरै हो उनी ठोकुवा गर्छन् । उच्च रणनीतिक महŒव र स्रोतसाधनले गर्दा छिमेकी र अरू शक्तिको पनि आँखा हामीमा गडेको उनले देखेका छन् । ‘हामीले हाम्रो भूराजनीतिक संरक्षण गर्न सकेनौँ भने निश्चय नै अप्ठ्यारा दिन आउन सक्छन्’, उनी भन्छन् । विश्वको जनसंख्याको एकतिहाइ जनसंख्याको बजारका बीच हामी तीन करोड मानिस बसेका छौँ । यसबाट हामी धेरै फाइदा लिन पनि सक्छौँ, विशेषगरी पर्यटन व्यवसायबाट भन्ने लाग्छ उनलाई । 

हाम्रा छिमेकीमा विश्वको शक्ति केन्द्रित भएको छ र त्यसको प्रभाव हामीलाई पनि परेको छ । त्यसको विश्लेषण गरी त्यसबाट फाइदा लिने काम हामीले गरेका छैनौँ । हामी त्यो कमजोरी हटाउन सक्छौँ तर स्रोतसाधन परिचालन र तालिम लिनसक्नुपर्छ भन्ने उनलाई लाग्छ । एक्काइसौं शताब्दिअनुसारको कूटनीति तयार हुनुपर्छ भन्ने ठान्छन् उनी । 

नेपाल भारतबीचको समस्या ६० वर्ष पहिलेदेखिको हो । भारत–चीन युद्धका बेलादेखिको हो यो मामला । तिनले हाम्रो भूमिलाई रणनीतिक स्थान बनाए, प्रयोग गरे । युद्ध सकिएपछि भारतले कालापानीमा उसका सेना राख्यो । तिब्बततिर निगरानी गर्न राखेको भन्यो । यो कसैले दिएर र सोधेर गरिएको काम होइन । नेपालले हटाउने प्रयास गरेन र भारतले आफैँ आफ्ना सेना फिर्ता गरेन । भएको यही हो । 

त्यसबेला नेपालका राजा महेन्द्र थिए । त्यसैले महेन्द्रले दिएको हो भन्ने गरिएको पनि छ । कूटनीतिज्ञ ऋषिकेश शाहलाई स्रोत मानेर भट्टराईले भने, ‘ऋषिकेशले राजालाई भारतीय सेना बसेको जानकारी गराएका थिए रे । राजाले हामीसँग भारत धेरै कुरामा चिडिएको छ, अहिले छोडिदिऔँ भनेका हुन् रे । यतिले गर्दा महेन्द्रले दिएको हो भन्न मिल्दैन । दिने–लिने कुनै आधिकारिक सम्झौता भएको होइन ।’ 

यहाँनेर हाम्रो कमजोरी भएको देख्छन् डा. भट्टराई । हाम्रो भौगोलिक अखण्डता खण्डित भएको छ, भारतले हाम्रो भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेको छ । हाम्रो सरकार प्रतिक्रियामात्र जनाइरहेको छ, यसको समाधानको आधिकारिक पहल भएको छैन । 

हो, हामीले भारतसँग राम्रो सम्बन्ध राख्नुपर्छ तर सम्मानसँग सम्झौता गर्नु हुँदैन । सप्रमाण वार्ता गर्नुपर्छ, उनीहरूलाई कुरो बुझाउनुपर्छ, हामीले कुरो बुझाउन सकेका छैनौँ । अहिलेको तालले त अविश्वासमात्र बढाउँछ भन्ने उनले देखेका छन् । पहिलेजस्तो अब नाका छेकेर निगरानी गर्नुपर्ने जमाना छैन । स्याटेलाइटबाटै हेर्न सकिन्छ । अब तपाईंहरू हाम्रो भूमिबाट हटिदिनुस् भनेर सम्झाउन सक्नुपर्छ भन्ने उनलाई लाग्छ । 

उनको दृष्टिकोणमा यो चीनसँग पनि जोडिएको समस्या हो । नेपाललाई थाहै नदिई यी दुई देशबीच सम्झौता हुनुले यसको जटिलता अरू बढेको हो । राष्ट्रिय स्वार्थका विषयमा पनि सत्ता स्वार्थबाट माथि उठ्न नसकेको सरकारले यसबारेमा व्यापक धारणा बनाउनै सकेको छैन । 

बदलिँदो विश्व शक्तिसन्तुलनसँगै परराष्ट्र नीतिमा चुनौतीका चाङहरू थपिएकै हुन् त ? उनी ‘हुन्’ भन्ने जवाफ दिन्छन् । पहिचानको राजनीति, आतंकवाद, सुरक्षा, जलवायु, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा पनि आजकाल कूटनीतिमा समेटिएका छन् । त्यहीअनुसारका उपायहरू अपनाउनै पर्छ । हाल विश्व अन्तरसम्बन्धित भएको छ र सबै कुरा सुरक्षामा जोडिएका छन् । अन्ततः यी सबै कुरा कूटनीतिमा जोडिन पुग्छन् । 

उनका केही सुझाव छन् र केही अनुभूतिहरू पनि छन् । पहिलो कुरो त विदेश नीतिमा राष्ट्रिय सहमति हुनुपर्छ । यसको पहल सरकारबाटै हुनुपर्छ । यसका लागि बल पुगेको छैन र पहल पनि पुगेको छैन । मनाएर आफ्नो काम गर्नुपर्छ, एकता संयन्त्र परिचालन हुनुपर्छ भन्ने उनलाई लाग्छ । 

२०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाले आपूm प्रधानमन्त्री भएका बेला परराष्ट्र सेवा गठन गरेका थिए । पञ्चायती सरकारले त्यो भंग ग¥यो । त्यसले गर्दा हाम्रो परराष्ट्रनीति कमजोर बन्न पुग्यो । सुशील कोइराला प्रधानमन्त्री भएका बेला उनले पनि परराष्ट्र सेवा गठन गरेका थिए, यो सरकार त्यसलाई भत्काउन खोज्दैछ । यसो भयो भने हामी कूटनीतिमा पछि पर्छौं । राज्य संयन्त्र कमजोर भएको राज्य असफल हुन्छ । सत्तासीनहरूले राज्य असफल पार्ने खालका कार्यक्रम बनाउनु हुँदैन । राष्ट्रको परराष्ट्र नीति सबल पारिराख्न राज्यले जहिल्यै पनि थिंकट्यांकहरू तयार पारिरहनुपर्छ । प्रोफेसनल मान्छे राख्नुपर्छ । पार्टीका मान्छेमात्र राख्ने काम गर्नु हुँदैन । थिंकट्यांकहरूले विचार निर्माण गर्छन्, त्यसैले तिनलाई राख्नुपर्छ भन्ने उनलाई लाग्छ । 

सरकारले गम्भीर कूटनीतिक मामलामा प्रतिक्रिया दिएरमात्र हुँदैन । सक्रिय रूपमा समाधानको बाटो खोज्ने र कुनै पनि समस्याको विश्लेषण गर्ने गर्नुपर्छ । यसो भयो भनेमात्र देश बलियो हुन्छ । 

अहिलेभन्दा साढे चार वर्ष पहिले चीन र भारतले १५ मे २०१५ मा सम्झौता गरी संयुक्त वक्तव्य जारी गरे । उक्त वक्तव्य ४१ बुँदाको थियो । यसको २८औँ बुँदामा लिपुलेक तीर्थयात्रीहरू ओहोर दोहोर गर्ने र दुई देशबीचको व्यापारिक नाका भनेर राखिएको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफैँ कुरा गरे । परराष्ट्र सेवा विभागमार्फत कुरा गर्ने कि भन्दा पनि उनले यस्ता गम्भीर विषयमा मैले कुरा नगरे कसले गर्छ भनेर मोदीसँग आफैँ कुरा गरेका हुन् । 

भट्टराइका अनुसार यसै कारणे २० महिना प्रधानमन्त्री हुँदा पनि कोइरालालाई भारतले औपचारिक भ्रमणमा बोलएन । उनीमात्रै भारतको औपचारिक भ्रमण नगर्ने प्रधानमन्त्री हुन् । त्यसबेला भारतलाई नोट पनि लेखेर पठाइयो र मौखिक कुराकानी पनि भयो । चीनलाई नोट लेखेर पठाइयो । वर्तमान सरकारबाट त यतिमात्र पहल पनि भएको देखेका छैनन् डा. भट्टराईले । 

त्यस बेला भट्टराई प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार थिए । सादा जीवन शैलीमा रमाउने उच्च विचारका भट्टराई हाल चाहिँ त्रिभुवन विश्वविद्यालयका केही कलेजहरूमा ‘शान्ति, द्वन्द्व र विकास’ विषय पढाउन् । उनले पढाउने विषयहरूमा ‘संकट व्यवस्थापन अध्ययन संस्थान’ ‘भूराजनीति’ र ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ रहेका छन् । अझै जोशिला देखिन्छन् यी सतसठ्ठी वर्षे कूटनीतिज्ञ । २००९ साल वैशाख ९ गते अर्घाखाची बल्कोट–४ जोरपोखरामा जम्मेका उनी तिलकराम र जालपादेवी भट्टराईका माहिला छोरा हुन् । 

प्रजातान्त्रिक विचार र सादा जीवनशैलीका आफ्ना पिताको सोझो प्रभाव उनमा छ । उनलाई त्यही संस्कारले यहाँसम्म डोहो¥याएको हो । राष्ट्रलाई उनको विज्ञताबाट अझै लाभ हुनसक्छ । 


Top