15th July | 2020 | Wednesday | 4:38:14 AM

तँ आँट् म पु-याउँछु

रमा लुइँटेल   POSTED ON : पुष १९, २०७६ (११:१९ AM)

तँ आँट् म पु-याउँछु

बामे सर्न छोडेर उनी टुकुटुकु हिड्नमात्रै थालेका के थिए, एक्कासि ज्वरो आइदियो । एक रात अचाक्ली आएको ज्वरोले भोजराज श्रेष्ठलाई जीवनभर हिँड्दा कस्तो हुन्छ भन्ने अनुभव गर्न दिएन । मान्छे ठमठम हिँडेको देख्दा उनलाई अचम्म लाग्छ । २३ वर्षदेखि हृवील चियरमा बसेर उनले गरेको कामलाई नमन गर्दै भन्न मन लाग्छ, ‘भोजराज आत्मविश्वास र मिहिनेतका पर्याय हुन् ।’

भोजराजलाई घरभित्रै एक ठाउँबाट अर्को ठाउँ पनि बोकेर पु¥याउनुपथ्र्यो । घरबाट विद्यालय धेरै टाढा भएकाले बोकेर पु¥याउन सम्भव थिएन । त्यसैले उनको परिवारले घरमै पढ्ने व्यवस्था मिलाइदियो । विद्यालय जाने साथीका किताब माग्थे र दिनरात मिहिनेत गरेर पढ्थे । 

उनी आठ वर्षका थिए । एक दिन आमाले आफ्ना दौँतरीसँग पोखेको चिन्ताले भोजराजको मन छोयो । आमाले भनेकी थिइन्, ‘बोली मैनाजस्तो छ, बोकेरै तलमाथि गराउनुपर्छ, सधैँ कसले बोकेर तलमाथि गराउला ? कसले देला र खाउँला भनेर बाँच्नुपर्ने भयो ।’ आमाका लागि चिन्ता बनेको यो विषय आफ्ना लागि जीवन बदल्ने विन्दु भएको बताउँछन् उनी । घिस्रेर भ¥याङ तलमाथि गर्न थाले । यसरी नै भित्रबाहिर गर्न सुरु गरे । एक वर्षमा घिस्रेरै गाउँ घुम्न सक्ने भए । घरबाहिर निस्कन थालेपछि उनमा छुट्टै किसिमको आत्मविश्वास पलायो । मान्छेका विचार सुन्न थाले । विचारले उनलाई बलियो बनायो । आफैंले केही गर्ने आँट भरिदियो । 

मान्छेपिच्छे सुझाब

किशोर अवस्थामा प्रवेश गरेपछि भोजराजलाई सल्लाह सुझाब दिनेहरू धेरै निस्किए । कसैले डोको बुन भने । कसैले लेखनदासको काम सुरु गर्न भने । मोजा, टोपी बुन, गुजारा चलाउन सजिलो हुन्छ भन्ने पनि कम थिएनन् । 

गाउँका एकजना बुद्धिजीवीले पढ्न सुझाब दिए । पढाइभन्दा ठूलो अरू केही छैन भन्दै ती शुभचिन्तकले दिएको सुझाबले उनलाई गाउँघरबाट सदरमुकामको विद्यालयसम्म पु¥यायो । त्यतिबेला उनी १५ वर्षका थिए । कक्षा सोझै सातमा भर्ना भएका उनी कक्षामा कहिल्यै दोस्रो बन्न परेन । शैक्षिक सत्रको अन्त्यतिर विद्यालय भर्ना भएका भोजराजलाई सुरुसुरुमा साथीहरूले गिज्याए । त्यस्तो व्यवहार खेप्दै उनी पछिल्लो बेञ्चतिर बस्थे । विद्यालयले आयोजना गरेको वादविवाद र वक्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो भएपछि पछिल्लो बेञ्चमा कहिल्यै बस्नुपरेन । न त साथीहरूको हेपाहा व्यवहार नै खप्नुप¥यो । आठ, नौ र दश कक्षा, यी तीन वर्षले भोजराजलाई जीवनमा आत्मविश्वासको खुड्किलो उक्लिन मद्दत ग¥यो । उनी विद्यालयकै ‘मोनिटर’ बने । विद्यालयका शिक्षक, साथी र आफन्तले गरेको तारिफले उनमा ऊर्जा थपिदियो । 

सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका भोजराज घिस्रिएरै क्याम्पस पढ्न काठमाडौं आइपुगे । २०४४ सालमा एसएलसी पास गरेका उनले साथीको कोठामा बसेर शंकरदेव क्याम्पस पढ्ने निधो गरे । त्यतिबेलासम्म पनि उनी घिस्रिएरै आवतजावत गर्थे । उनीसँग हृवीलचियर कसले दिन्थ्यो र ¤

असहजता र अभावबीच उनले आइकमको पहिलो वर्ष पूरा गरे । समय भोजराजले सोचे जस्तो भएन । काठमाडौंको बसाइँ त्यति सहज भएन । पहिलो वर्षको पढाइ पूरा गरेर उनी गाउँ फर्किए । दोस्रो वर्षको पढाइको खासै तयारी थिएन । परीक्षा फारम उनका साथीहरूले भरिदिए । माघ आठ गते भोजराजको हातमा एउटा चिठी प¥यो । त्यो चिठीमा लेखिएको थियो, १० गतेबाट परीक्षा सुरु हुँदैछ, परीक्षा दिन आउनू । परीक्षाको तयारी थिएन । तर, पनि उनी काठमाडौं आए । अंग्रेजीबाहेक अरू सबै विषयमा उनी पास भए । 

त्यसो त मान्छेहरू जीवनलाई फरक–फरक दृष्टिकोणबाट परिभाषित गर्छन् । कोही भन्छन् जीवन संघर्ष हो । कोहीको परिभाषा हुन्छ मिहिनेत हो । कसैकसैले अनुभव पनि हो भन्छन् । भोजराजको शब्दमा जीवन भनेको उतारचढाव हो । यो उतारचढावलाई आफ्नो नियन्त्रणमा राखेर काम गर्न सक्नु वास्तवमा सफल जीवनको परिभाषा हो । आइकम दोस्रो वर्षको परीक्षा सक्दा नसक्दै देश २०४६ सालको आन्दोलनमा होमिइसकेको थियो । पञ्चायतविरुद्धको यो अभियानलाई उनले गाउँमै बसेर सहयोग गरे । प्रजातन्त्र पुनर्बहालीपछि उनले व्यवसाय गर्ने निधो गरे । उनका दिदीभिनाजु बाह्रबिसेमा व्यवसाय गर्थे । दिदीभिनाजुकै सहयोगमा भोजराजले लुगाको होलसेल व्यवसाय सुरु गरे । यो व्यवसायले उनमा अर्को हौसला थपिदियो । बाह्रबिसेमा उनी सबैको प्रिय व्यवसायी बने । राजनीतिक चेतना भएका सामाजिक विकृति र विसंगतिप्रति जुझारु भोजराजले व्यवसाय गर्दागर्दै अपांगता भएकाहरूका लागि काम गर्ने विचार गरे । भन्छन्, ‘त्यसैले त मैले जीवनलाई उतारचढावको संज्ञा दिएको हुँ ।’ 

घरको दैलो ननाघेका भोजराज, घिसे्ररै गाउँ घुम्न थाले । १५ वर्षको उमेरमा विद्यालय टेकेका उनी विद्यालयमा अब्बल विद्यार्थी बने । घिस्रेर रै क्याम्पस पुगे । व्यवसायी बने । जीवनमा फरक–फरक अनुभव संगालेका उनी अहिले अपांगता भएकाको अधिकारको अभियन्ता बनेका छन् । 

जब मन्त्रीले निवेदन लेख्न लगाए

रोजीरोटीका लागि भोजराजले व्यवसायलाई निरन्तरता दिइराखे । बहिरा संघ सिन्धुपाल्चोकले उनलाई सल्लाहकार पदका लागि अनुरोध ग¥यो । त्यसलाई उनले स्वीकार गरे । बहिरा अपांगता भएकासँग काम गर्न थालेपछि उनलाई लाग्यो, अपांगता भएकाहरू आत्मनिर्भर हुनु जरुरी छ । त्यसका लागि शिक्षा अपरिहार्य थियो । बहिरा अपांगता भएकालाई विशेष विद्यालयको आवश्यक हुन्थ्यो ।

त्यस्तो विद्यालय खोल्न सरकारबाट स्वीकृति लिनुपथ्र्यो । त्यसका लागि उनी मन्त्री भेट्न काठमाडौं आए । मन्त्रालय अपांगतामैत्री थिएन । हृवीलचियर भुइँतलामै छोडेर मन्त्रीको कार्यकक्षमा घिस्रिँदै पुगेका उनलाई मन्त्रीले बस्न अनुरोध गरे । भोजराजका कुरा सुनेपछि निवेदन लेख्न भने । निवेदन दिएको केही दिनपछि बसेको मन्त्रीपरिषद्को बैठकले सिन्धुपाल्चोकमा शिक्षकको दरबन्दीसहित बहिरा विद्यालय खोल्न स्वीकृति दियो । २०५६ सालको असोज महिनामा सरकारले गरेको त्यो निर्णय बहिरा अपांगताको क्षेत्रमा कोसेढुंगा भएको बताउँछन् उनी । 

विद्यालय खोल्न सरकारले स्वीकृति त दियो तर भवन कसरी बनाउने ? यस्ता अनगन्ती प्रश्नहरू भोजराजका मनमा मडारिए । तँ आँट् म पु¥याउँछु भनेझैँ भयो, कम्युनिटी एक्सन नेपालले विद्यालय भवन निर्माणमा सहयोग गरेपछि सिन्धुपाल्चोकमा सिन्धु बहिरा विद्यालयको स्थापना भयो । १४ कोठाको होष्टेलसहित बनेको विद्यालयलाई २०७२ सालको भूकम्पले क्षति पुगेको थियो । उक्त विद्यालयको पुनर्निर्माण कम्युनिटी एक्सन नेपालले गरेको बताउँछन् उनी । 

यो विद्यालयले विद्यार्थीलाई किताबको ज्ञानमात्रै दिएको छैन । विद्यालयले सुरु गरेको च्याउ खेती, कुखुरा पालनलगायत सिपसमेत विद्यार्थीले त्यहाँ सिकेका छन् । विद्यालयको संस्थापक अध्यक्षसहित व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भोजराज भन्छन्, ‘विद्यालयको पढाइपछि यो सीप प्रयोग गरेर विद्यार्थीले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्छन् ।’ विशेषगरी अपांगता भएकालाई किताबी ज्ञानमात्रै भन्दा व्यावसायिक सीप आवश्यक भएको उनी बताउँछन् । 

सरकारी जागिरको मोह भएन

सरकारी जागिरलाई आकर्षक जागिर मानिन्छ । सरकारी जागिर खान भोजराजलाई घरमै बोलाउन आएका थिए । उनले त्यसलाई स्वीकार गरेनन् । त्यसको एउटै कारण थियो अपांगता भएकाहरूको अधिकार अभियानमा लाग्ने । उनी ३० वर्षदेखि अपांगता भएकाहरूको अधिकारका लागि लागेका छन् । विभिन्न संघसंस्थामा सल्लाहकारको रूपमा नियुक्त भए । त्यहाँ बस्दा उनले अधिकारमुखी अवधारणाबाट मात्रै काम गरेनन् । 

अपांगता भएकालाई आत्मनिर्भर बनाउने कार्यक्रमका लागि पनि उनले धेरै कसरत गरे । अपांगता भएको अवस्था र आवश्यकता बुझाए । निरन्तरको प्रयास र पहलको फलस्वरूप नेपालको मूल कानुन २०७२ सालको संविधानले ३७ ठाउँमा अपांगता भएको अधिकारलाई सम्बोधन गरेको छ । राजनीतिक, मौलिकलगायत सामाजिक सुरक्षालगायत अधिकार संविधानले प्रदान गरेको उनी बताउँछन् । 

कानुनले नै व्यवस्था गरेपछि अपांगता भएकामध्ये केही घरबाहिर निस्कन थाले तर पूर्ण अपांगता भएकाहरूको अवस्था पीडादायक छ । भन्छन्, ‘उनीहरू नरकीय जीवन बिताउन बाध्य छन्, कोठामा थुनिएर बस्नुपर्ने अवस्था छ । उनीहरूको अवस्थामा सुधार ल्याउन सामाजिक सुरक्षामा विशेष पहल गर्नुपर्ने उनले देखेका छन् । त्यसका लागि तीनै तहको सरकार जिम्मेवार र गम्भीर हुनुपर्ने उनलाई लाग्छ । संघीय सरकारले पचास प्रतिशत, प्रदेश र स्थानीयले पच्चीस÷पच्चीस प्रतिशत खर्चेर अपांगका लागि काम गर्नुपर्ने उनको धारणा छ । सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘जीवननिर्वाहका लागि पुग्ने भत्ता दिनुपर्छ’ यसो हुँदा परिवारमा सम्मानसहित बाँच्न पाउने अधिकार स्थापित हुन्छ । अपांगतामैत्री, शौचालय, सडक र भवन अर्को महŒवपूर्ण आवश्यकता हो । सार्वजनिक सवारीसाधन अपागतामैत्री नहुँदा धेरै सास्ती खेप्नुपरेको छ । त्यस्ता साधन अपांगता भएका व्यक्तिले प्रयोग गर्न सक्ने खालको हुनुपर्ने बताउँछन् । 

हुम्ला वा सोलुखुम्बुमा जन्मिएको व्यक्ति, जसमा अपांगता छ, उसले सुविधा सम्पन्न ठाउँमा बस्न पाउनुपर्ने उनको मान्यता छ । ‘त्यसको व्यवस्था सरकारले, त्यस क्षेत्रमा काम गर्ने संघसंस्थासँग मिलेर गर्नुपर्छ’ आफ्नै ठाउँमा बस्ने नाममा असहज ठाउँमा बस्न नहुने उनको तर्क छ । जीवन यापन सहज हुँदा उनीहरू स्वावलम्बी हुने उनले देखेका छन् । आर्थिक परनिर्भरता हटाउन रोजगारीको व्यवस्था हुनुपर्ने देखेका छन् उनले । स्वावलम्बन जीवन पद्धति केन्द्रमार्फत अपांगता भएकालाई साथ दिन र सहयोग गर्न खटिएका पचास वर्षीय भोजराज श्रेष्ठ थुप्रै अपांगता भएकाहरूका मार्गनिर्देशक बन्न सकून् ।


Views: 375