15th August | 2020 | Saturday | 4:46:27 AM

किसुनजीको पदचाप पछ्याउँदै मदन

रमा लुइँटेल   POSTED ON : चैत्र २४, २०७६ (९:१७ AM)

किसुनजीको पदचाप पछ्याउँदै मदन

ललितपुर गावहालका रैथाने थियो, मदन अमात्यको परिवार । व्यापारको शिलशिलामा उनी उनका बा र बाजे भिमफेदी पुगे । परिवारमा मदन एक्ला नाति थिए । बाबुबाजे व्यापारी भएकाले उनले केही कुराको पनि अभावको अनुभूति गर्नु परेन । उनको स्वभाव सानैदेखि फरक थियो ,व्यापारीको जस्तो थिएन । 

उनी अरुको दु :ख देख्न सक्दैन थिए । कसैले आफ्नो समस्या बताए घरबाट पैसा चोरेर दिन्थे । उनको परिवारमा पैसाको मतलब थिएन । दैनिक उठेको पैसा तह लगाउन फुर्सद हुदैन थियो । पढ्न काठमाडौं उपत्यका पसेका मदनलाई उनका बाबुले प्रत्येक महिनाको पहिलो दिन खर्च पु-याइदिने व्यवस्था मिलाएका थिए । एक गते थापेको रुपैयाँ रात बस्न पाउँदैन थियो । महिनाको बाँकी दिन उनी बाबुलाई गठेर नै चलाउँथे । कहिले विज्ञान ट्युसनको नाममा त कहिले गणितको । बाबुलाई ठाँट्न एक पछि अर्को गर्दै विषयहरु आइराख्थे । पुराना दिन सम्झिरहेका मदन भन्छन् ,‘त्यो पैसा मैले कहिल्यै गलत रुपमा प्रयोग नगरी , दुःख परेका साथीलाई दिन्थे, खाजा खुवाउँथे। ’

फेसन कन्सियस मदन 

त्यसो त उनी अहिले पनि ‘ब्राण्डेड’ सामान नै प्रयोग गर्छन् । ६९ वर्षका मदन युवा अवस्थामा के लगाउने, कसरी लगाउने विषयमा चनाखो थिए । लुगा, जुत्ता रङ मिलाएर लगाउँथे । सेतो सर्ट , पाइन्ट भए , जुत्ता पनि सेतै हुन्थ्यो । लुगा कालो भए जुता पनि त्यस्तै । जुत्ता दाजर्लिङबाट मगाएर लगाउँथे । भीमफेदीमा उनको लुगा सिलाउने सुजीकार छुट्टै थियो । सुजीकारलाई उनी लुगाको डिजाइन दिन्थे । आफँै अगाडि बसेर कपडाको कटिड गर्न लगाउँथे । त्यत्तिखेर बाटाको चप्पल निकै चलेको थियो । तर, उनलाइ एउटै चप्पल दिन दिनै लगाउन मन लाग्दैन थियो । दुई ÷चार दिन लगाएपछि च्यातिदिन्थे । त्यो जुत्ता बुबालाई देखाउन मदन बाबुकै अगाडिबाट ओहोरदोहोर गरिरहन्थे । उनका बाबुले च्यात्तिएको त्यो जुत्ता सिलाउन पठाउँथे । ‘बाबुले जुत्ता त्यत्तिकै सिलाउन पठाउनु भएको होइन , जीवन बुझाउन गर्नु भएको हो ’ विगतलाई विश्लेषण गर्दा उनले निकालेको निष्कर्ष यही हो । सिलाएको जुत्ता लगाउँथे मदन , तर बाबुको अघिल्तिर गोडा खोच्याएर हिड्थे । त्यसपछि बाबु नयाँ जुत्ता किनिदिन बाध्य हुन्थे । 

कुनै बेला कालो कम्युनिष्ट 

उनी कुनै बेला कालो कम्युनिष्ट थिए । पुस्तकालय गएर पुष्पलालका जीवन गाथा पढ्थे । कालमाक्र्सका पुस्तक नछुटाई पढ्थे । तर, एउटा प्रसंगले कम्युनिष्टप्रतिको उनको निष्ठा चक्नाचूर बनाइदियो । पंचायतकालमा एक कम्युनिष्ट नेता अंचलाधिश भएको थाहा पाए मदनले । दोहोरो चरित्र उनलाई मन परेन । त्यो घटनाले उनमा कम्युनिष्टप्रति घृणा जग्यो । त्यसपछि उनले कम्युनिष्ट नहुने निर्णय गरे । कम्युनिष्टहरुसँगको सम्बन्ध र सम्पर्क पातलो बनाए । सभा, सम्मेलनमा कम जान थाले । 

हेटौंडाका कांग्रेसीहरु प्रत्येक वैशाख १ गते पिकनिक जान्थे । उनी त्यो पिकनिकमा सहभागी भए । त्यसले कांग्रेसहरुसँग नजिक हुने मौका दियो । विं स २०२७ वैशाख १ गतेबाट मदनको राजनीतिक परिचय बदलियो । उनी किशोर अवस्थाकोे उत्तरार्धमा कम्युनिष्टबाट कांग्रेस भए । यो उनको जीवनको ठूलो निर्णय थियो । जुन निर्णयले उनलाई सफलसँगसँग असल, निष्ठावान र प्रतिबद्ध नेताको छवि बनाउन सहयोग ग-यो । 

त्रिपद्य विद्यालयबाट विं सं २०२३ सालमा उनले एलएससी दिए । महाविद्यालय तहको पढाईका लागि उनी त्रिचन्द्र क्याम्पस भर्ना भए । पढाईमा थोरै र राजनीतिक विषयमा उनको धेरै ध्यान थियो । सामान्य विद्यार्थी भएर उनले महाविद्यालयको पढाई पुरा गरे । जतिबेलादेखि राजनीतिलाई सुक्ष्म ढंगबाट बुझ्न थाले, त्यत्तिबेला देखि नै उनले यसलाई पेशा वा व्यवसाय ठानेनन् । विशुद्ध समाजसेवाको रुपमा लिए । परिवार पाल्न कहिले फलाम फ्याक्ट्री चलाए त , कहिले सोल्टी होटेलमा काम गरे । हेटौंडाबाट हात र मुखमात्रै लिएर हिडेका मदनलाई ललितपुरमा परिवार बसाउन थोरै आम्दानीले पुग्दैन थियो । त्यसैले, उनी रोजीरोटीका लागि विदेश समेत गए । त्यही कमाईले उनले ललितपुरको सानेपाका घर बनाए । छोराछोरीको उच्चशिक्षाको लागि बाटो खोलिदिए । निष्ठावान र सफा छविका नेताको रुपमा परिचित उनी राजनीतिकर्मीको सबैभन्दा महत्वपूर्ण पहिचान स्वच्छ छवि भएको बताउँछन् । त्यसैले उनी भन्छन्,‘ स्वच्छ छवि भएकालाई जनताले विश्वास गरेर ८० नम्बर दिन्छन् , दिगो राजनीति गर्ने हो भने, भ्रष्टाचारमा लिप्त नहुनूहोस् ।’ 

२०४६ सालको परिवर्तनको संघारमा उनी ललितपुरको कांग्रेस राजनीतिसँग नजिक थिए । त्यत्तिबेला ओमकार श्रेष्ठ ललितपुर कांग्रेसका जिल्ला सभापति थिए । नेपालमा प्रजातन्त्र पुर्नबहालीको आन्दोलनमा अग्रमोर्चामा थिए । राजदरबार अगाडिको प्रदर्शनमा उनी केही क्षणले मात्रै जोगिएका थिए । आन्दोलनका बेला उनी कहिले भेष बदलेर हिडे त कहिले ।,आक्रामक शैलीमा पर्खाल नाग्दै हिडे । प्रजातन्त्र ल्याउन उनी दिलोज्याद दिएर आन्दोलनको मोर्चामा रहे । प्रजातन्त्र ल्याउने मिसन पुरा भयो । त्यसैले उनी सक्रिय राजनीतिमा नलाग्ने सोचमा थिए । तर उनका शुभचिन्तक र कामको मूल्यांकन गर्न सक्ने नेताले मदनलाई सक्रिय राजनीतिमा लाग्न अनुरोध गरे । प्रियजनको अनुरोधलाई उनले लत्याउन सकेनन् । फेरि सक्रिय भए । देशभरका कांग्रेसलाई एकीकृत गर्नु उनको बहृत लक्ष्य र उद्देश्य थियो । तर, ललितपुरमा उनी सुक्ष्म र मिहिन ढंगले लागे । ललितपुर जिल्ला सभापति भएर दोस्रो कार्यकाल व्यतित गरिरहेका उनी भन्छन् , ‘कांग्रेस विधि र विधानले व्यक्तिलाई होइन , संस्थालाई प्राथमिकतामा राख्छ ।’ संविधान सभाको निर्वाचनमा निर्वाचित भएका मदन प्रत्येक ललितपुरवासीको मन र मष्तिष्कमा छन् । त्यसैले त ऊ सफलसँगसँगै असल पनि छन् । प्रत्येक कार्यकर्ताको सुखदुखको साथी हुन् मदन । अभिभावक हुन् । कार्यकर्ताको भावना बुझ्ने मदन इमान्दार र मिहेनतीको प्रशंसक हुन् । कामचोर र ठग कांग्रेसको लागि घातक भएको उनी बताउँछन् । 

किसुनजी राजनीतिक आदर्श

जब राजनीतिमा इमानको खडेरी देखिन्छ ,उनी किसुनजीलाई सम्झन्छन् । त्यसो त उनी आफूले नै समाधान गर्नुपर्ने राजनीतिक वा सामाजिक विषय आइपर्छ त्यत्तिखेर पनि किसुनजीलाई सम्झेर उनको मन भक्कानिन्छ । किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई अरुले फत्ते गर्न नसकेको काम गर्न मदनबहादुर अमात्यलाई बोलाउँथे । एकपटकको प्रसंग सम्झिए, मदनबहादुरले । किसुनजी भैसीपाटी घरमा सर्ने अन्तिम तयारी थियो, तर घरसम्म पुग्ने बाटो थिएन । त्यो काम छिटो सक्न किसुनजीले मदनलाई सम्झे । मदनले बाटो नबनेसम्म अरु काम केही गरेनन् । धेरैले ‘ यो काम त सकिन्न’ भनेर छोडेका काम उनी पटापट गरिन्थे । यो त एउटा उदाहरण मात्रै थियो, मदनले किसुनीजीका लागि धेरै काम गरेका थिए । 

अधिकाशं काममा किसुनजीले आफूलाई खोज्नुको दुईवटा कारण भएको बताउँछन्, नेपाली कांग्रेसका नेता मदन बहादुर अमात्य । भन्छन् ‘एउटा परीक्षण अर्को विश्वास ।’ मदनले स्वार्थका लागि न त्यत्तिखेर काम गरे, न त अहिले गर्छन् । 

किसुनजीको नाम प्रयोग गरेर फाइदा लिने काम गरेनन् । कुनै भेटमा किसुनजीले मदनलाई सामाजिक प्रतिष्ठाको लागि सामाजिक पद लिन आग्रह गरे । तर मदनले त्यसलाई ठाडै अस्वीकार गरिदिए । ‘मलाई दिने त्यो पद ,अरु कसैलाई दिनुस्,त्यसले उसको परिवार पाल्न सहयोग पुग्छ, मेरो थोरै तिनो कमाई छ ’यो वाक्यले किसुनजीको विश्वास आफूप्रति अझै प्रगाढ भएको मदन दाबी गर्छन् । चित्त नबुझेको कुरा मदन किसुनजीलाई सिधैं भन्थे । वास्तविकता बताइदिन्थे । त्यत्तिखेर किसुनजी कहिल्यै रिसाएनन् । 

नातामा नाति पर्ने एकदिन कुसुनजीलाई भेट्न आए । त्यत्तिबेला उनले नातिलाई के खान्छौं ? के गर्छौ ? गुजारा कसरी चलाउँछौ ? विस्तृतमा सोधे । यी प्रश्न गरिरहँदा मदनको मनमा धेरै कुरा मडारियो?प्रश्नका ज्वारभाटाहरु उठे । नाति विदा भएलगत्तैले किसुनजीसँग उनले सोधे । ‘ तपाईले मलाई यी प्रश्न कहिल्यै सोध्नु भएन, शायद मलाई आफ्नो ठान्नु भएन कि ?’ त्यत्तिखेर किसुनजीले मदनको अनुहारमा एकहोरो हेरिरहे । त्यहाँ शब्द विना संवाद थियो । त्यो संवादलाई मदन जीवन पर्यन्त बिर्सन सक्दैनन् । त्यहाँ आत्मियता थियो । भावना थियो । ती प्रश्नको उत्तर पाउने यत्न न मदनले कहिल्यै गरे , न त किसुनजीले मदनलाई ती प्रश्न कहिल्यै गरे । 

किसुनजीलाई मदनबहादुर आदर्श मान्छन् , त्यो पनि राजनीतिक आदर्श । उनी किसुनजीलाई निस्वार्थ, इमानदार, राष्ट्रवादी नेता भन्छन् । मदनले किसुनजीलाई सम्रगमा यसरी बुझे । भनसुन गरेर आफ्ना अयोग्य मान्छेलाई पदमा पु¥याउनु गीता धार्मिक दस्तावेज मात्रै होइन । व्यवहारिक जीवनमा समेत गीता लागू हुन्छ । गीता त्यस्तो दस्तावेज हो, जसले मानिसलाई धेरै कुरामा निर्देशित गर्छ । यो यस्तो दस्तावेज हो , जसले मानिसलाई सत्मार्गमा लाग्न सहयोग गर्छ । 

किसुनजीमो जीवनमा गीताको प्रभाव प्रष्ट देख्थे मदन । किसुनजीको अठोट शैली गीता अध्ययनकै परिणाम थियो । हुदैन भन्नेमा किसुनजी अडिगपनको मदन प्रसंशा गर्छन । लोभ नहुनु, निस्वार्थीपन र इमानदारिता किसुनजीमा रहेका यी तीन गुणलाई मदन श्रीमदभावगत् गीतासँग जोड्छन् । किसुनजी दिनहुँ बिहान गीता पढ्नु हुन्थ्यो । ‘गीता पढेकाले उहाँमा त्यस्तो संकल्प आएको हो ।’ मदन किसुनजीलाई सारमा व्यक्त गर्छन् ।

समिता मेरो मार्गदर्शक 

समिता मदनको असल पत्नी मात्रै थिइनन् । असल महिला थिइन् । मदनकी असल मित्र थिइन् ।  ‘शायद उनी मेरो जीवनमा नआएकी भए, म अहिलेको मदन बन्दिन थिएँ हुलाँ ’ १२ वर्ष अघि सधैंकी लागि बिछोडिएकी समितालाई सम्झदैं थिए , उनी । हक्की स्वभावका मदनले अर्काको दमन सहेर कहिल्यै काम गरेनन् । मदन कहिले काहिं झगडा गरेर घर पुग्थे । त्यो झगडा, अन्याय, अत्याचारको विरोधमा हुन्थ्यो । त्यत्तिखेर मदनलाई सम्झाउने समिता हुन्थिन् । जसले मदनलाई साम्य हुन सहयोग गथ्र्यो । मदन घरको दैलो टेक्ने बित्तिकै समितालाई सबै कुरा सुनाउँथे । मदनका कुरा सुनेपछि समिता दुरगामी असर बताउँथिइन् । शान्त हुन भन्छिन् । ‘ म छु नि तपाईको कुरा सुन्ने विस्तारै भन्नुस् न ’ भन्थिन् । समिताको त्यो वाक्यले उनलाई यस्तो भरोसा दिन्थ्यो कि, उनी त्यसलाई शब्दमा व्याख्या गर्न सक्दैनन् । 

धर्मपत्नीको कुरा गर्दै जाँदा मदनले विवाहको समितासँगको प्रेम सम्बन्धका बारेमा सुनाए । त्यत्तिखेर मदन समिताको प्रेममा चुर्लुम्म डुबिसकेका थिए, त्यत्तिबेला उनको  घरमा विवाहको थुप्रै प्रस्तावहरु आइरहेका थिए । ती प्रस्तावलाई मदनले वास्ता गरेनन् । समिता बाहेक अरु कसैसँग विवाह नगर्ने सुनाइदिए । मदनका बाबु छोराको त्यो निर्णय मान्न तयार थिएनन् । छोराको निर्णयलाई फिर्ता गराउन सक्दो प्रयास गरे । सकेनन् । कमजोर बनाउन प्रयास गरे। त्यसमा पनि सफल भएनन् । मन नपरेकी केटीलाई बुहारी बनाउन लागेकोमा बिहेमा बाजा बजाउन दिएनन् । त्यसो त मदन विवाहमा तडकभडक गर्न चाहदैन थिए । उनलाई जरी पनि समितासँगको प्रेमलाई मूर्त रुप दिनु थियो । सामान्य तरिकाले बिहे गरे ।

समित विश्व निकेतन विद्यालयमा पढाउँथिइन । उनी विद्यार्थीका मात्रै शिक्षिका थिइनन् । मदनकी समेत शिक्षिका थिइन् । मिहेनतपछि मात्रै सफलता संभव भएको बताउँथिइन् । समिताको प्रत्येक वाक्यले मदनलाई उर्जा दिन्थ्यो । त्यत्ति प्रिय समिता कहिल्यै नभेटेन गरी सधैंको लागि विदा भइन् । त्यसैले अचेल मदनलाई कसैको मृत्यु पनि ठूलो लाग्दैन । भन्छन्, ‘मृत्युलाई नजिकबाट बुझेको छ, त्यसैले सबै मृत्यु सामान्य लाग्छन् ।’


Views: 1583

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)