15th August | 2020 | Saturday | 4:20:28 AM

साइनोको पीडा

राजेश अधिकारी   POSTED ON : चैत्र २७, २०७६ (२:०० PM)

साइनोको पीडा

तन बुढो भए पनि मन बुढो हुँदैन भन्ने बुढापाकाको भनाई त कहाँं बिस्तुर जाँदो रहेछ र गाँठे। कतै बाहिर जाँदा गोरु बेचेको साईनो पनि नपर्नेहरुले बिनासित्तै आफुलाई अंकल बिशेषणको पुच्छर झुन्डाइदिँदा आफ्नो रिसको पारो किन नतातोस बा ! आफ्नो अबिवाहित दुई कोरी उमेरको शरीर लिएर कामबिशेषले कहिलेकाहिं बजार अथवा भोजनालयतिर जाँदा काउन्टरमा बस्ने किशोरीहरुले आफुलाई अंकल भनेर सम्बोधन गर्दा आफ्नो जवान मन कटक्क काटिन्छ। ती नखर्माउलीहरुले म भन्दा दस बर्ष बुढो चलचित्रका नायकलाई भेटे भने बिना हिच्किचाहट “हे ढिस्कानोे दाई! म त हजुरको डाइहर्ट फ्यान हुँं” भन्दै दाईको पगरी गुँथिदिएर उसँग अटोग्राफ लिन तँछाड–मछाड गर्न थाल्छन् तर साथीभाइको लहै लहैमा लागेर बच्चैदेखी सितनबिनाको ठर्रा तुइक्याउँदा तुइक्याउँदै गाला सुकेर छिट्टै बुढो देखिएको म अल्लारेलाई बिनासित्ती अंकल भनिदिदा मेरो कन्पारो रनक्कै तात्छ। ब्यक्तित्व जस्तो देखिए पनि बिचरा म कुमारलाई कुनै अल्लारे अवलाले दाईको सम्बोधनले बोलाइदिए म खुशीले गदगद हुन्छु अनि कसैले अंकल साइनोले बोलाइदिए हीनताभाशको आभाशले खङ्रंग पर्छु। एकपल्ट एउटा भोजनालयमा खाजा खाएको बिल तिर्दा काउण्टरमा बस्ने भोजनालय मालिककी षोेडशी छोरीले मलाई “दाई! हजुरको बढी भएको रु पाँच सय फिर्ता लिनुहोला“ भनी मेरो हातमा बिल र पैसा थमाउदै मलाई दाई भनी सम्बोधन गर्दा म कम्ती खुशी भइन। आफ्नो मनको पुकार सुनिदिएकोमा मैले उसलाई त्यही फिर्ता पाँच सयको नोट सहर्श टिप्स स्वरुप उसैको हातमा थपक्कै थमाइदिन्छु। आफुलाई ती कन्याले दाई भनिदिएकोमा मेरो शरीरमा जवानीको लहरहरु दौडिन थाल्छन् र म भोकै नलागी त्यही भोजनालयमा बारम्बार जान थाल्छु। अर्को दिन खाजा खान जाँदा त्यो भोजनालयको काउण्टरमा आमाछोरी बसिरहेका रहेछन् ।मैले खाजाको बिल तिर्न जाँदा ती अवलाकी आमाले त मलाई मस्किदै “अंकल! फेरी फेरी आउँदै गर्नुहोला है्” भनी बिल मेरो हातमा थमाइदिदा त मेरो जवान दिल जिल्लाराम पर्छ। आफुले मनमनै मन पराएको केटीकी आमाले आफुलाई अंकल भनेपछी छिप्पिएको साँझपख त्यहाँबाट म रन्थनिदै म पढेर पनि बेरोजगार भै बसेको छोरालाई बाबुले माउ भैँसी बेचेर किनिदिएको दोस्रोहाते भटभटे लिएर चोरबाटो हुँदै घरतिर हानिन्छु। आकस्मत बिच बाटोमा एउटी कन्याले समुस्कान मसँग भटभटेमा लिफ्ट माग्छिन्। एक्कासी कन्याको दर्शनले मेरो अघीको रिस शान्त भएर फेरी मेरो पुरानो बोतलमा भरिएको जवान शरावी दिल छ्चल्किन थाल्छ। गुडिरहेको सवारीमा पछाडीको सिटमा बसेकी ती कन्यासँग मस्किदै नजानिदो पाराले कुहिनोले उसको कुममा धक्का दिदै म सोध्छु “बहिनी! कहाँ सम्म जाने हो ?उनले पनि मुस्काउदै उत्तर फर्काउछिन् “ म त्यहीँ माथी भोटेटारसम्म जाने हो अंकल!“ आफुलाई अंकल भनेको सुनेर मेरो मथिङ्गल घुम्न थाल्छ। म आवेगमा आएर भटभटे रोक्दै ती कन्यालाई भन्छु“ तँँ उत्रिहाल् त मेरो भटभटेबाट“ बिचरी निर्दोश कन्या अक्क न बक्क पर्दै बिच बाटोमै उत्रिन्छिन्। म पछाडी पनि नफर्किई भटभटे हुइँक्याएर सिधै घर नजिकैको काहिंलीको रक्सीभट्टीमा पस्छु। आत्महीनताको लड्खडाहटमा म एउटा ढिँडे खुर्सानी चपाउँदै एक बोतल खोयाबिर्के घट्घट् तुर्याउँछु र फलामले फलाम काट्छ भन्ने उक्ती सम्झिएर मनको ज्वाला निभाउन घरमा गएर बैशाखको गर्मी रातमा सिरक ओडेर भुसुक्कै निदाउँछु ।  

सर्वत्र अंकल साइनोको आतंकले त्रशित भएर म आजकाल हप्ता दिनदेखी घर बाहिर निस्केकै छैन। बैँस जान लागेको बेरोजगार छोरो यसरी घरमा एक्लै धुम्धुम्ती बसेको देखेर आजित भएका बाबुआमाले एकदिन मलाई कराउन थाल्छन्। “थुक्क इलम बिनाको हुतिहारा! तेरा दौंतरीहरुका नातीनातिना हुन आँटिसके, तँ चाहिं अझै बुढो कुमार भै बरालिएर हिड्छस मोरा ?हामीले बर्नेमा तेरो लागि एउटी केटीका बाबुआमासँग बिहेको कुरो चलाएका छौं। भोली थपक्कै तेरा दुईचार जाना साथीभाईलाई गएर केटी हेरेर आइज। घरजम जोड्ने कुराले म भित्र भित्रै अगाध खुशी भएँ तर नखरास्वरुप मैले बाबुआमालाई “म बिहेसिहे गर्दिन अहिले“ भन्दै उत्तर दिएँ। “तँ घरमा सिन्को भाँच्दैनस। हामीलाई सघाउ–पघाउ गर्ने बुहारी चाहिदैन त? के तँ सधैं बाबुआमालाई दंग्याई दंग्याई सताएरै बस्छस त? हामीले नाती नातिना कहिले खेलाउनू?” बाबुआमा मसँग फेरी जंगिन्छन्। “लु लु भैगो म केटी हेर्न गैदिउँला।” आफ्नो जोई चाहिएको पागल दिललाई सम्हाल्दै रिसाएको नाटक मन्चन गर्दै म आफ्नो कोठातिर लस्किन्छु । भोलिको छौंडीदर्शन तयारीस्वरुप म मेरो तिलचाम्ले कपालमा कालो मेहन्दी दल्छु, दारीजुँगाको कर्तनकार्य गर्छु तर गालाका चाउरी छोप्ने कुनै पर्दा भेट्दिन। म तीनभाई साथीहरु लिएर केटीको घरमा पुग्छु। केटीको घरमा बाबुआमा चाहिं हाट भर्न बुधबारे बजार गएका रहेछन् र घरमा त्यही केटी र उसको एउटा फुच्चे भाई मात्रै रहेछन्। केटी र मेरो हुनेवाला बालक सालोले हामी अपरिचितहरुलाई उनीहरुको घरमा एक्कास्सी आएको देख्दा त एक्छिन अक्क न बक्क हुन्छन् तर पानी खाने निहुँ पार्दै हामी दलिनमा राखेका बाँसे मुढामा उनिहरुले बस्नु नभनी जितेरै बस्छौँ । मेरो एउटा साथीले केटीलाई मस्किदै सोध्छ “ बैनी! यो बर्नेमा त ठुलो चिया बगान छ, यहाँं चिया त मिठो खान पाईन्छ होला नि“ केटीले लजाउँदै भन्छे “ किन नपाउनु नि दाई! म चिया बनाई हाल्छु नि।” मेरो अर्को साथी गमलामा फुलिरहेको रातो फुल हेर्दै इत्रिन थाल्छ“ बैनी!त्यो एउटा फुल टिपेर म लैजान्छु है” “हुन्छ नि दाई” केटीले लजाउँदै उत्तर दिन्छे। मेरो तेस्रो साथीले पनि पाल्सी भाषामा बोल्ने बहना बनाउँदै केटीसँग सोध्छ “बैनी! यहाँंका मान्छेहरु ठाउँँ अनुसारकै राम्रा त देखिन्छन् नि ।” “उस् ! दाईलाई पनि कती इत्रिनु पर्या होला” सरमले मुख रातो पार्दै केटीले उत्तर दिन्छे। सबैले केटीसँग केही न केही बात मारिसके। म त झन केटी दर्शन परियोजनाको प्रमुख मान्छे केही त भन्नै पर््योे भनेर जुर्मुराउँछु “बैनी! तिम्रो भाई त सानै रहेछ नि! कती कक्षामा पढ्छ यो केटो?” “मेरो भाई त सानै छ अंकल। अहिले उ दुई कक्षामा पढ्दैछ। तपाईंका छोराछोरी त हामी जत्रै भए होलान नि अंकल?” केटीले मलाई उत्तर दिन्छे। आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भने झैं बिहे गर्छु भनेर हेर्न आएको केटीले आफुलाई अंकल भनेको सुनेर मेरा साथीहरु गललल्ल हाँस्छन् अनि म साथीहरुलाई त्यहीँ छोडेर हुस्स बुढी हरिया दाँत भने झैं जिल्लाराम हुँदै एक्लै घरतिर फर्कन्छु। केटीको परपीडक साइनोले लोपारिएको अनुहार हेल्मेटले छोपेर बाटोभरी म भटभटे चलाउँदै मनमा तर्क–बितर्क गर्न थाल्छु। साँचै म तरुण दिलवाला बबुरो तरुनीहरुको आँखामा अंकलमय अधबैंशे नै देखिन्छु त?अघी केटीको घरमा लमी भएर गएका मेरा लगौंटिया यारहरु पनि म भन्दा एकदुई बर्ष जेठै हुन् त! तर उनीहरु तरुनीहरुको आँखामा समकालिन बैंशालु दरिन्छन् अपितु म चाहिं किन अंकल साईनोधारी उपल्लो पुस्ताको मनुस्य बकिन्छु? यस्ता मनोवादी मनका ज्वारभाटाले मलाई हैरान बनाउँछ। अब मलाई मेरो सच्चा अनुहार ऐनामा हेर्दै अपरिचित कसैद्वारा आत्म बिश्लेशण गराइमाग्न मन लाग्छ तसर्थ म बाटोमा पर्ने बुधवारे बजारको एउटा सेलुनमा छिर्छु। एउटा बुढो बुढो परेको हजामले मलाई ऐना अगाडिको कुर्सीमा बसाउँछ। मेरो अली अली फुलेको कन्सिरी र जुँगा काटेर मिलाउँदै गरेको हजामलाई म प्रश्न गर्छु “ठाकुर! भन त म कती बर्ष जतिको लाग्छु?” हजामले हातमा कैँची हल्लाउँदै उत्तर दिन्छ। “अंकल पक्कै पनि पचास–पचपन्नको हुनुपर्छ। त्यो बुढो हजामले पनि मलाई अंकलको साइनोले बिभुशित गरेको सुनीपछी मलाई रिस उठ्नुको साटो आफैंको माया लागेर आउँछ र म भएको जुँगा र कपाल खौर्याउन लगाएर चुपचाप घरतिर कुलेलम ठोक्छु । 


Views: 540

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)