13th July | 2020 | Monday | 12:38:15 AM

अन्तरंग : नेपाली साहित्यका अविश्रान्त यात्री वियोगी

विनोद दाहाल   POSTED ON : असार ६, २०७७ (१२:०७ PM)

अन्तरंग  : नेपाली साहित्यका अविश्रान्त यात्री वियोगी

वियोगी बुढाथोकी उहाँको साहित्यिक नाम रहेछ तर यसैले चिनिएका कारण अब उहाँको आधिकारिक अभिलेखतिर पनि यही नाम अभिलिखित हुन थालेछ । उहाँले आफ्नो वास्तविक नाम मलाई बताउन चाहनु भएन र मैले पनि कर गरिनँ । नेपाली सहित्यको क्षेत्रमा वियोगी बुढाथोकी निकै सुनिने नाम हो । मेरो चासो पनि यसैमा मात्रै हो । 

वियोगी बुढाथोकीसँग मेरो सामिप्य संयोगले भयो । नाम त सुनिरहेकै थिएँ । तिहारताका नवस्थापित बूढानीलकण्ठ साहित्य समाजको कार्यक्रममा म पनि आमन्त्रित थिएँ र एउटा कविता पनि वाचन गरेँ । त्यही कार्यक्रममा मेरो पहिलोे पटक उहाँसँग परिचय भएको थियो । अनि उहाँको ‘बेलग्रभको छुकछुके रेल’ शीर्षकको नियात्रा विमोचन कार्यक्रममा पनि उहाँले मलाई बोलाउनुभयो र म थापागाउँ लेखनकुञ्जसम्म गएँ । उक्त पुस्तकको मैले समीक्षा लेखेर हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशन पनि गरेको थिएँ । 

अनि अर्को पटक उहाँको सम्पादकत्वमा प्रकाशित शिवपुरी सन्देशको ८८औं अंक बूढानीलकण्ठका साहित्यकार विशेषांकका रूपमा प्रकाशन हुन लागेको हुँदा मैले पनि मेरो वरिपरिका केही स्रष्टाहरूको विवरण संकलन गरेर उहाँलाई दिने क्रममा महाराजगञ्ज चक्रपथ नारायण गोपाल चोकमा हामी भेटभएका थियौँ । यिनै तीनवटा भेटपछि म उहाँको अन्तरंग प्रकाशनको निर्णयमा पुगेँ अनि चौथो भेट पनि नारायण गोपालचोकको त्यही होटलमा गर्ने निर्णय भएअनुसार त्यहीँ बसेर चिया चमेनासँगै उहाँसँगको यो अन्तर्वार्ता पनि तयार गरेँ । लकडाउन पहिल्यै तयार गरिएको यो अन्तररंगले बल्ल प्रकाशनको मौका पायो । 

बुढाथोकीले प्राथमिक शिक्षा भीमसेन गणेश प्राविबाट ग्रहण गरेपछि कक्षा ६ देखि १० सम्म लैनचौरको शान्ति विद्यागृहबाट पूरा गर्नुभयो । त्यहाँबाट एसएलसी पास गरेपछि सरस्वती क्याम्पसबाट रात्रिसमूहमा अध्ययन गरेर आईए पास गर्नुभयो । पारिवारिक आर्थिक कारणले उहाँलाई कुनै अप्ठ्यारो थिएन । 

सहरबाट धेरै टाढा त होइन तैपनि त्यसबेलाको भौगोलिक विकटता र शिक्षण संस्थाहरूको कम उपलब्धताका कारण शिक्षा सर्वसुलभ थिएन । त्यसैले उहाँले बिए र एमए भने प्राइभेटबाट पूरा गर्नुभयो । एमए उहाँले राजनीतिशास्त्र विषयमा गर्नुभएको हो । 

उहाँले जागिरे जीवनको थालनी महाराजगञ्ज क्याम्पसबाट गर्नुभयो । उहाँले टाइपिस्ट क्लर्कबाट सुरु गर्नुभएको जागिर २४ वर्षसम्म एकै ठाउँ परीक्षा शाखामै बिताउनुभयो । तर, उहाँ त्यसबेलासम्म परीक्षा नियन्त्रण महाशाखा प्रमुख बनिसक्नु भएको थियो । त्यसबेलाको टाइपिस्टको काम हाल उहाँका लागि वरदान सावित भएको छ । उहाँको उमेरका धेरै मानिसहरू यस्ता कार्यमा निकै पछि परेका छन् तर उहाँ त्यही दक्षताले हाल कम्युटर टंकनलगायतका काममा पोख्त हुनुहुन्छ । महाराजगञ्ज क्याम्पस छोडेपछि उहाँले नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा काम गर्नुभयो । त्यहाँ पनि यहाँ १८ वर्षसम्म प्रशासन प्रमुखको जिम्मेवारीमा रहनुभयो । 

कविताकै उपविधाहरू गजल र मुक्तकमा उहाँ बढी रमाउनुहुन्छ । समकालीन गजल लेखनमा उहाँको अग्रणी स्थान रहेको छ । तर, पछिल्ला दिनमा उहाँ नियात्रातिर रमाउन थाल्नुभएको छ । यो वर्तमानमा निकै फस्टाएको विधाका रूपमा देखापरेको छ । घुम्न डुल्न नपाएका पाठकहरूलाई ती ठाउँ घुमाएको अनुभूत गराउने नियात्रा विधा लाकप्रिय बन्दै गएका कारणले मात्रै नहोला तर उहाँबाट पनि नियात्राका केही पुस्तकहरू सिर्जना हुन पुगेका छन् । ‘नयाँ ठाउँमा गइयो भने लेखिहाल्छु । बेलायत र अष्टे«लियाको यात्रापछि त्यहाँको यात्रालाई समेटेर नियात्राका पुस्तकहरू लेखेँ’ उहाँ भन्नुहुन्छ । 

उहाँ महाराजगञ्ज क्याम्पसमा छँदा त्यहाँको मुखपत्र ‘अङ्कुर’ मा उहाँको ‘यहाँ यस्तै यस्तै रहेछ’ शीर्षकको कविता प्रकाशित भयो । त्यसपछि उहाँलाई लेखनमा प्रोत्साहन मिल्यो । अनि त्यस बेलाका प्रचलित राष्ट्रपुकार, समीक्षा, मातृभूमि, नयाँसन्देशलगायत पत्रपत्रिकामा उहाँका रचनाहरू निरन्तर छापिँदै गए । 

वियोगी बुढाथोकी प्रजातन्त्रप्रति प्रतिबद्ध व्यक्ति हुनुहुन्छ । यही आस्थामा उहाँको जीवनको लामो समय बितेको छ । देशमा अनेकौं राजनीतिक उतार चढाव आए तर उहाँ अविचलित रूपमा आफ्नो आस्थामा अडिग हुनुहुन्छ । यही आस्थाका कारण उहाँले आफ्ना छोराछोरीको नाम पनि एकता, राष्ट्रियता र नेविस राख्नुभयो । 

वियोगी बुढाथोकी व्यक्तिको भोगाइको यथार्थ प्रकटीकरणलाई साहित्य मान्नुहुन्छ । कसैले लेखेको कुनै कुरा अर्का कसैको जीवनमा पनि मेल खाने खालको हुनसक्छ र ऊ पनि त्यसबाट प्रभावित हुन्छ । लेखनबाट पाठक प्रभावित हुन सक्नुपर्छ । त्यसो भएका खण्डमा यो प्रबल साहित्य बन्नसक्छ उहाँ भन्नुहुन्छ ।

उहाँलाई कुनै कुरा पाइनँ भन्ने लाग्दैन । पाउनका लागि लेखेको पनि होइन । अरूको जस्तो गुनासाहरूका गुठुरी उहाँसँग छैनन् । उहाँ आपूmले साहित्य सिर्जना गरेर धेरै कुरा पाएको धारणा राख्नुहुन्छ । 

‘म गोपाल अर्थात गोपालहरू’ शीर्षकमा उहाँले १०८ शृंखला लेख्नुभयो । यसबाट उहाँलाई विभिन्न पुरस्कार प्राप्त भए । यो लेखनबाटै भएको प्राप्ति हो उहाँ भन्नुहुन्छ । लेखेर उहाँले केही गुमाउनुभएको छैन । लेखनमा एकोहोरो लागेका कारण उहाँका केही निजी काम भने छुटेका छन् । 

उहाँले कुनैबेला कुनै वादमा आधारित भएर पनि लेख्नुभयो । उहाँ तरलवादमा पनि संलग्न हुनुभयो । प्रजातान्त्रिक विचार राखेर पनि लेख्नुभयो । पञ्चायतकालमा यसरी अभियानमै आधारित भएर लेख्नेहरू धेरै थिए । उहाँ पनि उसबाट अछुतो रहन सक्नुभएन । नेपालमा प्रजातन्त्र आवश्यक थियो । धेरै नेपालीहरूको चाहना पनि त्यही थियो । त्यसैले साहित्यकारहरूले साहित्यका माध्यमबाट यस्तो अभियान चलाउनु परेको थियो । 

तर, हालको अवस्था त्यस्तो छैन र साहित्य लेखनको प्रवाह पनि त्यस समयको जस्तो छैन । उहाँ भन्नुहुन्छ, ‘वास्तवमा साहित्य स्वतन्त्र हुनुपर्छ, यसमा कुनै खालका वादहरू लादिनु हुँदैन ।’ स्वतन्त्र साहित्य सर्वकालिक, सार्वभौम साहित्यको आवश्यकता र अपेक्षा छ उहाँको । 

उहाँले नेपालमा लेखेर बाँच्न सकिने अवस्था देख्नुभएको छैन । साहित्य लेखेर बाँच्न त उहाँ अझै असम्भवै देख्नुहुन्छ । उहाँ कामका लागि त्यस्ता कुनै योजना पनि बनाउनुहुन्न । काम गर्दै जानुहुन्छ र तिनलाई निरन्तरता दिँदै जानुहुन्छ । नेपाली साहित्य त्यति कमजोर छैन भन्ने उहाँलाई लाग्छ । नेपालमा विश्वस्तरका साहित्य र साहित्यकारहरू पनि उहाँले देख्नुभएको छ । यति भएर पनि नेपाली साहित्य त्यो स्तरसम्म पुग्न नसकेको जस्तो देखिएको छ । उहाँ यसमा सरकारको पनि कमजोरी देख्नुहुन्छ । कुनै अमूक व्यक्ति वा स्रष्टाको मात्रै नभएर यो सरकारको पनि दायित्व हो । 

कतिपय अन्तर्राष्ट्रियस्तरका कृतिहरू निश्चित व्यक्तिलाई लेखनवृत्ति दिएर अनुवाद गर्न लगाउने, केही विषय तोकेर लेख्न लगाउने गर्नुपर्छ । त्यसको प्रवद्र्धन र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सरकारले पहल गर्नुपर्छ भन्ने उहाँलाई लाग्न । साहित्यिक प्रतिष्ठानहरू छन्, तिनले खर्च पनि गरेका छन् तर तिनले गरेको खर्च प्रत्युत्पादक भइरहेको देख्नुहुन्छ वियोगी बुढाथोकी । 

उहाँले आफ्नो प्रयासमा सौरभ, मुकुट, पूर्वाद्र्धलगायत साहित्यिक पत्रिका प्रकाशन गर्नुभयो । ‘शिवपुरी सन्देश’ साहित्यिक त्रैमासिक पत्रिकाको प्रधानसम्पाद र प्रकाशक उहाँ नै हुनुहुन्छ । यो पत्रिका नेपाल प्रेस काउन्सिलबाट ‘क’ वर्गमा वर्गीकृत भएको छ । यो पत्रिकाले हालसम्म ८८औं अंक प्रकाशित गरिसकेको छ । यो २०५०÷५१ सालदेखि निरन्तर चलिरहेको छ । यो चानचुने प्रयासबाट सम्भव हुने कुरा होइन तर अझैसम्म पनि सरकारले यसका लागि हुलाक सुविधा नदिएको अवस्था छ । त्यसैले अन्य समस्याका साथै वितरणमा पनि समस्या छ । 

हाल विभिन्न नाममा प्रकाशनगृहहरू आएका छन् । ती सबैको समस्या यस्तै खालका छन् । वितरण नभई पाठकका हातसम्म पु¥याउन सकिँदैन अनि तिनले कसरी पढ्ने ? वितरण हुन सक्ने हो भने धेरैले पढ्न पाउने थिए । त्यसो हुनसकेको छैन उहाँ भन्नुहुन्छ । नेपालमा धेरैजसो साहित्यिक पत्रिकाहरू दर्ता भएर केही अङ्क आएपछि बन्द हुने गरेको अवस्थामा शिवपुरी सन्देशको यो निरन्तरता प्रशंसनीय छ । 

उहाँका १३ वटा मौलिक कृतिहरू प्रकाशित भएका छन् भने उहाँले ‘प्रतिनिधि गजल’ ( २०५७) वसुन्धरामान प्रज्ञाप्रतिष्ठान, ‘समकालीन नेपाली कविताको स्वर’ (२०७०) शिसास, मुकुट, पुर्वाद्र्ध, सौरभ, आगमनका केही अंक, चुनाव गीत–कविता (डा. तुलसी भट्टराई, विनय रावल र वियोगी बुढाथोकी) नेपाल मेडिकल कलेज शिक्षण अस्पतालबाट प्रकाशित ‘आँकुरा’ को १५ अङ्क, नेपाल प्रज्ञाप्रतिष्ठान ‘प्रज्ञा समकालीन नेपाली मुक्तक सङ्ग्रह’ (२०७४) शशि मुलुम्बुसहित, ‘मुक्तक माधुर्य’ नेपाल मुक्तक प्रतिष्ठान नेपाल २०७५ को सम्पादन गरिसक्नुभएको छ । 

उहाँ आफैँ प्रधान सम्पादक तथा प्रकाशक भएर प्रकाशित हुँदै आएका केही पत्रिकाहरू पनि छन् । शिवपुरी सन्देश, साहित्यिक त्रैमासिकको ८८औं अंक विशेषांकका रूपमा प्रकाशित भइसकेको छ । गजल विशेषांक, यौन विशेषांक, मुक्तक विशेषांक, बिपी कोइराला अंक, बर्मा अंक, समकालीन नेपाली कविता अंक उहाँको सम्पादकत्वमा प्रकाशित भएका हुन् । 

उहाँ नेपाल मुक्तक प्रतिष्ठान काठमाडौं, उपन्यास समाज काठमाडौं, भाषा साहित्य सङ्घ नेपाल, नेपाल साहित्यिक पत्रकार संघ (संस्थापक सल्लाहकार) रहनुभएको छ । उहाँ नेपाली लेखक संघमा २०६९ देखि २०७३ सम्म, खप्तडी बुढाथोकी क्षेत्री समाजको २०६५ सालदेखि २०७३ सालसम्म महासचिव रहनुभयो । उहाँ दर्जनौँ संघसंस्थामा संलग्न हुनुहुन्छ र दर्जनौँ मान सम्मान र पुरस्कार पनि पाइसक्नु भएको छ । 

वियोगी साहित्यका अथक योद्धा हुनुहुन्छ भन्दा अन्यथा हुँदैन । जुन दिनदेखि उहाँले लेखनका लागि कलम चलाउनुभयो त्यो हालसम्म पनि निरन्तर चलिरहेको छ, रोकिएको छैन । कहिलेकहीँ अलिक पृथक खालको साहित्यिक कार्यक्रम पनि उहाँबाट आयोजना हुनेगरेको छ । उहाँ आफ्नै घरमा आफ्ना कुनै कृतिहरूको विमोचन गराउनुहुन्छ र त्यस्ता कार्यक्रमका आमन्त्रित उपस्थित स्रष्टाहरूलाई गुन्दु्रक भट्मास साँधेर चिया चमेना गराउनुहुन्छ । नेपाली साहित्यका यस्ता अथक यात्रीको साहित्यिक यात्रा शताब्दी लामो बनोस् । हार्दिक शुभकामना । 

काठमाडौंको रैथाने क्षेत्री उहाँ हात्तीगौंडामा २०११ साल जेठ ६ गते कृष्णबहादुर र विष्णुकुमारी बुढाथोकीका माहिला छोराका रूपमा जन्मिनु भएको हो । उहाँका जेठा दाजु टीकाबहादुर, साहिला भाइ राजु र कान्छा भाइ प्रा.डा. सुनील बुढाथोकी हुनुहुन्छ । सुनील हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक हुनुहुन्छ । 

यसैगरी उहाँकी दिदी मैयाँ खत्री स्वर्गीय भइसक्नुभएको छ भने बहिनीहरू कान्छी खड्का र पार्वती कार्की हुनुहुन्छ । साहित्यकार बुढाथोकीकी पहिलो पत्नीको मृत्यु भएपछि काभ्रेका इन्द्रबहादुर राउत र भवानी राउतकी छोरी शकुन्तला राउतसँग उहाँको विवाह भयो । यसलाई उहाँ एउटा संयोग र नियति मान्नुहुन्छ । शकुन्तला हाल स्वस्थ्य स्वयंसेविका हुनुहुन्छ । वियोगी बुढाथोकी प्रजातन्त्रप्रति प्रतिबद्ध हुनुहुन्छ । त्यसैले प्रतिबन्धित समयमा पनि उहाँले आफ्ना छोरीहरूको नाम एकता र राष्ट्रियता र छोराको नाम नेविस राख्नुभयो । कान्छी छोरी राष्ट्रियताको नाम भने पछि अमिता राखिएको छ ।


Views: 160