15th August | 2020 | Saturday | 8:17:42 AM

बांगोबोली : घाघडान चट्टानी अडान !

बद्रीप्रसाद दाहाल   POSTED ON : श्रावण १०, २०७७ (९:२२ AM)

बांगोबोली : घाघडान चट्टानी अडान !

असार १० गतेदेखि घनीभूत रूपमा थालनी हुने भनिएको नेकपा स्थायी समितिको बैठक पटक–पटक पटाक्षेप हुँदै पुनः पर्दा खुल्दै फेरि बन्द र अनिश्चयमा कुहिराको काग बन्न पुग्यो । दुई शीर्षका आधा दर्जनभन्दा बढीको एक्ला एक्लैको भेट र विभिन्न खालको श्वान दन्तबझान बोली महासयले निकम्मा सावित गरेर दोस्रा अध्यक्षलाई भदौरे जात्राकै भक्कु बनाइदिए नारन शिव ! स्याथी समितिको बैठकलाई धकेल्दै भित्तामा पु¥याएको पत्तै पाएनन् वामने माकुने र झल्लु बुढाका झुण्डले । 

बोलीले वार्ताको भकुण्डोलाई चुच्चे ढुंगो उही टुंगोजस्तो गोलचक्करे घुमाउने खेल खेलेर हात्ती आयो हात्ती आयो फुस्सा बनाइदिए बाघ गर्जन निकाल्ने स्यालका हुलहरूलाई आफ्ना अमोघ खड्गले । यसअघि मञ्चन गरिएका बहुपक्षीय, द्विपक्षीय, त्रिपक्षीय, वान् अन् वान् कुनै पनि बैठकले वार्तालाई निष्कर्षमा पु¥याउन असफल भयो । सत्ताधारीभित्रको संस्थापन पक्षले विरोधी कित्तालाई उत्तरी र दक्षिणी इन्जेक्सन सन्तुलित रूपमा चलाउँदा नुन खाएको कुखुरा पो बनाए छलनीतिका पारखी ओली बाबाले । 

कसैको बाउको पिताम नचलेपछि सचिवालयको आकस्मिक बैठकले काँध थाप्ने मौका दलाधीश द्वयले दिएको रूपक मञ्चित एकछिन देखाइदिएर महाधिवेशनको कार्ड फाली प्रधानमन्त्रीले जोगाउन हम्मेहम्मे परेको कुर्सीलाई प्राण सञ्चार पो गरिदिए बा ! बहुपक्षीय, सचिवालयस्तरीय, त्रिपक्षीय, द्विपक्षीय र वान् अन् वान् वार्ता आआफ्नै घाघडान चट्टानी अडानबाट टसको मस नभएको हल्ला पिटाएका प्रचण्डमार्का लज्जावती झारझैँ ‘निउरिमुन्टे न’ भए यति खेर । घुम्दै फिर्दै रुम्जाटार भनेझैँ कर्ता भर्ता वा हर्ता हुने मौकाको धोतीपाटो पुनः झापाली बुढाले नै फेरे । 

वाचाल खेलाडी ओली ‘रासन नखाएका र आशन नपाएकाहरूले शासनको विरोध गर्छन्’ भन्ने कुरा राम्ररी बुझ्दछन् । महाभारतका कूटपात्रहरूको संभाषणको मर्म गहिरिएर बुझेका अनि मैकियाभेलीदेखि हेनरी किसिन्जरतकका मौकापरस्त राजनय पढेका कम्रेड ओली गाईजात्राको पूर्वसन्ध्यालाई जात्राअघि नै मञ्चन गर्ने तागत राख्दछन् । औपचारिक डिग्री नभए पनि परेर र पढेर खली खाएका यिनलाई बलिको बोको बनाउन जोतैले सक्दैनन् पनि ।

कोभिडको महाव्याधिको आँधी, बाढी पहिरोको भयानक दुर्दशा, बेरुजुको विकराल पहाड, असारमा मात्र एक खर्ब १६ अर्ब हुरलधुरल जस्ता अनुशासनहीन खर्चको विषयलाई पन्छाएर कलह प्रतियोगितालाई वार्ताको जलप लगाई भागबण्डावादमा मुख मिठ्याएर हिँड्ने नकचराहरूलाई चट्टानी अडानबाट मजाले चिप्ल्याइदिए । मुद्दाहरूलाई विषयान्तर बनाइदिएर ‘हो हो बाबु हो हो हो !’ भन्ने महाधिवेशनको लोरी सुनेर तेजोबध बन्नपुग्यो सबैतिर अत्यधिक बहुमत भएको दाबा गर्ने संस्थापनइतरका ओलीविरोधी टोली । 

लकडाउनको दाम्लो फुकाएर विज्ञ र विशेषज्ञका सहमति झुकाएर भोकलाई प्राथमिकता दिँदै रोगलाई गौँण बनाउँदा पनि चूँसम्म नगर्ने आफ्ना विद्रोहीहरू देख्दा ओली बाबाको चट्टानी अडान अब जंगबहादुर नै बनेन र ? व्यवसायीहरूका समस्या, निजी स्कुलहरूको गुनासो, कृषक, मजदुर, कर्मचारीहरूका सबाल थाती राखेर नागरिक जिम्मेदारीबाट बेपत्ता हुने सरकारको चरित्रले राज्यको अनुभूति नै दिन सकेको छैन भन्ने प्रमुख प्रतिपक्षलगायत दलहरू कमिलालाई के को पैरो भनेझैँ अधिवेशनकै आन्तरिक किचलो र गुटबन्दीमा थला परिरहेका छन् । 

तिनीहरूलाई सरकारको निकम्मापनको विरोध गर्ने फुर्सँदै छैन । ‘राजबुद्धिभन्दा रजकबुद्धि ठूलो, अनुहार हेर्दा श्रीमहालक्ष्मी व्यवहार हेर्दा किचकन्नी, अराजक राज्यमा न तनमा कपडा हुन्छ न मुखमा गाँस, मनको ताईमा फुरौला पाक्दैन’ जस्ता उखानको रस मजैले पान गरेका उखानपुरका मूलीले मच्चियो मच्चियो अनि थच्चियो बनाई पो दिए बा सबैखाले प्रतिपक्षी कित्तालाई ! 

आफ्नो अडानलाई घाघडान र चट्टानी अनि अरूको अडानलाई प्लास्टिके र खोष्टा बनाइदिने क्षमता देख्दा सबै निरीह बन्नपुगेका छन् यतिखेर । ‘देख्ना डाल घिच्ना काल, धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टा लुलो’ उपाख्यानको सिरानी हालेर राजनीतिको मैदानमा बरालिएकाहरूबाट गणतन्त्रका रैती स्वाभिमानी नागरिक कैले बन्ने ? भाँडू राजा गाडूँ मन्त्री । अर्काको आस गंगाको उपवास, भनेको नबुझ्ने जमात एकता, संघर्ष रूपान्तरण, छलाङ, भनेर ठूला कुरा गर्ने अनि एकै छिनको ललीपपमा मख्ख हुने यही हो त क्रान्तिकारिता ? 

यतिखेरका दलीय राजनीतिक अभिकर्तामात्र पदीय आसन सुरक्षित गराएर सुपर सुप्रिमो, सुप्रिमो, उपसुप्रिमो, सहसुप्रिमो बन्ने धुनमा घुनजस्तै बनेर कुदेका छन् । सबैको मुखबाट निष्किरहेको छ चट्टानी अडानको घाघडान स्वर तर बिलाइरहेको छ चञ्चले पुरुषार्थ, हा ! हा ! हा ! चट्टानी अडानका निकम्मा घाघडान पण्डितहरू । इति । 


Views: 384

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)