13th August | 2020 | Thursday | 2:24:51 AM

बढ्दो वायु प्रदूषण जटिल समस्या

सुदर्शन अधिकारी   POSTED ON : श्रावण ११, २०७७ (१२:२३ AM)

बढ्दो वायु प्रदूषण जटिल समस्या

वायु अथवा हावा हरेक सजीवको लागि अत्यावश्यक तत्व हो । मानिस, बोटबिरुवा, नदी तथा समुद्रमा रहने विभिन्न प्रकारका प्राणी तथा वनस्पति सबैले आआफ्नो वातावरणबाट आवश्यक मात्रामा हावा प्राप्त गर्छन् । वायुको विकल्प नै छैन तर स्वस्थ जीवनका लागि स्वस्थ हावाको आवश्यकता पर्दछ । हरेक प्राणी तथा वनस्पतिलाई वायु आवश्यक पर्ने र आफ्नै वातावरणबाट ग्र्रहण गर्ने हुँदा वायुमण्डल प्रदूषित हुँदा हरेक प्राणी तथा वनस्पतिको स्वस्थ अवस्थामा नकरात्मक प्र्रभाव पर्दछ । वायु प्रदूषण भन्नाले वायुमण्डल दूषित हुने प्रक्रियालाई बुझाउँछ । वायुमा धुलो, धुँवा, हानिकारक जीवहरू, हानिकारक पानीका कणहरू मिसिएर प्रदूषणयुक्त अवस्थाको सिर्जना हुन्छ ।

विश्व स्वास्थ्य संगठनले मानिसकै कारणले वायुमण्डलमा उसको स्वस्थ्य वनस्पतिलगायत अन्य मनोरञ्जनात्मक कार्यमा असर पु¥याउने तत्वहरूको उपस्थितिलाई वायुप्रदूषण भनेर परिभाषित गरेको छ । वर्तमान विश्वमा हरेक देशहरू वायुप्रदूषणको असरबाट पीडित भइरहेका छन् । वायु प्रदूषणको अवस्था ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बढी जटिल बन्दैगएको छ । उपत्यकालगायत शहरमात्रै नभई जिल्लाका सदरमुकामहरू पनि वायुप्रदूषणबाट ज्यादा प्र्रभावमा परेका छन् । अव्यवस्थित शहरीकरण र बढ्दो सवारीसाधनको प्र्रयोगले वायु प्रदूषणलाई वृद्धि गराइरहेको छ । उद्योगधन्दाहरूको विस्तारबाट धुलो र धुँवा उत्सर्जित भई वायुमण्डलमा मिसिएर वायु प्र्रदूषित भएको हुन्छ । 

सवारीसाधनको संख्यामा वृद्धि भई तिनीहरूको गतिशीलताबाट उत्सर्जित धुलो धुँवाले वायुमण्डलमा प्र्रदूषण बढाउँछ । शहरी तथा ग्रामीण क्षेत्रमा बालीनालीमा लाग्ने किरा तथा लामखुट्टे मार्न प्रयोग गरिने विभिन्न प्रकारका विषादीले वायुमण्डलमा नराम्रो प्रभाव पार्छ । वायुमण्डलमा अनेकौं कारणले औषधि कारखाना तथा रासायनिक मल उत्पादन गर्ने कारखानामा दुर्घटना हुँदा पनि वायुप्रदूषण बढ्छ । हुरी बतासले धुलोका कणहरू उडाई वायुमण्डलमा मिसाउँदा वायुप्र्रदूषणको अवस्था सिर्जना हुन्छ ।

कृषकले बालीबाट राम्र्रो उत्पादन लिन र कीराफट्यांग्रा आदिबाट बाली बचाउने नाममा जथाभावी किटनाशक औषधिको प्रयोग गरिरहेका छन् । त्यसले दिन प्रतिदिन हाम्रो स्वास्थ्यस्थिति कमजोर बनाउँदै लगेको छ । स्वस्थ शरीर मानवको सबैभन्दा ठूलो र महŒवपूर्ण धन हो तर वायु, जल र ध्वनि प्रदूषणकै कारण समग्र मानव जीवनमा नराम्रो प्रभाव पर्दै गएको छ । क्षणिक लाभ र नाफा लिने उद्देश्यले गर्दा मानवले आफ्नै वातावरण र स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । ज्यादामात्रामा विषादीको प्रयोगले माटाको उत्पादकत्वसमेत घटेर गएको छ । प्र्रदूषणकै कारण वर्षेनी जमिनमुनिको पानीको सतह घट्दै गएको छ भने पानीका मुहान पनि सुक्दै गएका छन् । मानवीय क्रियाकलाप वातावरणमैत्री नहुँदा अहिले हरेक पक्ष भयावह बन्दै गएको छ । 

वायु प्रदूषणकै कारण श्वासप्रश्वास तथा मुटु रोगीहरूको संख्या बढ्दै गएको छ भने आँखाको दृश्यशक्तिमा पनि नकरात्मक प्रभाव बढेर गएको छ । ग्रामीण क्षेत्रमा बनेका अवैज्ञानिक भान्छाघरमा काम गर्ने महिलाहरू थप पीडित हुने गरेका छन् । दाउरा, खोया, गँुइठालगायत वस्तुहरू बाल्दा त्यसबाट प्रत्यक्ष असर आँखा तथा श्वासप्रश्वासमा पुग्नेगर्छ । प्रदूषित वायुमण्डलबाट सास लिँदा सिसायुक्त कणहरू पनि रक्तप्रणालीमा जम्मा हुन्छन् । सिसा विषालु भएकाले रगतमा रहँदा रगत बन्न भिटामिन विच्छेदन हुन्छ तथा स्नायु प्रणालीमा नकरात्मक असर पर्छ । जथाभावी भौतिक संरचना निर्माण गर्ने वनजंगल विनाश गर्दा वायुप्रदूषण वृद्धि भएरगएको देखिन्छ । प्रदूषणकै कारण वायुमण्डलले थप नकरात्मक असरसमेत गर्छ ।

प्रदूषण बढ्दै जाँदा ओजोन तह नष्ट भई सूर्यको परावैजनिक विकिरणको कारणले छालाको क्यान्सर हुने सम्भावना ज्यादा रहन्छ । त्यसैगरी अम्लीय वर्षाले वातावरणमा नकरात्मक प्रभाव पर्छ । त्यस्तै नकुहिने चिजवस्तुहरूलाई अर्को वैकल्पिक प्रयोगमा ल्याउन सकिन्छ भने त्यसलाई अर्को स्वरूपमा ल्याएरसमेत प्रयोग गर्न सकिन्छ । हामी हरेकले यस्तो बानी बसाली धेरै हदसम्म वायुप्रदूषणलाई कम गर्न सकिन्छ । राज्यले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्नसक्ने हो भने निजी सवारीसाधनको प्रयोगमा कमी आई वातावरण सुधार गर्न थप सहयोग पुग्ने निश्चित छ ।

सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित बनाउनेतर्फ प्रभावकारी कदम चाल्नुपर्ने खाँचो छँदैछ । जसले निजी सवारीसाधनको संख्या घटाई प्रदूषण कम गर्न सहयोग पु¥याउँछ । प्रदूषण घटाउने तथा प्राकृतिक तत्वहरूको सदुपयोग गर्नेतर्फ सचेत हुनुपर्ने खाँचो छ भने वनजंगल संरक्षण गरी जीवजन्तुलगायत दुर्लभ वन्यजन्तुको संरक्षण गर्दै वातावरणमैत्री बनाउने कार्यमा गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । 

उपत्यकामा मात्रै सरकारी, निजी, कूटनीतिक नियोग, संस्थान आदिका गरी चारलाखको हाराहारीमा सवारीसाधन गुड्ने गरेका छन् । वायु प्रदूषण गराउने अर्को महŒवपूर्ण क्षेत्र भनेको इँटाभाट्ट, सिमेन्ट कारखाना, ग्यास उद्योगजस्ता उद्योग हुन् । त्यस्ता उद्योगहरूको स्थापना अगावै वातावरणीय प्रभावको जाँच गरेर सकेसम्म कममात्र असर पार्ने ढंगले औद्योगिक क्षेत्र निर्माण गनुपर्नेमा जथाभावी र पहुँचका आधारमा उद्योग स्थापना गर्ने परिपाटीले वातावरण बिग्रँदै गएको देखिन्छ । शहरी क्षेत्रमा गुड्ने बीस वर्षभन्दा पुराना सवारीसाधनलाई विस्थापित गर्ने कार्य व्यावहारिक रूप लिन नसक्दा प्रदूषणको मात्रा बढ्दै गएको पाइन्छ । 

फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइडमा दुई दिन अवरोध भएमा राजधानी दुर्गन्धित बन्ने अवस्था हामी सबैलाई ज्ञान भएकै यथार्थ हो । गाउँघरमा बालिने चुलो जुन परम्परागत छन् त्यसलाई सुधार गरेर वायु प्रदूषणलाई न्यून गर्न सकिन्छ । त्यसैगरी सौर्य ऊर्जाको प्रयोगमा जोड दिई पेट्रोल डिजेल कोइला जस्ता प्रदूषण वृद्धि गर्ने इन्धनलाई कममात्र खपत गर्ने प्रणालीको विकास गर्नु जरुरी देखिन्छ । 

हाम्रा शहरहरूमा ढलको व्यवस्थापन पटक्कै नहुँदा नदीमा ढल मिसाउने परिपाटीले वायुप्रदूषण झनै बढ्दो छ । नदीलाई ढलको रूपमा उपयोग गरिएको असभ्यताको नमुना हाम्रै समाजमा देख्न पाइन्छ । वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित सबैको समन्वय र सहयोगको खाँचो रहन्छ । सरकार सर्वसाधारण, कम्पनीलगायत सबै सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । 


Views: 46

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)