28th September | 2020 | Monday | 9:16:21 PM

कविता : अस्तु र बाकस

केशवराज भट्ट सागर   POSTED ON : श्रावण ३०, २०७७ (११:३० PM)

कविता  : अस्तु र बाकस

गाउँको

चौतारीमा बसेर

सोचिरहे एकोहोरो 

आर्जित 

मेरा सर्टिफिकेटहरू

मेरा लागि

उचालिनसक्ला

भारी भएका त छैनन् ?

बिते समय

बिते पलहरू

अनेकौं सरकारी 

वा व्यक्तिगत

अफिसका

परीक्षा असफलतापछि 

पासपोर्ट र भिसा

थमाएर हातमा

मेरो बाले 

मलाई सुटुक्क 

भन्नुभयो ।

‘यता हाम्रा

परिचित छैनन् कोही

न प्रदेश सत्तामा

न केन्द्र सत्तामा

ऋणले चुर्लुम्म

डुबेको छ टुप्पी’

विवश !

विवश !!

हातमा

श्रम स्वीकृतिको 

फायल चेपेर 

ठीक त्यसैबेला

श्रीमती

छेउमै बसेर 

अश्रुपलावित बनी

आमा भक्कानिनु भयो

अनजान छोराछोरीहरू

एक तमास टोलाइरहे

मुटु भक्कानो पारेर

उडे बादलपारिको आकाशमा

जहाँ

न मेरो घर थियो 

न मेरो देश थियो

न छरछिमेकी आफन्त

त्यही

म रोएँ मेरो देश 

मुटुमा राखेर 

छोराछोरी हत्केलामा उचालेर

बाबुआमा शीरको शिरपेच बनाएर

बादलपारिको देशमा

न मेरो हावापानी पाएँ

न श्वासप्रश्वासको गति

न धैर्यको आड दिने

गाउँ पाएँ

न छरछिमेकी नै 

कुहिराको काग त 

बादलसँग

मितेरी लगाएर

निस्कला एउटा किनारा

तर,

म मान्छे हुनाको नाताले

सकिन थामिन

देशको आँसु 

प्रिया पत्नीका दर्द 

श्रद्धेय बाबुआमाका

अमिला पीडाहरू

जम्मै जम्मैले भक्कानिएको

मलाई थाहा छ

मातृभूमि ओर्लदा

बाबुआमा,

पत्नी र छोराछोरी 

सामु देखापर्दा 

केवल

बाकसमा आड लागेको 

अररो शरीर र अस्तु

अस्तु र अररो शरीर ! 

सुदूरपश्चिम प्रदेश ७, बैतडी, पानपा १० ।


Views: 152