28th September | 2020 | Monday | 10:22:47 PM

मृत्यु स्पर्शमाथि एक दृष्टिकोण

निर्मला कोइराला   POSTED ON : श्रावण ३१, २०७७ (३:३२ PM)

मृत्यु स्पर्शमाथि एक दृष्टिकोण

लक्ष्मी उप्रेती नेपाली साहित्यमा स्थापित नाम हो । विगत चार दशकदेखि साहित्यका विविध क्षेत्रमा साधनारत लक्ष्मी उप्रेतीका पाँचवटा कवितासङ्ग्रह, दुई कथासङ्ग्रह, एक उपन्यास, तीनवटा समालोचना र जीवनी, एक यात्रा संस्मरण तथा बाल साहित्यका एक्काईसवटा कृति प्रकाशन भएका छन् । एउटा गीति एल्बमसमेत गरी चौतीसवटा कृति प्रकाशन गरेर आफ्नो एउटा अलग्गै पहिचान बनाउन सफल लक्ष्मी उप्रेती ‘बनिता’ साहित्यिक पत्रिकाको सम्पादक र प्रकाशकसमेत हुनुहुन्छ । उहाँले सम्पादन गरेका ग्रन्थहरूको संस्था डेढ दर्जन जति रहेको छ । 

यिनै बहुमुखी प्रतिभाकी धनी, संघर्षशील, सशक्त नारी हस्ताक्षर लक्ष्मी उप्रेतीद्वारा लिखित कृति ‘मृत्यु स्पर्श’ का बारेमा यहाँ केही लेख्ने जमर्को गरिएको छ । जम्मा १ सय १८ पृष्ठ संख्या रहेको यस कृतिभित्र सत्ताईसवटा शीर्षकहरू रहेका छन् । ती विभिन्न शीर्षकभित्र जीवनका विविध पाटा र पक्षको प्रतिबिम्बन पाउन सकिन्छ । एउटा संघर्षशील जीवनले अनेकौं आरोह अवरोहहरू पार गर्दै गन्तव्यबिन्दु पहिल्याएर सहजतापूर्वक बाँच्न खोज्दा अचानक व्यहोर्नुपरेको मृत्युबोधको दुःखद् पीडालाई यस पुस्तकमा जीवन्त ढंगले उतारिएको छ । 


क्यान्सरजस्तो घातक रोग र त्यसबाट सिर्जित मृत्युबोधको भयानक अनुभूतिभित्र आफ्नो घरपरिवार, सन्ततिको प्रेम, अधुरा रहेका कार्यहरू, गर्छु भनेर बनाइएका नयाँ योजनाहरू रन्थनिँदै माथिंगलमा घुमिरहेका अनुभूतिहरू यस पुस्तकमा पढ्न पाइन्छ । यसो हुँदाहुँदै पनि आफूभित्र बलियो आत्मविश्वास जगाएर त्यससँग भिड्न सक्नु अत्यन्त ठूलो साहस हो । यही अदम्य साहसलाई यस पुस्तकमा अभिव्यक्त गरिएको छ । 

दाहिने स्तनको देब्रेपट्टि कडा गाँठो भएको कुरा अचानक थाहा पाउँदाको मानसिक विचलन र मृत्युको कठोर आभासलाई निःशब्द र निःचेष्ट भावमा सहन गर्नुपरेको कटु यथार्थको वर्णन यस कृतिमा गरिएको छ । 

एपोलो अस्पतालमा विभिन्न जाँचपड्तालपछि पुनः छोरा सञ्जीवको खोजीनिती र उहाँका साथीहरूको सल्लाहअनुरूप राजीव गान्धी अस्पताल गएर डा. वेदाको सल्लाह–सहयोगअनुरूप पूरै स्तन नफाली क्यान्सरको गाँठो मात्र फालेर अपरेशन गरिएको तथा उनको ममतापूर्ण सुझावको प्रस्तुतिले डाक्टर हुनुको धर्म र मर्मलाई गहिराइबाटै चिनाउने प्रयत्न गरिएको छ । यहाँनिर एउटै पेशामा रहेका र उस्तै महिला भए पनि डा. नागिया र डा. बेदाको व्यवहारमा भएको पेशागत–व्यावसायिक मनोवृत्ति र वास्तविक डाक्टरी धर्मको अन्तर स्पष्ट रूपमा देख्न पाइन्छ । क्यान्सरको जटिल शल्यक्रिया, तत्पश्चात् घाउसेक्न लिनुपरेको रेडिएसन र त्यसको प्रभाव झेल्न सहनुपरेको कठिनाइलाई यस पुस्तकमा सविस्तार वर्णन गरिएको छ । 

यसरी साहित्यको क्षेत्रमा एउटा फराकिलो आयाम बनाइसकेकी साहित्यकार लक्ष्मी उप्रेतीको यस कृतिभित्र पाइने मुख्य पक्षहरूलाई निम्नानुसार औल्याउन सकिन्छ ः

जीवनमा आकस्मिक रूपमा आइपर्ने मृत्युको सन्त्रास, पीडाबोध र त्यसको सहज स्वीकार्यता । 

समस्याबाट भागेर होइन उच्च मनोबलका साथ सामना गर्नुपर्दछ भन्ने प्रेरणा । 

सकारात्मक चिन्तनबाट निस्केको ऊर्जा शक्तिशाली हुन्छ भन्ने चेतनाको प्रवाह । 

जीवनलाई अत्यन्त गहिराइबाट नियाल्ने प्रयत्न । 

मृत्युबोधले भएको असहृय छटपटीको जीवन्त प्रस्तुति । 

सन्तानले आफूलाई गर्ने माया विपत्तिको समयमा रक्षाकवच नै हुँदोरहेछ भन्ने कुराको अभिव्यक्ति । 

जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने जान्दाजान्दै पनि दह्रो आत्मबलले विजय प्राप्त गर्न सकिने रहेछ भन्ने सन्देश । 

मनभित्र पीडाको आगो बलेको बेला प्रकृतिको कुनै पनि सुन्दरताले मान्छेलाई लोभ्याउन सक्तैन भन्ने अभिव्यक्ति । 

मान्छेको सर्वोत्तम खुशी भनेको सन्तानले आफूप्रति गर्ने प्रेमिल व्यवहार हो भन्ने कुराको मीठासपूर्ण प्रस्तुति । 

प्रवाहमय मातृवात्सल्य । 

जीवनका पीडा र मानसिक अन्तरद्वन्द्वको सटिक प्रस्तुति । 

जीवन गति रहेछ–अनवरत बगिरहनु नियति हो भन्ने यथार्थको पुष्टि । 

सकारात्मक चिन्तन र स्वास्थ दृष्टिकोणमा जोड । 

जिम्मेवारीको बोध (आफू जीवन–मरणको दोसाँधमा रहेको बेला पनि बनितालगायत अन्य कृति प्रकाशनको दायित्वले घच्घच्याइरहनु ।

डाक्टरको अल्पज्ञान वा लापरबाहीले कैयौं बिरामीको ज्यान जोखिममा रहेको कुरा उजागर गर्नु (नेपालबाट उपचारार्थ राजीव गान्धी अस्पताल पुगेका अन्य बिरामीको प्रतिव्रिmया र भगतचन्द्र अस्पतालका डा. निखिल यादवको गलत राय ।)

जस्तोसुकै जटिल परिस्थिति र प्रियजनसँगको वियोगमा पनि धैर्य गर्न सक्नुपर्ने प्रेरणा । 

डाक्टरमा शालीनता, धैर्य, नम्रता र बिरामीलाई सहज बनाउने कला हुनुपर्छ भन्ने घुमाउरो सन्देश । 

सुन्दर मन र असल गुणले मानिसलाई पूर्ण मानिस बनाउने धारणा । 

विखण्डित परिवारमा आइपर्ने सामाजिक अप्ठ्याराहरूको प्रस्तुति (दिदीको छोरा गोकुलले आमाको मृत्युमा विराटनगरमा व्रिmया बस्नु र छोरीहरू काठमाडौंमा अलग्गै बस्नु साथै आफूले पनि एक्लै रहेर जीवनमा पाएको अनेकौं दुःख ।)

एकेडेमीबाट उपचारका नाममा पाएको न्यून रकममा अरू थपेर कुनै जीवनदायी सामाजिक संस्थामा लगाउने चाहना । 

पुस्तकको अन्त्यमा गएर क्यान्सर रोगको उपचारपश्चात् पुनर्जीवन पाएका व्यक्तिहरूको अनुभव र सचेतनामूलक जानकारीहरू । 

विवरणात्मक शैलीमा लेखिएको यस पुस्तकको भाषा खारिएको र सलल बगेको पाइन्छ । पाठकलाई पुस्तक पढ्न थालेपछि यसपछि के होला भन्ने कौतुहलले अत्यन्त व्यग्र बनाउँछ र आँखा नउठाइकन पढिरहन मन लगाउँछ । जीवनबोध अनुभूत गराउने यो कृति पठनीय र मननीय छ । अझ विशेषगरी महिला वर्गले आइपर्न सक्ने सम्भाव्य स्तन तथा पाठेघरको क्यान्सरका लागि कसरी सजग रहने भन्ने बुझ्न पनि यो कृति पढ्नै पर्ने हुन्छ । क्यान्सर लाग्न कुनै विशेष उमेर, समूह वा कारण नचाहिने रहेछ । उक्त कुराको प्रस्तुति यस पुस्तकमा गरिएको छ । काठमाडौं सोह्रखुट्टेकी कक्षा ९ मा पढ्दै गरेकी एक जना नानी हातको क्यान्सर भई किमो दिन त्यही अस्पतालमा आउँदा भेट भएको घटनाले जीवनको जटिलतालाई नजिकबाट बोध गराएको छ । जस्तो सुकै जटिल अवस्था आए पनि मान्छेमा जीवन जिउने लालसा भने रहिरहन्छ । यस पुस्तकमा जीवनप्रतिको मोह र मृत्युको सन्त्रासलाई नजिकबाट नियाल्दै रोगप्रति सचेत गराउने उद्देश्य पनि राखिएको छ । 


मृत्युलाई नजिकबाट नियालेर, छोएर, अनुभूत गरेर फर्किएका कारण पुस्तकको नाम मृत्यु–स्पर्श राखिएको छ । जुन शीर्षक अर्थपूर्ण छ । यही मृत्युलाई छोएर फर्कने केन्द्रीय पात्र लक्ष्मी उप्रेतीमा भएको मानसिक अन्तरद्वन्द्वलाई यस कृतिमा राम्ररी देखाइएको छ । काव्यको मूल नायक छोरा सञ्जय छन् । उनमा जसरी भए पनि आमालाई बचाउने वीरोचित गुण देखिन्छ । उनले आदर्श छोराको कर्तव्य राम्रोसित निर्वाह गरेका छन् । 

साहित्य भनेको अनुभूतिको उपज हो । आफ्नो अनुभूति अरूका लागि प्रेरणादायक, जीवनदायक वा सुखदायक हुनसक्छ । तसर्थ अनुभूतिहरू बाँडिनुपर्छ । यसै सेरोफेरोमा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर प्रयत्नरत साहित्यकार लक्ष्मी उप्रेतीद्वारा लिखित यो पुस्तक ‘मृत्यु स्पर्श’ एकपटक सबैले पढ्नै पर्ने खालको छ । लक्ष्मी दिदीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै नेपाली साहित्यमा अझै अरू यस्तै सशक्त हस्ताक्षरहरू लेखिँदै जाऊन् र सबैका छोराहरू लक्ष्मी उप्रेतीका छोरा सञ्जय जस्तै बन्न सकून् भन्ने शुभकामना छ । 

 


Views: 103