28th October | 2020 | Wednesday | 10:15:43 PM

कविता : कमिला र बाबु

राजेश अधिकारी   POSTED ON : आश्विन १, २०७७ (५:५३ PM)

कविता : कमिला र बाबु

धरणीतलको दुले घरबाट 

धर्तीमाथि ह्वारह्वारी निस्कँदै 

असंख्य कमिलाहरुको ताँती  

एकताको माला बनाएर  

जिन्दगी जिउँनको लागि     

यत्रतत्र भौँतारिरहन्छन्      

एउटा जनक भाले कमिलो

परिवारको पेटको खातिर

आफ्नो शारीरिक वजनभन्दा 

सयौं गुणा गह््यौंगो 

कर्तब्यको भारी बोक्दै

कठोर कर्मठताको पसिना

अविरल बगाइरहन्छ 

एउटी मातृ रानी कमिलो  

आफ्ना लालाबालाका बाबुले

ल्याएका चारोहरु 

आफ्ना भुराभुरीको 

थुतुनोमा ठोसिदिंँदै

अटुट ममताको गंगा

अविछिन्न बहाइरहन्छे 

बाबुआमा कमिला

आफ्ना सन्तानको लागि

पवित्र गंगाका प्रेम धाराहरु 

अविछिन्न बहाइरहन्छन्

यी समानान्तर गतिका डुंगाहरु 

समर्पणहरुको पक्षपोषण गर्दै 

जीवनका उबडखावड मोडहरुमा 

कारुण्यभावका पदचापहरु छोड्दै

घिस्रिदै अघी बढिरहन्छन्  

आफ्ना समर्पित आमाबाबुका 

परोक्ष र अपरोक्ष 

ममता र कर्तब्यको 

छहारीमुनी हुर्किरहेका 

अबोध भुरा कमिलाहरु 

स्पर्शित मातृत्वसँग मात्रै   

साक्षातकार हुन्छन् 

बाबुको दूरस्थ मायासँग 

असामन्जस्य हुन्छन् 

फलस्वरुप सन्तानहरुको दृष्टिपटलमा 

आमाको ममता सघन देखिन्छ 

बाबुको कर्तब्यपरायणता गौंण ठहरिन्छ   


पारिवारिक चिन्ताकोे नाम्लो

कर्तब्यको थाप्लोमा हाल्दै 

ख्याउटे,मोटे बिबिध स्वरुपका 

बाबुमोहरी अनगिन्ती भाले मानवहरु 

मेदिनीका उबडखावडमा भौंतारिरहन्छन् 

एउटा प्रतिनिधी बाबुको जीवनमा  

पापा र नानाको कुराईमा 

चुल्बुलाइरहेका बाल मनहरु

नुनभुटुन र सातुचामलको पर्खाईमा 

भुट्भुटिरहेकी पत्नीका ब्यग्रताहरुको 

स्नेहजडित परिपुर्तीको चाहना गर्दै 

बिहान घरबाट आशाको रित्तो खर्पन

ढाडमा बोकेर निस्किएको बाबु 

आफ्नो दाम्लोपेटे शरीरलाई

खट्टा पसिनाले नुहाइदिदै अनि

ब्यथित बदनका हाडछाला खियाउँदै  

गोधुली साँझमा लड्खडाउँदै  

केवल आधा ढाक्रोे आशा र भरोसाहरु

दलिनमा बिसाउन वाध्य हुन्छ

प्राणप्रिय भरोसेहरुका निर्ढुक्क चाहनाहरु

चाहेर पनि ढाक्रोभरी ल्याउन बिफल 

बिवस बाबु औ नामर्द खसम 

समरमा घाइते भएको हरुवा सिपाही झैँ 

गनगन र भुत्भुतका लोरीहरु सुन्दै

आफ्ना ब्यथाहरुको घुट्को निल्दै

निन्द्रादेवीको काखमा लुट्पुटिन पुग्छ  

भोलिको सफलता चुम्ने सपना सिउँदै 


एउटै ममतादायी सिक्काका दुई पाटाहरु 

एउटै निस्वार्थी दिवसका रात र दिनहरु

यी पुज्य प्रभुहृदयी प्रतिमुर्तीहरु

सन्तानका लागि अभेध्य कवच 

सुखजलधीका सुन्दर कमल

बाबुआमा प्रेमसागरका 

अटल किनाराहरु हुन् 

बाबुआमा रथका 

अडिग पाङ्राहरु हुन् 

दुई किनाराको  छेकाईले 

सन्तानप्रेमको अभेद्य बहावलाई

बिचलित हुन दिदैन 

दुई पाङ्राका भरले 

लहुमाथिको स्नेही वेगलाई 

रोकावट गर्न सक्दैन  

तर याचकका तराजुहरुले 

यिनीहरुका स्नेही तपस्याहरुलाई 

समभारी जोख्दैन 

सन्तानका वास्ताहरुले 

यिनीहरुका अक्षुण्ण प्रेमधाराहरुलाई 

समरुपले निकास दिदैन 

आमा समुद्र मन्थनकी कामधेनु 

बाबु सागरफल मथ्ने मदानी 

आमा मामाताकी सागर 

बाबु ब्यथाहरुको पहाड  

समान प्रेमधाराका अनादी मुहान भए पनि  

सन्तानका पक्षपाती नयनहरुले हेरिएका

श्रद्देय बाबुहरुलाई नमन ।


Views: 192

सम्बन्धित सामग्री:

गजल

संजिता बाँस्कोटा : आश्विन ८, २०७७ (७:०३ PM)