28th October | 2020 | Wednesday | 10:13:02 PM

कोभिड १९ को सन्दर्भमा औद्योगिक स्वच्छता र पेशागत स्वास्थ्य

जानका गौतर्म मुना’   POSTED ON : आश्विन ४, २०७७ (१२:५७ PM)

कोभिड १९ को सन्दर्भमा औद्योगिक स्वच्छता र पेशागत स्वास्थ्य

 समग्र विश्व यतिवेला यस शताव्दीकै ठूलो महामारी कोभिड १९ को चपेटामा परेको छ । कोरोना नामक भाइरसले लाग्ने कोभिड रोगको सुरुवात र नियन्त्रण तथा रोकथाम स्वच्छता, स्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित छन् । यस महामारीको केन्द्रबिन्दु चीनकोे एक व्यापारिक क्षेत्र वुहानको सामुद्रिक खानाको व्यापार हुने क्षेत्र हो भनिन्छ । चीनको वुहानबाट कोभिड विश्वव्यापी हुन धेरै समय नै लागेन । केही महिनामा विश्वमा लाखौं मानिसको ज्यान गइसकेको छ भने संक्रमण दर अझै उच्च रहेको छ । दैनिक सयौं मानिसले ज्यान गुमाइरहेका छन् । 

त्यसैले फुड इन्डष्ट्रीमा गरिएको बेवास्ता तथा असावधानीका कारण आज विश्वमानव समुदाय ठूलो संकटबाट गुज्रिरहेको छ । यो महामारी फैलिनुले औद्योगिक स्वच्छता र पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी प्रश्न खडा गरेको छ । यसको नियन्त्रणको लागि प्रत्येक मानव, मानव समुदाय, औद्योगिक क्षेत्र तथा सार्वजनिक क्षेत्रसँग सम्बन्धित सबैले स्वच्छताको बारेमा सचेत हुन र स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्वन गर्न विश्वव्यापी रूपमा आह्वान गरिएको छ । 

औद्योगिक स्वच्छता 

अमेरिकन इन्डष्ट्रियल हाइजिन एसोसिएसनको परिभाषाअनुसार इन्डष्ट्रियल हाइजिन भनेको त्यस्तो विज्ञान र एक कला होे जसले कार्य क्षेत्रमा अथवा कार्य क्षेत्रबाट उत्पन्न हुने वातावरणीय कारक र तनावहरू जसले बिरामी बनाउँछन् वा मानव स्वास्थ्यलाई कमजोर बनाउँछन्, हानी गर्छन् र राम्रो वातावरणमा बाधा पु¥याउँछन् साथै कामदार तथा समाजका नागरिकहरूमा उल्लेखनीय असुविधा पु¥याउँछ । त्यस्ता पक्षहरूको अध्ययन गर्ने, पहिचान गर्ने, मूल्यांकन गर्ने, रोकथाम गर्ने र नियन्त्रण गर्ने गर्दछ । उपर्युक्त प्रक्रियामा इन्डष्ट्रियल हाइजिनिष्टहरू सहभागी हुन्छन् । 

उनीहरूलाई पाँच वटै प्रक्रियामा तालिम दिई दक्ष बनाइएको हुन्छ । मुख्यतः हाइजिनिष्टहरूको दुई किसिमको दायित्व हुन्छ । पहिलो, जोखिमको पूर्वजानकारी लिने, पहिचान गर्ने, मूल्यांकन गर्ने, छलछफल गर्ने र दोस्रो, जोखिम नियन्त्रण तथा निर्मूलको लागि रणनीति बनाई सिफारिस गर्ने । इन्डष्ट्रियल हाइजिनिष्टहरूले निरीक्षण गर्ने, अनुसन्धान गर्ने, विश्लेषण गर्ने र कार्य क्षेत्रमा विशेष रसायन तथा शारीरिक जोखिमको कामदारको स्वास्थ्यमा कस्तो असर हुन्छ भन्ने कुरा पत्ता लगाई त्यसको समाधानको लागि उचित सुधारात्मक कार्यको सिफारिस गर्छन् । 

पेशागत सुरक्षा र स्वास्थ्य 

पेशागत सुरक्षा र स्वास्थ्य बहुआयामिक क्षेत्र हो, जसले कार्य क्षेत्रका मानिसहरूको सुरक्षा, स्वास्थ्य र हितसँग सरोकार राख्छ । यसको अवधारणा सहकर्मी, पारिवारिक सदस्यहरू, रोजगारदाता तथा अन्य धेरै जो कार्यक्षेत्रको वातावरणबाट प्रभावित हुन्छ सबैको सुरक्षा गर्नु रहेको देखिन्छ । विश्वस्वास्थ संघको परिभाषाअनुसार पेशागत स्वास्थ्यले कार्यक्षेत्रको स्वास्थ्य र सुरक्षका सबै क्षेत्रलाई समेट्छ र जोखिमको पूर्वरोकथामलाई जोड दिन्छ । विश्वस्वास्थ संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनले १९९५ मा संयुक्त रूपमा जारी गरेको परिभाषामा कामदारको स्वास्थ्य र कार्य क्षमताको संरक्षण र उत्थान गर्ने, कार्य क्षेत्रको वातावरणको सुधार गरी र कामलाई सुरक्षित र स्वास्थ्यअनुकूल बनाउने तथा कार्य संगठन तथा कार्य संस्कारको विकास गर्ने, उद्देश्यलाई जोड दिएको पाइन्छ । 

संयुक्तराज्य अमेरिकाको श्रम विभागअन्तर्गतको संस्था अकुपेशनल सेफ्टी एण्ड हेल्थ एडमिनिष्ट्रेसन (ओशा) ले प्रत्येक उद्योगले अनिवार्य अपनाउनुपर्ने स्वास्थ्य र सुरक्षाका सर्तहरूको विकास गरी लागु गरेको छ । ओशाले इन्डष्ट्रियल हाइजिनिष्ट अथवा इन्डष्ट्रियल हाइजिनमार्पmत स्वास्थ्यमा सम्भावित खतरा भएका कामहरूको पहिचान गर्ने गर्दछ । ४० प्रतिशतभन्दा बढी ओशाअन्तर्गतका कार्यालयहरू औद्योगिक स्वच्छताका रहेका छन् । त्यसैले औद्योगिक स्वच्छता, पेशागत स्वास्थ र सुरक्षा अन्तरसम्बन्धित छन् । 

नेपालमाऔद्योगिक स्वच्छता, पेशागत सुरक्षा र स्वास्थ्य 

पेशागत सुरक्षा र स्वास्थ्यको अवधारणा नेपालमा सुरुको अवस्थामा छ । धेरैजसो नेपालका उद्योगहरू कमजोर कार्य वातावरणबाट समस्यामा छन् । धेरै अन्तर्राष्ट्रिय कार्य क्षेत्रका मापदण्डहरूभन्दा निकै कमसल वातावरण भएको कार्य क्षेत्रमा काम गर्न कामदारहरू बाध्य छन् । नेपालको औद्योगिक क्षेत्रमा पेशागत दुर्घटना र रोगहरूको दर निकै उच्च छ भन्ने अनुमान छ जसले गर्दा कार्य समयमा पनि ह्रास आएको छ । धेरै उद्योगहरूमा न्यूनतम् आवश्यक सुरक्षा कवजहरू उपलब्ध छैनन् र भएको खण्डमा पनि चेतनाको अभावमा कामदारहरूले प्रभावकारी ढंगमा प्रयोग गर्दैनन् । ‘सुरक्षा पहिला’ भन्ने सिद्धान्तको बेवास्ता गरिएको छ ।  

नेपालमा औद्योगिक अस्वच्छताको कारण जल, थल तथा वायु प्रदूषणको अवस्था चिन्ताजनक छ । औद्योगिक अस्वच्छताकै कारण जलवायुमा नै नकारात्मक परिवर्तन देखिएको छ । खाद्यसम्बन्धी स्वच्छताको अवस्था पनि सन्तोषजनक छैन् । नेपाललगायत विश्वभरिमा व्यवसायजन्य खतरा तथा जोखिमका कारण हुने व्यवसायजन्य दुर्घटना तथा लाग्ने व्यवसायजन्य रोगका कारण विश्वमा प्रत्येक वर्ष लाखाँै कर्मचारीहरुले ज्यान गुमाउने तथा अंगभंग हुने गरेको तथ्यांक पाइन्छ । 

तथापि नेपालमा यसको स्पष्ट तथ्यांक नभएतापनि हरेक वर्ष व्यवसायजन्य दुघर्टना तथा रोगबाट हजारौं व्यक्ति पीडित हुने गरेको पाइन्छ । कार्यस्थलमा हुने दुर्घटना, कामदारको मृत्यको संख्यामा भइरहेको वृद्धि र व्यवसायको सम्पत्तिमा भइरहेको क्षतिले थप चुनौती खडा गरेको छ । नागरिकको जीवनलाई जोखिममा राखेर प्राप्त हुने उपलब्धिबाट विकास दिगो हुन सक्दैन । वर्तमान समयमा कार्यस्थललाई सुरक्षित र स्वस्थ्य बनाई दुर्घटना न्यूनीकरण गर्दै कार्यस्थललाई सुरक्षित र स्वस्थ्य बनाउने चुनौती मुख्य रूपमा देखिन्छ । यसको मुख्य कारकको रूपमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी मापदण्डको अभाव, कानुन एवम् नियम पालनाको कमी चेतनाको अभाव एवम् नियमित अनुगमन एवम् निरीक्षण गर्ने क्षमताको कमी आदि कारणले कार्यस्थलको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । 

निष्कर्ष  

औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षा वर्तमान अवस्थामा निकै महत्वपूर्ण विषय हो । कोभिडको सुरुवात र नियन्त्रण तथा रोकथाम औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षासँग जोडिएको छ । कोभिड जस्तो सरुवा रोगदेखि लिएर औद्योगिक अस्वच्छताको कारण लाग्ने अन्य रोगको नियन्त्रण र रोकथामका लागि सचेत हुनुपर्ने बेला आएको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको बारेमा गहन अध्ययन र अनुसन्धान हुन आवश्यक छ ।

मानव स्वास्थ्यलाई कमजोर बनाउने तथा हानी गर्ने पक्षहरूको अध्ययन गर्ने, पहिचान गर्ने, मूल्यांकन गर्ने, रोकथाम गर्ने र नियन्त्रण गर्ने पद्धति औद्योगिक स्वच्छता र पेशागत स्वास्थ्यको अवधारणाले विकास गर्छ । कोभिड १९ को पनि रोकथाम र नियन्त्रणको दिशामा दक्ष व्यक्तिहरू सहभागी हुँदा उपलब्धिमूलक नतिजा आउँथ्यो तर नेपालमा यो अवधारणा शिशु अवस्थामा छ । 





Views: 1111

सम्बन्धित सामग्री:

गजल

संजिता बाँस्कोटा : आश्विन ८, २०७७ (७:०३ PM)